सामूदायिक प्रशिक्षकको जिम्मेवारीले दिएको सन्तुष्टी
कैलालीको टिकापुर बजार नजिकै छ शक्तिनगर टोल। यो पूर्व कमैयाँहरुको बस्ती हो । कमैयाँ मुक्तिको घोषणापछि निकै संघर्ष गरेर उनीहरुले यहाँ टाउको लुकाउने ठाउँ पाएका थिए। यो टोलका हरेक घरसँग संघर्षका आफ्नै कथा छन्। यहीँ छ हेमा चौधरीको घर ।
आँगनमा एउटा बोरा झुण्डिएको छ ।
बोरामा के छ ?
अलिकति पराल, अलिकति भुस यस्तै खित्रिकमित्रिक चीजबीज !
किन राखेको ?
छोरीले लात्ता हानोस् भनेर !
हेमाले हाँस्दै जवाफ फर्काइन् - ‘म सानो छँदा मेरो बुवाले पनि घर छेउमा यसैगरि बोरा झुन्डाइदिनुभएको थियो । ट्वाइलेट जाँदा होस् कि बारीमा मेरो काम चाहिँ त्यो बोरालाई लात्ता हान्ने ।’
हरेक विहान हेमा आमाबाट एकैछिनका लागि कराँतेकी गुरुआमा बन्छिन्। अनि केही समय छोरीसँगै आफ्नो बाल्यकाल बाँच्छिन् । उनका बुवा गाउँले केटाहरु बटुलेर कोम्फु सिकाउँथे। हेमा दाजुहरुको सिको गरेर लात्ता उचाल्ने र हात झड्काल्ने गर्थिन्। उनको रुची देखेर बुवाले कराँते सिकाए । उनले राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरुमा पनि प्रतिस्पर्धा गरिन् । थुप्रै मेडल जितिन् ।
हेमाका बुवाले छोरीलाई खेलाडी बनाउन होइन परिआउँदा हात खुट्टा उठाउन सक्ने हुनुपर्छ भनेर कराँते सिकाएका थिए। तर त्यस्ता बुझ्झकी बुवाबाटै एक समय उनकी आमाले हिंसा सहनु पर्यो। ‘घरमा दिनहुँ झगडा हुन्थ्यो ।’ टोलछिमेकका लागि यस्ता घटना सामान्य थियो । किनकी टोलमा मदिराले मातेका केटाहरु श्रीमतिमाथि दिनहुँ हातपात गर्थे। त्यसको विरुद्धमा आवाज उठाउने र लड्ने सामर्थ्य आमा काकीहरूसँग थिएन।
हेमा सानैदेखि दृढ स्वभावकी थिइन् । बुवाले लड्न सिकाएका थिए । तर आफ्नै बाबुहरु विरूद्वको आमा काकीहरूको यो लडाईंमा कसरी साथ दिनु ! यो लडाईं लात्ता बजारेर जित्न सकिन्न भन्ने हेक्का थियो हेमालाई । त्यसैले आफ्नै घरपरिवार र टोल छिमेकको भोगाईमा आधारित नाटक लेखेर चाडवाडको छेको पारी गाउँमा सडक नाटक देखाइन् । नाटकले महिलाहरुको त मन छोयो नै पुरुषहरुलाई पनि जोरले धक्का लाग्यो । यो एउटा नाटकले उनको बुवाले मात्र होइन गाउँका केही युवाहरुले मदिरा छोडे ।
त्यस यता हेमाको जिन्दगीमा धेरै उतारचढाव आए । लामो जिन्दगीको कथा छोट्टोमा - १२ कक्षासम्म पढिन् । विहे भयो । कमाउन मुग्लान पसेका श्रीमानसँगै भारत गइन् । दुवैले एउटा पार्कमा बच्चाहरुलाई कराँते सिकाउने काम गरे । कमाइ राम्रै थियो । कमैया मुक्तिको घोषणासँगै सरकारले दिएको एक टुक्रा जमिनमा पक्की घरको जग हाले । तर कोरोनाले आम्दानीको जगै भत्कादियो। भारतमा ८ वर्ष बसेपनि त्यो ठाउँ कहिल्यै आफ्नो भएन । कोरोनामा गरिखान गाह्रो भएपछि ‘जे त होला’ आफ्नै देशमा गरिखाने भनेर हेमा छोरी लिएर गाउँ फर्किइन्। गाउँ समाज उनले छोडेभन्दा धेरै फरक थिएन ।
गाउँ फर्किएपछि के गर्ने ?
त्यहीबेला सामुदायिक प्रशिक्षकका लागि आवेदन खुला गरिएको रहेछ । फाराम भरिन्, लिखित, अन्तर्वार्ता सबै चरण पार गर्दै अन्नत: उनी सहकर्मी समाजको सामुदायिक प्रशिक्षकमा छनोट भइन् । तालिम कडा थियो । गाउँ समुदायमा काम गर्ने विभिन्न काइदाबारे यही तालिमले उनलाई सिकायो । अब पालो थियो आफूले सिकेको कुरा आफ्नै टोलसमाजसम्म पुर्याउने ।
सुरूसुरूमा त हेमालाई अप्ठ्यारो लागेको थियो । छिमेकी मुलुकका पार्कहरूमा केटाकेटीलाई कराँते सिकाइरहँदा कुनै दिन गाउँ फर्केर यस्तो काम गर्छु भन्ने उनले सोचेकै थिइनन् । हेमा धेरै वर्ष गाउँसमाजबाट टाढा थिइन् । त्यसैले आफ्नै गाउँ ठाउँ उनको लागि नौलो थियो । आफ्नै आँगन बाहिरको संसार बिरानो थियो । वल्लो पल्लो गाउँका मान्छेसँग खासै बोलचाल थिएन। घुलमिल थिएन । उनको परिचय श्रीमानको नामसँग जोडिएको थियो - ