यी हुन् नेपाली फिल्म हेर्न पाइने ७ प्लेटफर्म, कति लाग्छ पैसा?
काठमाडौं । स्वस्तिमा खड्का र निश्चल बस्नेतले हलमा चलिरहेको आफूहरूको फिल्म 'बेहुली फ्रम मेघौली' अचानक हलबाट उतार्ने निर्णय लिए। गत बिहीबारदेखि हलबाट उतारिएको फिल्म शुक्रबार ओटिटी रिलिज भएको छ।
'एमएसएम भिडिओ' मा रिलिज बेहुली फ्रम मेघौली प्रदर्शनकै क्रममा उतारेर ओटिटीमा ल्याइएको सम्भवतः पहिलो नेपाली फिल्म हो।
विशेष गरी कोरोना महामारीका कारण लकडाउन भएपछि ओटिटीप्रतिको आकर्षण बढेको थियो। ओटिटीमा फिल्म, वेबसिरिज तथा नयाँ नयाँ शृंखला रिलिज हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्य रूपमा बढे। विश्वव्यापी चर्चामा रहेका नेटफ्लिक्स, अमेजन प्राइम भिडिओ जस्ता ओटिटी प्लेटफर्मका प्रयोगकर्ता नेपालमा पनि उल्लेख्य छन्।
यी प्लेटफर्मबारे सुनिरहेका दर्शकलाई नेपाली प्लेटफर्मबारे भने धेरै जानकारी नहुन पनि सक्छ। पछिल्लो समय नेपालमा एकपछि अर्को डिजिटल प्लेटफर्म सञ्चालनमा आएका छन्। र, त्यसमा युट्युबमा नआएका फिल्म, छोटा फिल्म, बेवसिरिज लगायत रिलिज भइरहेका छन्। रिलिज हुने क्रम पनि जारी छ।
नेपालमा त्यस्ता कुन कुन प्लेटफर्म छन् त? त्यसमा रहेका फिल्महरू हेर्न कति शुल्क तिर्नुपर्छ?
आज हामीले त्यस्तै ७ प्लेटफर्मबारे जानकारी दिएका छौं।
१. एमएसएम भिडिओ
यो हालसालै सञ्चालनमा आएको एप हो। निश्चल र स्वस्तिमाले यही एपमा फिल्म ल्याउने घोषणा गरेसँगै यसबारे थप चासो बढेको छ।
यो एप नेपाली फिल्मको वितरण गर्दै आएका अस्ट्रेलिया निवासी छत्र थापाले सञ्चालनमा ल्याएका हुन्। यसमा दसैंको अवसर पारेर हिट फिल्महरू 'दिमाग खराब', 'घरज्वाइँ' र 'महाजात्रा' रिलिज गरिएको थियो। अहिले 'बेहुली फ्रम मेघौली' रिलिज भएको हो।
एमएसएम भिडिओ एप दर्शकहरूले एप स्टोर वा गुगल प्लेबाट डाउनलोड गर्न सक्नेछन्। यसपछि फिल्म छानेर तोकिए अनुसार भुक्तानी गरेपछि (पे पर भ्यु) हेर्न सक्नेछन्।
पहिले राखिसकेको फिल्म नेपालबाट हेर्न २४० रूपैयाँ तिर्नुपर्छ।
'बेहुली फ्रम मेघौली' हलमा चलिरहेकै समयमा उतारेर एपमा रिलिज गरिएकाले केही बढी शुल्क तिर्नुपर्छ। नेपालबाट यो फिल्म हेर्न ३ सय ५० रूपैयाँ तिर्नुपर्ने फिल्मका निर्माता एवं अभिनेता निश्चल बस्नेतले बताए।
अन्य देशबाट हेर्न फरक फरक शुल्क निर्धारण गरिएको छ। एक साताका लागि शुल्क तिरेर पनि फिल्म हेर्न सकिने जनाइएको छ।
एपमा अहिले फिल्म अनुसार भुक्तानी गरेर हेर्न सकिने भए पनि यसलाई पछि गएर सबस्क्रिप्सन (सदस्यता) मोडलमा लैजाने तयारी रहेको निश्चलले जानकारी दिए। उनका अनुसार एप छोटो समयमै करिब १ लाख २० हजार पटक डाउनलोड भइसकेको छ।
२. सिनेमाघर एप
सिनेमाघर एप सञ्चालनमा आएको ८ वर्ष भइसकेको छ। लेखक, अभिनेता एवं निर्माता खगेन्द्र लामिछाने यो एपका अध्यक्ष छन्। यसमा पछिल्लो समय 'घरज्वाइँ', 'प्रेम गीत ३', 'डिग्री माइला', 'पशुपति प्रसाद २ः भष्मे डन', 'पानीफोटो', 'महापुरूष' लगायत फिल्महरू राखिएका छन्।
एप डाउनलोड गरेपछि ओटिपी प्रमाणीकरणसँगै प्रयोगकर्ताले एपमा लगइन गर्न सक्नेछन्। त्यसपछि फिल्म छानेर शुल्क भुक्तानी गर्नुपर्छ। अनि आफूले चाहेको समयमा फिल्म हेर्न सकिनेछ।
यो एप पहिले सबस्क्रिप्सन मोडलमा थियो। पछि हटाएर फिल्म अनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाइएको सिनेमाघरका सिइओ सागर खरेलले बताए।
फेरि सबस्क्रिप्सन मोडलमा लैजाने तयारी भइरहेको समेत उनले जानकारी दिए।
यो एपमा रहेका फिल्म हेर्न १ सय ९९ रूपैयाँ तिर्नुपर्छ। विदेशका लागि अमेरिकी २ डलर राखिएको छ।
'उक्त शुल्क तिरेपछि एक सातासम्म फिल्म उपलब्ध हुनेछ,' सिइओ खरेलले भने, 'मोबाइल, ल्यापटप, डेस्कटप सबैबाट हेर्न सकिनेछ।'
एपमा महिनाको दुइटाका दरले नयाँ फिल्म रिलिज भइरहेका छन्। त्यस्तै सिनेमाघर एप १० लाख पटक डाउनलोड भइसकेको छ। यसको आधा संख्या सक्रिय प्रयोगकर्ता रहेको सिइओ खरेलले बताए।
यो प्लेटफर्म कान्तिपुर फिल्म एकेडेमीले गत वर्ष सुरू गरेको हो। यसमा दुई दर्जनभन्दा धेरै फिल्म, छोटा फिल्म र सिरिजहरू रिलिज भइसकेका छन्।
कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीका अनुसार कान्तिपुर सिनेमाज सबस्क्रिप्सन र फिल्म अनुसार पैसा तिरेर हेर्न मिल्ने दुवै मोडलमा बनाइएको छ। तर अहिले सबस्क्रिप्सन मोडलमा मात्र सञ्चालनमा रहेको उनले बताए।
हाल महिनाको २९९ रूपैयाँ तिरेर यहाँ भएका सबै कुरा हेर्न पाइन्छ।
यसका लागि सुरूमा कान्तिपुर सिनेमाज एप डाउनलोड गर्नुपर्नेछ। यसमा के के छन् भनेर विवरण मात्र हेर्न भने लगइन गरिरहनु पर्दैन।
'अरू दुई जना साथीलाई समेत आफ्नो आइडी/पासवर्ड दिएर हेर्न मिल्छ। जुनसुकै फिल्म जति पटक हेर्न पनि मिल्छ,' पुरीले भने।
आगामी दिनमा पे पर भ्यु मोडलमा पनि फिल्म/सिरिज रिलिज गर्ने उनले बताए। 'दान्भी', 'नांगो गाउँ' लगायत फिल्म पछिल्लो समय यो एपमा रिलिज भएका छन्। तिहारमा पनि केही फिल्म रिलिज गर्ने तयारी छ।
सुरू भएको एक वर्षमा कान्तिपुर सिनेमाज एप २० हजार पटक डाउनलोड भइसकेको छ।
४. भिडिओ पसल
यो ओएसआर डिजिटलले ल्याएको ओटिटी हो। यसमा पछिल्लो समय 'पुजार सार्की' र 'छक्का पञ्जा ४' रिलिज भएका छन्।
भिडिओ पसल एप डाउनलोड गरी नेपाल र नेपालबाहिरबाट सजिलै फिल्महरू हेर्न सकिने ओएसआरका प्रबन्ध निर्देशक ओम अग्रवालले बताए।
यसमा रहेका फिल्म/सिरिज पे पर भ्युका आधारमा हेर्न सकिन्छ। नेपालबाट फिल्म हेर्न २ सय ५० रूपैयाँ तिर्नुपर्छ। बाहिरबाट हेर्न २ अमेरिकी डलर तिर्नुपर्छ।
ओएसआरले आफ्नो डिजिटल अधिकारमा रहेका सामग्रीहरू अरू प्लेटफर्मका लागि पनि दिने गरेको छ।
'मेरो आफ्नै प्लेटफर्म छ भनेर बस्दिनँ। जुन प्लेटफर्मबाट राम्रो आम्दानी हुने सम्भावना छ, त्यसलाई पनि निश्चित समयका लागि दिने गरेको छु,' अग्रवालले भने।
यो एप म्युजिक नेपालले सञ्चालनमा ल्याएको हो। केही वर्षदेखि चलिरहेको भए पनि यसको औपचारिक रूपमा 'लन्च' हुन बाँकी छ। यसमा युट्युबमा उपलब्ध भएका र नभएका गरी थुप्रै म्युजिक भिडिओ र फिल्महरू छन्।
यो एप अहिलेसम्म करिब २ लाख पटक डाउनलोड भइसकेको म्युजिक नेपालका बिजनेस प्रमोसन एन्ड डेभलपमेन्ट हेर्दै आएका निरञ्जन श्रेष्ठले जानकारी दिए।
'यसमा रहेका कन्टेन्टहरू कुनै निःशुल्क समेत हेर्न सकिनेछ,' उनले भने, 'त्यस्तै, प्रिमियम र सुपर प्रिमियम क्याटगरीमा राखिएका फिल्म सबस्क्रिप्सन र पे पर भ्यु दुवै तरिकाले हेर्न सकिन्छ।'
सबस्क्रिप्सनका लागि मासिक ८० रूपैयाँ, अर्ध वार्षिक (६ महिना) को ४ सय ४१ रूपैयाँ र एक वर्षका लागि ८ सय ३८ रूपैयाँ तोकिएको छ।
पे पर भ्युमा फिल्म/भिडिओ अनुसार शुल्क तोकिएको छ।
यो एप तिहारपछि औपचारिक रूपमा लन्च गर्ने पनि तयारी छ। वेबसिरिज 'साहु बा' यही एपमा रिलिज हुने तयारी छ।
६. नेट टिभी
इन्टरनेटमार्फत टेलिभिजन सेवा प्रदान गर्दै आएको नेट टिभीमा दर्शकले पे पर भ्युका आधारमा नेपाली फिल्म हेर्न सक्छन्।
यसमा पछिल्लो समय युट्युबमा नआएका थुप्रै फिल्महरू रिलिज भएका छन्। प्रयोगकर्ताले तोकिएको शुल्क तिरेर हेर्न पाउने नेट टिभीको बेवसाइटमा उल्लेख छ। 'प्रेम गीत ३' फिल्म २ सय २५ रूपैयाँ, 'दोख' २ सय २५ रूपैयाँ, 'पर्खी बसेँ तिमीलाई' ३ सय २५ रूपैयाँ, 'अगस्त्य' २ सय २५ रूपैयाँ तिरेर हेर्न पाउने बेवसाइटमा उल्लेख छ।
यीमध्ये कुनै नेट टिभी सेटअप बक्स र कुनै मोबाइल एपमा पनि उपलब्ध रहेको जनाइएको छ।
७. डिसहोम गो एप
डिसहोमको मोबाइलमै टिभी हेर्न मिल्ने गरी 'डिसहोम गो एप' सञ्चालनमा छ। यसमा लाइभ टिभी, फिल्म, छोटा फिल्म, सिरिज र म्युजिक भिडिओहरू राखिएको छ। कतिपय त यसमा एक्सक्लुसिभ रिलिज गरिएका छन्।
यीबाहेक अरू पनि केही डिजिटल प्लेटफर्महरू सञ्चालनमा छन्। यसअघि सञ्चालनमा रहेका फोपी, चलचित्र टिभी लगायत केही एप भने बन्द भइसकेका छन्।
तपाईको प्रतिक्रिया