जोर्डन: आगोबीचको फूल

सोमबार मङ्सिर २४, २०८१/ Monday 12-09-24
Paschim Today

संसारकै होचो भूभाग डेड सी (मृत सागर) को देश जोर्डनका लागि दिल्लीबाट उडान भर्दै गर्दा जहाजसँगै कैयौं जिज्ञासासहित मेरो मन पनि एकतमासले उडान भरिरहेको थियो । गुगलमा भेटेको मृत सागरमा तैरिएर जोर्डन टाइम्स पढ्दै गरेको एउटा मान्छेको तस्बिरले निकै रोमाञ्चित भएको थिएँ म ।

न पौडिरहेको । न कुनै सहारा । स्थिर । मृत सागरमा कसरी त्यो मान्छे पत्रिका पढिरहेको होला ? मेरो यो कौतूहलको अन्त्य भने मृत सागरमा आफैं तैरिएपछि भयो । अनौठो अनुभूति हुन्छ, मृत सागरमा हाम फाल्दा । गहिरो छ । तर, डुब्ने भय हुँदैन । पौडिन नजाने पनि नुनको बाक्लो तहले मान्छे स्वत: माथि तैरिन्छ । पानीलाई तकिया बनाएर पत्रिका पढ्न सकिने । न बग्ने । न डुब्ने । न छालहरूले हुत्याउने ।

नदी तथा समुद्रमा डुबेर दिनहुँ थुप्रै मान्छेको मृत्यु भएको समाचार पढिरहेका मेरा लागि यो अनौठो दृश्य थियो । चारैतिर पहाड । त्यही पहाडको बीचमा फैलिएको छ, मृत सागर । वारि जोडर्न । पारि इजरायल । बाह्य घुसपैठ रोक्न मृत सागरमा स्टिमरमा पहरा दिंदै गरेका जोर्डनका सुरक्षाकर्मीहरू ।

तर, पर्यटकहरूलाई भने न सुरक्षाको चिन्ता छ । न त कुनै भय । शरीरभरि मृत सागरको माटो लगाएर निस्फिक्रीसँग मृत सागरमा तैरिएर आनन्द लिइरहेका छन् ।

नुनको मात्रा अधिक भएकै कारण जलीय जीवजन्तु (माछा र बिरुवा) बाँच्न नसक्ने भएकाले ‘मृत’ भनिने त्यही सागरले जोर्डनको पर्यटन र अर्थतन्त्रलाई जीवन दिएको छ ।

मृत सागरको किनारमा फैलिएका सुविधासम्पन्न अनगिन्ती होटलहरू प्रायः पर्यटकले खचाखच भरिएका हुन्छन् । बिहान मृत सागरमा तैरिन लाग्ने पर्यटकको भीड साँझपख जोर्डनको संगीतमा झुमिरहेको हुन्छ । नाचिरहेको हुन्छ ।

मृत सागर नजिकै छ, जोर्डन नदी । र, नजिकै छ, व्याप्टिज्म । यशुले ज्ञान प्राप्त गरेको विश्वास गरिने व्याप्टिज्म ख्रिष्टियनहरूका लागि पवित्र भूमि मानिन्छ । रोज सिटी (गुलाबी सहर) का नामले चिनिने पेट्रा पर्यटकको आकर्षणको केन्द्र हो । साँघुरा गुफा, पहाडभित्र बनाइएका ऐतिहासिक र पुरातात्त्विक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण घरहरू पेट्राका आकर्षण हुन् । वादी रम अझ गजबको छ । रातो मरुभूमि । चन्द्रमाजस्तो उपत्यका । मनमोहक सूर्योदयको दृश्य । जति हेरे पनि नथाकिने । हेरिरहूँ लाग्ने, वादी रम ।

मदावाको प्राचीन सभ्यताले पर्यटकलाई लोभ्याउँछ । जेरस धार्मिक दृष्टिकोणले अत्यन्त महत्त्व राख्छ । माउन्ट नेवोबाट देखिने दृश्यावलोकन कम्ती मनमोहक छैन । त्यहाँ रहेको पुरातात्त्विक तथा धार्मिक संंग्रहालयले पनि पर्यटकलाई आकर्षण गर्छन् ।

जोर्डनसँग सीमा जोडिएको सिरिया आधा दशकदेखि जारी गृहयुद्धले तहसनहस भएको छ । द्वन्द्वले सिरियाभन्दा पहिले ध्वस्त भएको इराक आईएसआईको जगजगीबाट उम्किन सकेको छैन । छिमेकी इजरायलसँगको उसको सम्बन्ध उतारचढावपूर्ण नै छ । विद्रोह र आतंकका लागि बन्द जोडर्नका ढोका शरणार्थीका लागि सधैं खुला छन् । शरणार्थीप्रति उदार जोर्डनले लाखौँ सिरियन, इराकी, प्यालेस्टाइनीलाई बिनाहिच्किचाहट आश्रय दिइरहेको छ । जोर्डनमा इराक, सिरिया, प्यालेस्ट्राइनका झन्डै ४० लाख शरणार्थी छन् ।

