जेलेन्स्कीले ट्रम्पलाई गरेको फोन मस्कले उठाएपछि...

शनिबार कार्तिक २४, २०८१/ Saturday 11-09-24
Paschim Today

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको फोन वार्ताका क्रममा अर्बपति एलन मस्कलाई समेत सामेल गराएका छन् ।

रुससँगको युद्धमा युक्रेनलाई सञ्चार उपकरणमा सहयोग पुर्‍याउँदै आएका प्रभावशाली अर्बपति मस्क पछिल्लो समय ट्रम्पनिकट देखिएका छन् । तीन जनाबीच कुराकानी भएको अमेरिकी सुरक्षा अधिकारीहरूले पुष्टि गरेका छन् । यस वार्तामा अमेरिकी नीतिमा कुनै परिवर्तनको कुरा उठ्यो कि उठेन भन्ने स्पष्ट छैन । 

मस्क ट्रम्पसँग फ्लोरिडामा रहेको निजी क्लब मार-ए-लागोमा थिए र त्रिपक्षीय वार्ता सकारात्मक रहेको द न्युयोर्क टाइम्सले जनाएको छ । शुरूमा जेलेन्स्कीले ट्रम्पलाई बधाई दिन फोन गरेको र त्यसपछि ट्रम्पले मस्कलाई फोन हस्तान्तरण गर्दा उनले सञ्चार सहयोगका लागि मस्कलाई धन्यवाद दिएको न्युयोर्क टाइम्सको दाबी छ ।​​

ट्रम्पले रुस-युक्रेन युद्ध छिटो अन्त्य गर्ने वाचा गरेका छन् । उनले रुसले कब्जा गरेको युक्रेनी भूभाग रुसकै नियन्त्रणमा राख्न अनुमति दिने सम्भावना रहेको चर्चा चल्न थालेको छ । ​

ट्रम्पले निर्वाचनअघि भएको राष्ट्रपतीय बहसमा कुनै पक्षको समर्थन नगर्ने बताएका थिए भने बाइडेन प्रशासनबाट युक्रेनले पाएको सैन्य र वित्तीय सहायता धेरै भएको संकेत गरेका थिए ।