कैलालीमा गैरसरकारी संस्थाहरूले संयुक्त रुपमा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने
कैलाली । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानमा गैरसरकारी संस्था महासङ्घ नेपालले कैलालीमा विभिन्न कार्यक्रमहरू गर्ने भएको छ । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेशमा छरिएर रहेका विभिन्न गैरसरकारी संस्थाहरूले पहिलो पटक गैरसरकारी संस्था महासङ्घ मार्फत विभिन्न कार्यक्रमहरू आयोजना गर्न लागिएको जानकारी दिइएको छ ।
फाया नेपाल अध्यक्ष गोमा आचार्यले कैलालीका सबै स्थानीय तहमा लैगिंक हिंसा विरुद्धको जागरण फैलाउने गरि कार्यक्रमको तयारी भइरहेको जानकारी दिइन् । सोमबार बिहान सामाजिक विकास मन्त्रालयले आयोजना गरेको प्रभात फेरीमा सहभागी हुने र त्यसपछि जिल्लामा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने उनले बताइन् ।
ओरेक नेपालकी गीता चौधरीले पहिलो पटक सुदूरपश्चिमका विभिन्न गैरसरकारी संस्थाहरूले संयुक्त रुपमा यसरी कार्यक्रम आयोजनाको तयारी भइरहेको बताइन् । गैरसरकारी संस्था महासङ्घकी केन्द्रीय सदस्य सावित्रा घिमिरेले सरकारसँगै समन्वय गरेर लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान आयोजना गर्न लागिएको बताइन् ।
अझै पनि समाजमा लैगिंक हिंसा हुने क्रम नरोकिएको भन्दै आफूहरूले गाउँ गाउँसम्म आयोजना गर्ने सचेतनामूलक कार्यक्रमले ठुलो जागरण ल्याउने उनको भनाइ थियो ।
अभियान अवधिभरि कैलालीको १३ र कञ्चनपुरको एक गरी १४ वटा पालिकाहरूमा लैङ्गिक हिंसा अन्त्य सम्बन्धी विविध कार्यक्रम गरिने महासङ्घका अध्यक्ष देवीप्रसाद खनालले जानकारी दिए । उनले लैङ्गिक हिंसा, बाल विवाह, आत्महत्या, लागु हिंसा लगायत विभिन्न हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्ने उल्लेख गरे । अध्यक्ष खनालले २२ वटा सङ्घ संस्थाहरूले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्दा कार्यक्रम अझै प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए । उनले लैगिंक मैत्री नीति, लैगिंक उत्तरदायी समाज निर्माणका लागि आफूहरूले कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।
करिब २८ लाखको बजेटमा १६ दिनसम्म २२ संस्थाले १५३ कार्यक्रम गर्ने तयारी गरेको छ । विभिन्न अन्तरक्रिया, अभिमुखीकरण, तालिम, गोष्ठी, सेमिनार, छलफल, ¥याली, नाटक र संवाद लगायतका माध्यमबाट समाजमा जनचेतना फैलाउने लक्ष्य रहेको गैरसरकारी संस्था महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया