एयरपोर्टमा लगेज हरायो ? अब एप्पलले खोज्न सहयोग गर्नेछ
काठमाडौं । एप्पलले हराएका सामान खोज्न सजिलो बनाउने गरी ‘शेयर आइटम लोकेसन’ नामक फिचर सार्वजनिक गरेको छ । यात्राको समयमा हराएका सामानहरू खोज्न सहयोग गर्ने गरी एप्पलले यो फिचर ल्याएको हो ।
हाल यो फिचर आईओएस १८.२ को सार्वजनिक बेटा भर्सनमा आइसकेको छ । अब छिट्टै आईफोन एक्सएस र त्यसपछिका मोडलहरूमा अपडेटको रूपमा नि:शुल्क उपलब्ध हुने एप्पलले जनाएको छ । त्यस्तै ब्रिटिश एयरवेज, सिङ्गापुर एयरलाइन्स लगायतका १५ भन्दा बढी एयरलाइन्सहरूले आफ्ना ग्राहकलाई यो सेवा दिन थालिसकेका छन् ।
प्रयोगकर्ताले यस फिचरमार्फत एयरलाइन्स कम्पनी लगायतका अन्य पक्षहरूसँग एयरट्याग अथवा फाइन्ड माई एक्सेसरिजको लोकेसन शेयर गर्न सक्छन् । यसपछि प्रयोगकर्ताले आईफोन, आईप्याड अथवा म्याकमा भएको 'फाइन्ड माई एप' मार्फत शेयर गर्न मिल्ने लिङ्क तयार गर्नुपर्ने हुन्छ ।
सो लिङ्क पाउने व्यक्तिले सामानको हालको स्थान म्यापमा हेर्न सक्नेछन् । यसका साथै सामानको स्थान परिवर्तन भएमा सोको जानकारी समेत पाउनेछन् । एयरलाइन्सका हकमा भने कर्मचारीहरूले एप्पल ट्याग राखिएको लगेज खोज्न सहयोग गर्ने छन् ।
त्यस्तै हराएको सामान भेटिन साथै लोकेसन शेयरिङ स्वतः निष्क्रिय समेत हुन्छ । तर सामान्यतः त्यस्तो लिङ्क सात दिनपछि आफैं पनि निष्क्रिय हुन्छन् । विशेषतः एप्पलको यस नयाँ फिचरले हराएको सामान भेट्न एयरपोर्ट जस्तो स्थानमा उपयोगी हुने बताइएको छ ।
नयाँ फिचरले कसरी गर्छ काम ?
-
आफ्नो एयरट्याग हराए तपाईंले आईफोनको फाइन्ड माई एपमा गई एउटा लिंक बनाउन सक्नुहुन्छ ।
-
तपाईंले कसैलाई पनि यो लिंक पठाउन सक्नुहुन्छ, चाहे त्यो तपाईंका विश्वासिला साथी हुन् वा एयरलाइन्सका कर्मचारी।
-
लिंक प्राप्त गर्ने व्यक्तिले लिंक क्लिक गरेर म्यापमा एयरट्यागको हालको लोकेसन देख्न सक्छन् ।
-
यो लिंक अस्थायी हुन्छ र एक हप्तापछि आफैँ बन्द हुन्छ वा तपाईंको एयरट्याग फेला परेपछि निष्क्रिय हुन्छ ।
-
कति जनाले तपाईंको लिंक खोलेका छन् भनेर पनि हेर्न सकिन्छ । तपाईंले आफ्नो फोन नम्बर र ईमेल ठेगाना पनि शेयर गर्न सक्नुहुन्छ, ताकि तपाईंको एयरट्याग फेला पार्ने व्यक्तिले तपाईंसँग सम्पर्क गर्न सकोस् ।
यो फिचरबाट हराएको सामान फेला पार्न सजिलो हुने तथा समयको बचत हुने अनुमान छ । एप्पलले पहिले नै एउटा फिचर दिएको थियो, जसअनुसार तपाईं आफ्नो एयरट्यागको लोकेसन पाँच जनासँग निरन्तर शेयर गर्न सक्नुहुन्थ्यो । तर, नयाँ फिचरले तपाईंलाई अस्थायी रूपमा थप मानिसहरूसँग लोकेसन शेयर गर्न अनुमति दिन्छ ।
साथै एप्पलको फाइन्ड माई नेटवर्क विश्वभर फैलिएको हुनाले हराएको सामान फेला पार्न अझ सजिलो हुने बताइएको छ ।
तपाईको प्रतिक्रिया