महिला अधिकार महासन्धि छाया प्रतिवेदन तयारीको लागि क्षलफल तथा सुझाव सङ्कलन कार्यक्रम सम्पन्न
धनगढी । महिला अधिकार महासन्धि छाया प्रतिवेदन तयारीका लागि प्रदेश स्तरीय छलफल तथा सुझाव सङ्कलन कार्यक्रम सम्पन्न भएको छ । महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) को आयोजना र युएन वुमनको आर्थिक सहयोगमा कार्यक्रम आज धनगढीमा सम्पन्न भएको हो । कार्यक्रममा महिला अधिकार महासन्धिमा भएका १६ वटा धारा सम्बन्धी छलफल गर्दै सुदूरपश्चिम महिला अधिकारका सवालमा भइरहेका कामका बारेमा सुझाव सङ्कलन गरिएको थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य सन्तोष शर्माले ठोस वैज्ञानिक र योजनाबद्ध कार्यक्रम बनाई महिला मुक्तिको लागि स्पष्ट मार्गचित्र बनाउनु पर्ने बताइन । उनले भनिन्, 'समाजमा केही आमूल परिवर्तन गर्नको लागि र महिला मुक्तिको लागि ठोस वैज्ञानिक र योजनाबद्ध कार्यक्रम कार्यक्रम बनाएर हामी अगाडि बढ्नुपर्छ' । पुरुष सँगसँगै काम गरिरहँदा कहिले हतोत्साहित बनाइदिने र शब्दहरूले होच्याउने त्यो प्रवृत्ति जता ततै रहेकाले महिलाहरू सक्षम भएर आफ्नो आवाजलाई बुलन्द पारि अधिकार सुनिश्चित गर्नु पर्ने उनको भनाइ छ ।
सरकारले उठान नगरेका ग्रामीण भेगका सवालहरूलाई समेटी नागरिक समाजले छायाँ प्रतिवेदन तयार पारेर सिड कमिटीलाई बुझाउन सात वटै प्रदेशमा सुझाव सङ्कलन कार्यक्रम आयोजना गरिएको दलित महिला अधिकार मञ्च कैलालीकी अध्यक्ष साबित्रा धिमेरले बताइन । 'सरकारले उठान नगरेका नागरिकका सवालहरूलाई हामीले नागरिक समाजका तर्फबाट उठान गरी छायाँ प्रतिवेदन बनाउन यो कार्यक्रम आयोजना गरेका हौ । जुन सात वटै प्रदेशमा भइसकेको छ ' उनले भनिन ।
कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, महिला अधिकारकर्मी लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया