अमेरिकामा समाजका सुत्र पढाईरहेका गणितका प्रोफेसर जोशी
‘सफलता तपाईंको हैसियतले होइन, तपाईंका कारण अरुमा पर्ने प्रभावले मापन हुन्छ ।’ दिवगंत भारतीय व्यवसायी रतन टाटाको यो भनाईसंग सहमत अमेरिकाको सिनसिनाटी राज्यको जेभियर युनिभर्सिटीका गणितका प्रोफेसर डा.हेमराज जोशी भन्छन्, ‘सफलता यो होईन, तपाईले कति सम्पत्ती जोड्नुभयो । सफलता त्यो हो, तपाईले कतिको जीवनमा परिवर्तन ल्याउनु भयो ।’
प्रोफेसर जोशीका नजरमा सम्पत्ती हुने सबै व्यक्ति सफल होईनन । धनी मात्र हुन् ।
उनका पिता खेमराज जोशी नेपाली काँग्रेस बैतडीका संस्थापक सदस्य थिए । जसले २०१५ सालको आम निर्बाचनमा आफूले पाएको टिकट अर्कैैलाई बाँडे ।
राजनीतिमा टिकट छोड्नेहरु ‘बेबकुफ’ मानिने देशमा अपवाद थिए, उनका पिता । यता अमेरिकामा आएर पैसा नकमाउनेहरुलाई ‘बेबकुफ’ भन्ने जमात नभएको होईनन । उनलाई त्यसको छु मतलव । भने भनुन ‘बेबकुफ’। उनले सम्पत्तीको त्यो अंकलाई शुन्य बाहेक केही ठानेनन् । यद्दपि उनले विद्यावारिधी गरेको गणितको हिसावकिताव त्यही शुन्य नहुदा अधुरो छ । उनी हिडे आफ्नो बाटो ।
पारी केन्टुकी । वारी सिनसिनाटी । सीमानामा बग्ने ओहायो नदी । त्यही ओहायो नदीको अलि मास्तिर फैलिएको सय वर्ष लामो ईतिहास बोकेको जेभियर युनिभर्सिटी । त्यही युनिभर्सिटीका सयौ प्रोफेसरका माझमा एक्ला नेपाली जोशी । जो गणित बिभागको नेतृत्व गर्छन ।
गणितका सुत्र कहिल्यै फेरिदैनन । तर समाजका सुत्रहरु भने समय अनुसार फेरिईरहन्छन । नफेरिने गणितका निरस सुत्रहरुको मान्छेको जीवनमा के अर्थ ? समाज त सुत्रले चल्दैन, भावना, संवेदना र सम्बन्धहरुले चल्छ । औंला भाँचेर पनि समाज चलेकै थियो । किन चाहियो, अल्फा, बिटा र गामा ?
उनले गणितका सुत्र पढे । तीनै सुत्रको फेर समातेर पुगे, अमेरिका । गरे, तिनै सुत्रहरुमा विद्या वारिधी । तर उनले विद्यार्थीलाई गणितका सुत्रहरु मात्र घोकाएनन । सिकाए, जीवनका सुत्रहरु । भनिन्छ, अंकहरुमा अल्झिने मान्छे निरस हुन्छ । जो भित्र संवेदना हुदैन । उनी अपवाद छन् । जो अंकको भूमरीमा कहिल्यै फसेनन ।
पूँजीवादी व्यवस्थामा धन नै सबैथोक मानिन्छ । अमेरिका अडेकै त्यही व्यवस्थामा छ । उनी भन्छन्, ‘बाप बडा न भैया, सबसे बडा रुपैया ।’ अमेरिकामा पैसा भन्दा ठूलो केही छैन । कोही छैन । यहाँ कसैलाई कसैको मतलव हुदैन । बैंकले पत्याउछ । तर मान्छेले पत्याउदैन ।
बैतडीको दशरथ चन्द नगरपालिका–१३ शेराका खेमराज जोशी र हरीप्रिय जोशीका छ सन्तान थिए । दुई छोरी । चार छोरा । उनी पाँचौ सन्तान थिए । उनले प्राथमिक तहको अध्ययन शेरामै पुरा गरे ।
उनको परिवार तराई झ¥यो । उनी पनि संगै झरे । चार कक्षामा धनगढीस्थित त्रिनगर माध्यामिक विद्यालयमा भर्ना भए । २०३७ सालमा त्यहीबाट एसएलसी पास भए । त्यसपछि आईएस्सी पढ्न महेन्द्रनगर पुगे । आईएस्सी दोस्रो वर्षको परीक्षा नजिकिदै थियो । क्याम्पसमा हड्ताल भयो । परीक्षा त भयो । रिजल्ट रद्द भयो । त्यसपछि उनी पढ्न भारत गए । त्यहाँबाट आईएस्सी पास गरे ।
थप अध्ययनका लागि उनी देहरादुन गए । १९८५ मा त्यहीबाट बीएस्सी गरे । र, १९८९ मा एमएस्सी गरे । एमएस्सीका गोल्डमेडलिष्ट जोशीले नेपालमा महेन्द्र विद्या भुषण पाए ।
त्यसपछि उनी त्रिभुवन विश्व विद्यालयमा अध्यापन गर्न थाले । बिहान अमृत साईन्स क्याम्पस अस्कलमा पढाउथे । दिउँसो जिटीजेडमा जागीर खान्थे । तीन वर्ष जागीर खाएपछि उनी पूर्ण छात्रबृति पाएर ईण्डष्ट्रियल म्याथमेटिक्सको अध्ययनका लागि १९९३ जर्मनी गए । युनिभर्सिटी अफ काईजर्सलाउटनबाट मास्टर्सको थप अध्ययन सकेर दुई वर्षपछि नेपाल फर्किए । बेतलवी विदामा जर्मनी गएका उनी फर्किएर अस्कलमा पढाउन थाले ।
एक दिन उनलाई एक जना केटी साथीले भनी, मेरो साथी रसिकासंग बिहा गर्छौ । साथीकै सल्लाहमा उनले रसिकालाई भेटे । दुई जनाबीच कुराकानी भयो । दुबैले आ-आफ्नो अभिभावकलाई बिबाहका लागि कन्भिन्स गर्ने सल्लाह भयो । उनी दशैं बिदामा घर आए । र, बुवाआमालाई कन्भिन्स गरे । उता रसिकाले आफ्नो परिवारलाई सम्झाईन । दुबै परिवार सहमत भएपछि उनीहरुको ‘चट मगनी पट ब्याह भयो’ ।
फरक भूगोल । फरक पृष्ठभूमि । फरक संस्कार । काठमाण्डौंकी रैथाने रसिका । सुदूर पश्चिमको बैतडीका हेम । प्रयोगशालाको रिसर्चमा घोत्लिरहने डाक्टर रसिका । गणितका सुत्र पढाउने प्रोफेसर हेम । सम्बन्धको केमष्ट्रि फेरिपनि अद्भूत छ, दुबैजनाको । विश्वासको डोरीले बाँधेको त्यो सम्बन्ध झण्डै तीन दशक लामो सहयात्रामा पनि उत्तिकै बलियो छ ।
संयोगले जुरेको डाक्टर रसिका र प्रोफेसर जोशीको प्रेम अग्र्यानिक छ । त्यसैले त झण्डै तीन दशक लामो यो सम्बन्धमा गणितका सुत्र र ल्यावको रसायन कहिल्यै हावी हुन पाएन ।
बिहापछि पनि उनको अध्ययनको सिलसिला रोकिएन । भनिन्छ, जहाँ ईच्छा, त्यहाँ उपाय । उनका बुवाको ईच्छा थियो, छोरा पढ्न अमेरिका जाओस । उनका बुवाको त्यो ईच्छा युनिभर्सिटी अफ टेनसी नक्सभेलको पूर्ण छात्रबृतिले पुरा गरिदियो । उनी अमेरिका १९९७ अगष्टमा गणितमा पीएचडी गर्न अमेरिका आए । चार वर्षमा पीएचडी सकाए । दुई वर्ष ‘पोष्ट डक’ गरे ।