जोर्डन विश्वमा पानीको सर्वाधिक अभाव भोगिरहेका देशको सूचीमा १०औं देशभित्र पर्छ । तीव्र गतिमा भइरहेको जनसंख्या वृद्धि, त्यसमाथि लाखौंका संख्यामा थपिएका शरणार्थीहरूलाई शुद्ध पानीको आपूर्ति गर्नु जोर्डनका लागि कम्ती चुनौतीपूर्ण छैन । यो चुनौतीलाई सामना गर्न उसले हरसम्भव प्रयत्न गरिरहेको छ । तिनै प्रयत्नले पानीको अभाव र त्यसले सिर्जना हुने समस्याले विकराल रूप लिन पाएको छैन ।

गृहयुद्ध, विद्रोह र छिमेकीसँगको शत्रुतापूर्ण सम्बन्ध मध्यपूर्वका देशहरूका नमीठा अनुभव हुन् । गृहयुद्ध नबेहोरे पनि छिमेकी इराक, सिरिया, लेबनानका युद्धका बाछिटाहरू उसको आँगनभित्रै आइपुगेका छन् । युद्ध शरणार्थीहरूको सामना र तिनको व्यवस्थापन उसका लागि युद्धभन्दा कम्ती चुनौतीपूर्ण भने छैन ।

यद्यपि जोर्डन शान्त छ । राजधानी अम्मान त झनै अनौठो । न डर छ । न कसैको त्रास । सरकारले सुनिश्चित गरेको सुरक्षाका कारण मध्यरातमा पनि रात्रि जीवनमा निस्फिक्रीसँग रमाइरहका हुन्छन्, विदेशीहरू । र, ढुक्कसँग सुत्छन्, जोर्डनका नागरिक ।

चारैतिर द्वन्द्वको आगो छ । यस्तो लाग्छ, जोर्डन आगोबीचको फूल हो । आगोका रापहरू ऊसम्म पुग्न नपाउँदै शीतल भइसक्छन् । तर, त्यही आगोको बीचमा जोर्डन भने शान्त, स्थिर र विकासमा फड्को मारिरहेको छ । मध्यपूर्वभन्दा बाहिरसम्म फैलिएको जोर्डनको सुरक्षित र उत्कृष्ट पर्यटकीय गन्तव्यको सन्देश बर्सेनि ६० लाखभन्दा बढी पर्यटक भित्र्याउन सहयोगी भएको छ । मेडिकल टुरिज्मका लागि समेत ख्यातिप्राप्त जोर्डनले सन् २००८ मा उपचारका लागि आएका अढाई लाख विदेशीबाट एक बिलियन डलर आम्दानी गरेको थियो ।

जोर्डनमा इराक, सिरिया, कुवेत, इजरायल, प्यालेस्टाइन, लेवनान, लिबियालगायत देशसँगै युरोप, एसिया र अफ्रिकाबाट उपचारका लागि आउँछन् । अशान्त र असुरक्षित ती देशहरूको बीचमा जोर्डन कसरी शान्त र सुरक्षित रहन सकेको होला ? मृत सागरमा मान्छे कसरी तैरिएर अखबार पढिरहेको होला भन्ने कौतूहलसँगै यो अर्को जिज्ञासा मेरो मनमा थियो ।

राजा अब्दुल्लाह द्वितीयले १९९९ लिएको उदार आर्थिक नीति र कुशल नेतृत्वकै कारण मध्यपूर्वमा जोर्डन सुरक्षित र विकसित भएको बुझाइ छ । त्यही आर्थिक उदार नीतिपछि भित्रिएको वैदेशिक लगानी विकासको एउटा आधार मानिन्छ ।

अरब मुलुकहरूमा मदिरा वर्जित छ । रात्रि जीवन छुट छैन । क्यासिनो र डान्स बारहरूको नाम लिनु अपराध मानिन्छ । मध्यपूर्वमा जोर्डन यस्तो देश हो, जहाँ मुस्लिमको बाहुल्य त छ । तर, जीवनशैली भने अमेरिकन छ । जहाँ कुनै चीजमा बन्देज छैन । अम्मानमा एक कार्यक्रममा सहभागी भएर राति होटल फर्किंदै गर्दा ट्याक्सीचालक युसुफ सोध्दै थिए, डान्स बार जानुहुन्छ ?

डान्सबार छन् र ? जिज्ञासा राख्न नपाउँदै उनले एक सासमा जवाफ दिइहाले— जति भने पनि । रात छिप्पिँदै गएपछि राजधानी अम्मान मदिरा र संगीतको तालमा व्यस्त हुँदै जान्छ । मस्त हुँदै जान्छ । डान्स बारहरूमा उन्मुक्त भएर नाचिरहेका पर्यटकहरू हेर्दा मुस्लिम देशमा भएको छनकसम्म हुँदैन ।

मुस्लिम मुलुकमा नदिइएका अधिकार र स्वतन्त्रता जोर्डनका नागरिकले उपभोग गर्न पाएका छन् । अभिव्यक्ति स्वतन्त्रता । आफ्नो ढंगले जीवनयापन र व्यवसाय गर्न पाउने स्वतन्त्रता । तर, त्यो स्वतन्त्रता राष्ट्र, राष्ट्रियता र राष्ट्रिय सुरक्षाभन्दामाथि छैन । मध्यपूर्वका मुलुकहरूमा अधिकार प्राप्तिका नाममा दन्केको विद्रोहको आगोबाट त्यही कारण जोर्डन अहिलेसम्म टाढा छ ।