बैतडीमा किशोरी बेपत्ता प्रकरणः अनुसन्धान गर्न सिआइबी टोली परिचालन
बैतडीः बैतडीमा बेपत्ता किशोरी खोज्न जिल्ला प्रहरी कार्यालय असफल देखिएको छ।
किशोरी बेपत्ता भएको एक महिना पुग्नै लाग्दा समेत प्रहरीले कुनै पत्ता लगाउन लगाउन सकेको छैन। जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी १७ वर्षीया किशोरी बेपत्ता प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले समेत अनुसन्धान सुरु गरेको छ। घटनाको थप अनुसन्धान गर्न सिआइबीको टोली बैतडीमा खटिएको छ।
कार्तिक १३ गते जिल्ला अदालत बैतडीले किशोरी बेपत्ता प्रकरणका आरोपित प्रहरी हवल्दार कृष्णराज जोशीलाई पूर्पक्षका लागि कारागार चलान गरेको थियो। त्यसपछि प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए।
‘जिल्ला प्रहरी कार्यालयबाट किशोरी बेपत्ताको विषयमा निरन्तर रुपमा अनुसन्धान भइरहेको छ। तर अहिलेसम्म अवस्था अज्ञात नै छ।’ उनले भने, ‘सिआइबीले यस घटनाको छुट्टै अनुसन्धान गरिरहेको छ भने हामीले पनि घटनाको विषयमा सुक्ष्म रुपमा अनुसन्धान गरिनै रहेका छौँ।’
असोज २५ गते किशोरी बेपत्ता भएकी थिइन्। सोही दिन पञ्चेश्वर गाउँपालिका–२ महाकाली प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार जोशीलाई महाकाली नदीपारीको भारतीय भूमिबाट स्थानीयले नियन्त्रणमा लिएका थिए। प्रहरी चौकी डिम्बर गाउँमै छ। किशोरी र हवल्दार जोशीबिच कुनै न कुनै सम्बन्ध रहेको पुष्टि भइसकेको छ।
प्रहरी अनुसन्धानबाट पनि २५ गतेसम्म किशोरीसँग भेट भएको खुलेको छ। प्रहरी नायव उपरीक्षक मिश्रले असोज २५ गतेसम्म किशोरी र प्रहरी हवल्दार जोशीको भेट भएको अनुसन्धानबाट खुलेको बताए। तर किशोरीको अवस्था भने अझै अज्ञात छ। अहिले सिआइबी र जिल्लाको प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
तपाईको प्रतिक्रिया