पिएचडीले उनलाई अमेरिकामा अवसरको ढोका खोली दियो । २००३ मा सिनसिनाटी राज्यको जेभियर युनिभर्सिटीमा गणितका प्रोफेसर नियुक्त भए । त्यसपछि सिनसिनाटी उनको स्थायी मुकाम भयो । उमेरले ६ दशक काट्दै गर्दा उनको जिम्मेवारी थपिएको छ । चार वर्षअघि फुल प्रोफेसरमा बढुवासंगै उनले गणित बिभागको नेतृत्व गर्ने अवसर पाए ।
उनी सिनसिनाटी आउदा नेपालीहरुको संख्या थोरै थियो । त्यसमध्य अधिकांश अध्ययन र अवसरका लागि आउनेहरु थिए । उनी दशैंमा विद्यार्थीसंगै अन्य नेपालीहरुलाई दशैंमा घर बोलाउथे । खसी काट्थे । जमरा लगाउथे । रमाईलोका लागि तास खेल्न पैसा दिन्थे । र, फर्किदा टिकट दिएर पठाउथे । सिनसिनाटीमा जस्को कोही थिएन, उसका लागि प्रोफेसर हेमराज जोशी अभिभावक थिए ।
नेपालबाट डीभी परेर आउनेहरुलाई जागीर नपाउदासम्म उनले घरमा बास दिन्थे । अवसर र अध्ययनका लागि आएकाहरुका लागि उनको घर नियास्रो मेट्ने आश्रयस्थल थियो । समस्या परेकाहरुलाई आर्थिक सहयोग गर्थे । गणितका प्रोफेसर जोशीले न त कहिल्यै त्यो खर्चको हिसावकिताव गरे । न प्रचार गरे । बस्, बाडी रहे स्नेह । गरिरहे सहयोग ।
शिक्षाको उज्यालो घामबाट कोही बञ्चित नहुन भन्ने सोचले उनले शिक्षा क्षेत्रमा सहयोग गर्दै आएका छन् । उनले यस वर्ष गेटास्थित सरस्वती माविमा ४५ जना विद्यार्थीलाई ८५०० रुपैयाका दरले छात्रबृति प्रदान गरेका छन् । केही संख्याबाट शुरु भएको छात्रबृतिको संख्या हरेक वर्ष बृद्धि हुदै गएको छ । उनले हरेक वर्ष सरस्वती माविसंगै अन्य विद्यालयहरुलाई ल्यापटप समेत प्रदान गर्दै आएका छन् । यस कार्यमा उनलाई युनिभर्सिटीका प्रोफेसरसंगै साथीभाईहरुले सहयोग गर्दै आएका छन् ।
उनका थुप्रै समकक्षीहरु राजनीतिमा लागे । एनपी साउँद, पुष्कर नाथ ओझाहरु मन्त्री भए । नेपाली काँग्रेसको सुदूर पश्चिमको सिनियर नेताका रुपमा चिनिने उनका पिता चाहन्थे, छोराले राजनीति गरोस । तर उनको राजनीति प्रति रुचि भएन । उनले अध्यापन र अध्ययनमा आफूलाई समर्पित गरे ।
अमेरिका संसारभरीका मान्छेका लागि सपनाको देश हो । उनी भन्छन्, नेपालीहरुले जुन हिसावले परिकल्पना गर्छन, अमेरिका त्यस्तो छैन । काम नगरी यहाँ कोही बाँच्न सक्दैनन । धेरै नेपालीलाई लाग्छ, अमेरिकामा डलर फल्छ । बितेका २८ वर्षमा मैले कतै डलर फलेको देखेन ।
नेपालमा ९० को दशकको उत्तराद्र्धमा भर्खर डिस भित्रिएको थियो । डीसमा एउटा च्यानल आउथ्यो, एमटीभी । मायामीको बीचमा स्वीमीङ पुलमा बिकनी लगाएका केटीहरु देखिन्थे । यही स्वर्ग हो लाग्थ्यो, त्यो हेर्नेहरुका मनमा । झण्डै तीन दशक लामो बसाईमा उनले त्यो स्वर्ग भेटेनन । न त त्यो स्वर्गको खोजीमा भौतारिए ।
अमेरिकामा सबै सुबिधा छन् । तर यहाँ सामाजिक जीवन र सम्बन्ध छैन, प्रोफेसर जोशी भन्छन्, नेपालमा हामी सात पुस्ताको कुरा गर्छौ । यहाँ भाईले भाईलाई चिन्दैन ।
धेरैले भन्छन्, बच्चाको भविश्यका लागि यहाँ बस्नु परेको छ । त्यो बाध्यता होईन, ढोंग हो, भन्छन्, सपना आफ्नो । बहाना अरुको । बच्चाका लागि अमेरिका बसेको बताउनेहरुले बच्चालाई समय नै दिदैनन ।
अमेरिकामा समाजसेवा आत्मकेन्द्रित र प्रचारमुखी भएको उनको बुझाई छ । समाजसेवा कसका लागि ? समाजका लागि कि फेसबुकका लागि ? उनी प्रश्न गर्छन ।
सामाजिक संघसंस्था खोल्नु राम्रो ठान्ने उनी यो खोल्ने नियत भने खराव भएको दावी गर्छन । यहाँ आएपछि सबैको हैसियत समान हुन्छ । नेपालमा जुनसुकै ओहोदा र पदमा भएपनि यहाँ कसैले कसैलाई नमस्कार र सम्मान गर्दैन । डाक्टर र स्वीपरको हैसियत समान हुन्छ । कामले कोही सानो ठूलो हुदैन । अध्यक्ष, पदाधिकारी हुने । आसन ग्रहण गर्ने । सम्मान थाप्ने । र, नमस्कार पाउनकै लागि खोलिएका जस्ता देखिन्छन अधिकांश संघसंस्था र समाजहरु ।
बाहिरबाट अमेरिका हेर्नेलाई लाग्छ, संसारका सबै सुख सुबिधा अमेरिकामा छन् । तर यहाँको संघर्ष कसैलाई थाह हुदैन । निरन्तर संघर्ष र मिहिनेत गर्नेको जीवन सुखद हुन्छ । बाँकी त यहाँ पनि दुःखी नै छैन ।
अमेरिकामा सबै बच्चा राम्रो हुन्छन भन्ने हुदैन । कस्तो वातावरणमा बच्चा हुर्कियो ? त्यस्तै हुन्छ । छोराले बुवाको पसललाई आफ्नो ठान्दैन । बुवाको पसलमा काम गर्दा पनि उसले प्रतिघण्टाको ज्याला लिन्छ । यहाँ बुवाको सम्पत्तीमा छोराछोरीको हक हुदैन । र, छोराछोरीलाई बुवाआमाको सम्पत्तीको मोह पनि हुदैन ।
उनको बुझाईमा, अमेरिकामा बसेर नेपालको चिन्ता गर्नुको अर्थ छैन । भन्छन्, देश बिग्रिहाल्यो, खत्तम भयो भनेर चिन्ता गर्नुभन्दा यहाँ बसेर परिवारको चिन्ता गर्नु राम्रो हुन्छ ।
गैर आवासीय नेपाली संघलाई प्रवासमा अरुभन्दा अलि बढि पैसा कमाएकाहरुको संस्था ठान्छन उनी । भन्छन्, समाज र देश बनाउछु भन्ने त फगत नारा हो । एनआरएनएनले के बनायो ? त्यो जगजाहेर छ ।
करोड रुपैया लगानी गरेर आफ्नो गाउँठाउँमा पाटी, पौवा, विद्यालय, सडक बनाए कसैले नमस्कार गर्दैन । एनआरएनएको चुनावमा खर्च गरेर अध्यक्ष हुन पाए प्रधानमन्त्रीसंग भेट गर्न सहज हुन्छ । सबैले नमस्कार गर्छन, उनी भन्छन्, सबैको स्वार्थ यत्ति हो ।
अमेरिका दलदल हो । जति हल्लिन खोज्यो त्यति भासिन्छ, उनको अनुभवले भन्छ, यहाँ आएपछि पुरै जिन्दगी घर,गाडी र सन्तानको शुल्क किस्तामा तिर्दा तिर्दै बित्छ । स्वदेश फर्किन्छु भन्नेहरु कहिल्यै फर्केनन । जो चुपचाप फर्किए उनीहरुले कहिल्यै हल्ला गरेनन ।
प्लस टु पास सन्तानलाई पढ्न अमेरिका पठाउने अभिभावकलाई प्रोफेसर जोशीको सुझाव छ, यो उमेरमा छोराछोरी नपठाउनु । सकभर परिपक्व भएपछि पठाउनु । कम्तिमा स्नातक तह पुरा गरेर सन्तानलाई पठाउदा राम्रो ।
नेपालबाट अमेरिका विद्यार्थी पठाउने कन्सलटेन्सीहरुको अवस्था राम्रो नभएको उनको दावी छ । प्रोफेसर जोशी भन्छन्, राम्रा कलेजले उनीहरुलाई कमिसन दिदैनन । जसले कमिसन दिन्छ, त्यस्ता कलेजहरुमा मात्र पठाउछन्, कन्सलटेन्सीहरुले । उनीहरुले पठाउने कलेजहरु औसतमा पर्छन ।
राम्रा कलेजमा छात्रबृति नपाए नेपालबाट पैसा पठाएर अभिभावकले पढाउन नसक्ने उनी सुनाउछन । विद्यार्थीले काम गरेर कलेजको शुल्क तिर्न सक्दैनन ।
विद्यार्थीहरुलाई पढाईबाट बिचलित नहुन सुझाव दिने उनी डिभी परेर आएकाहरुलाई पढ्न सुझ्याउछन । ग्याँस स्टेशनको सपना देखिरहेको मान्छेलाई उनको सुझाव फाल्तु लाग्छ ।
जोशी दम्पत्तीका एक छोरा र एक छोरी छन् । प्रवासमा अध्ययनका लागि आएका नेपालीका छोराछोरीका दुःखमा दुबै जना साथ दिन्छन । अरुलाई खुशी बाड्न पाए खुशी हुन्छन, दुबै जना । अरुलाई सहयोग गर्न पाए आफ्नो जीवन सार्थक भएको ठान्छन्, दुबै जना । यही समान सहृदय, सोच र मान्यताले उनीहरुको सम्बन्धलाई दिगो र दरिलो बनाएको छ ।
उनी पिएचडी सकेर २००५ मा स्वदेश फर्किने तयारीमा थिए । २००३ पत्नी रसिकालाई छोराछोरी सहित नेपाल फिर्ता पठाए । देशमा द्वन्द्व चरमोत्कर्षमा थियो । आफन्त र परिवारजनले अमेरिका छोडेर नेपाल आउने निर्णय सही नभएको बताएपछि उनले तत्काललाई स्वदेश बस्ने निर्णय स्थगित गरे ।
‘अमेरिकाको बसाई, बरेलीको जक्सन जस्तै हो ।’ दुई दशकदेखि त्यही जक्सनमा टसमस नगरी बसिरहेका प्रोफेसर जोशी अमेरिका प्रतिको यस्तो सटिक टिप्पणीपछि पनि रोकिएनन । उनले थपे, बिभिन्न ठाउँबाट आएका यात्रुहरु जक्सनमा केहीबेर बस्छन् । परिचय गर्छन । रेल आएपछि सबै आ–आफ्नो बाटो लाग्छन । त्यसपछि को कता गयो, कसैलाई वास्ता हुदैन, उनले थपे, ‘अमेरिकाको बसाई पनि त्यस्तै हो ।’
एक दशकपछि यो जक्सनको बसाईमा बीट मार्ने उनले योजना सुनाए । फर्केर त्यही जाने मन छ, जहाँ उनको बालापन बित्यो । बालापन बितेको गेटास्थित उनको घर छेउमा मेडिकल कलेज सञ्चालनमा आउने क्रममा छ । उनलाई त्यहाँ उपचारका लागि आउने अशक्त बिरामीहरुलाई ह्विल चेयरमा राखेर अस्पतालको शैयासम्म निशुल्क पु¥याउन खटिने मन छ । भन्छन्, एक्लै त्यो संभव छैन, स्वयमसेवी युवा समूहको गठन गरी असहाय र अशक्त बिरामीहरुको सेवामा बाँकी जीवन समर्पित गर्ने धोको छ ।
तपाईको प्रतिक्रिया