एनपिएल फाइनल : पावर प्लेमा जनकपुरविरुद्ध सुदूरको बलियो सुरुवात

शनिबार पौष ६, २०८१/ Saturday 12-21-24
Paschim Today

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबार फाइनल खेल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुँदै छ । सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ  गरिरहेको छ । सुदूरका लागि विनोद भण्डारी र सैफ अली जैबले बलियो सुरुवात दिलाएका छन् । पहिलो ओभरमै विनोद भण्डारीले हर्ष ठाकरको ओभरमा दुई छक्कासहित १७ रन जोडेका थिए ।  त्यसपछि जिमी निशमको ओभरमा ११ रन आएको थियो भने ललित राजवंशीले ४ रन दिए । चौथो ओभर चौथो ओभर ठाकरले र पाँचौ ओभर राजवंशीले मेडन फाले पनि छैटौँ ओभरमा ठाकरले १६ रन दिएका थिए ।

पावर प्लेमा सुदूरले विना क्षति ४८ रन जोडेको छ ।

दर्शकहरू त्रिवि मैदान कीर्तिपुरमा बिहानैदेखि पुगिसकेका छन् । फाइनलका लागि टिकट खुलेको केही समयमै सोल्डआउट भएको थियो । फाइनल खेलमा दर्शकको ठूलो उपस्थिति हुने अनुमान छ । अनुमानअनुसारै बिहानैदेखि दर्शकहरूको घुइँचो लागको छ ।

जनकपुर र सुदूरपश्चिम दुवै टिमको फ्यान फलोइङ पनि अन्य टिमभन्दा राम्रो भएकाले र यी दुवै टिम भिड्ने भएकाले पनि दर्शकको ठूलो उपस्थिति हुने अवस्था बनेको हो । जनकपुर र सुदूरपश्चिम यसअघि दुईपटक भिडिसकेका छन् । जसमा सुदूरपश्चिम दुवै खेलमा हावी भएको थियो । यी दुवै टिम लिग चरणमा शीर्ष दुईमा थिए । पहिलो क्वालिफायरमा जनकपुर सुदूरपश्चिमसँग पराजित भएको थियो भने विजेता सुदूरपश्चिम फाइनल पुगेको थियो । दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई पराजित गर्दै फाइनल पुगेको थियो ।