एनपिएल आबद्ध सात खेलाडी यू-१९ एसिया कप खेल्ने जाने नेपाली टोलीमा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एसिसी यू-१९ एसिया कपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ।
मंसिर १४ देखि युएईमा हुने एसिया कपमा नेपालले समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताका लागि युएई जाने तयारी गरिरहदा यू-१९ टोलीका सात खेलाडीले भने मंसिर १५ देखि सुरू हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)का सुरुवाती खेल खेल्नेछैनन्।
यू-१९ टोलीका कप्तान हेमन्त धामीसहित ओपनिङ ब्याटर आकाश त्रिपाठी जनकपुर बोल्ट्समा छन्। दुवै युवा खेलाडी एसिया कप खेल्न जाने हुँदा जनकरपुले उनीहरूलाई सुरूवाती खेलमा ‘मिस’ गर्ने पक्का छ।
यस्तै सुदूरपश्चिम रोयल्स आबद्ध दुई खेलाडी पनि यू-१९ एसिया कप खेल्न युएई जानेछन्। जसमा बलर नरेन साउद र ओपनिङ ब्याटर अर्जुन कुमाल छन्।
यस्तै कर्णाली याक्समा रहेका युनिसविक्रम सिंह ठकुरी, विराटनगर किंग्समा रहेका नरेन भट्ट र चितवन राइनोजमा रहेका रंजित कुमारले नेपाली यू-१९ टोलीमा छन्।
यसअघि लुम्बिनी लायन्सको कन्सल्ट्यान्स प्रशिक्षक बनेका शक्ति गौचन अहिले नेपाली यू-१९ टोलीका प्रमुख प्रशिक्षक छन्। उनी पनि एनपिएलका सुरूवाती खेलमा अनुपस्थित हुनेछन्।
बढीमा मंसिर २३ गतेपछि भने यी खेलाडी एनपिएल टोलीमा फर्कनेछन्। एनपिएल पुस ६ गतेसम्म चल्नेछ।
एसिया कपमा नेपालले मंसिर १४ मा श्रीलंकासँग खेलेपछि दोस्रो खेल मंसिर १६ मा बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ।
तपाईको प्रतिक्रिया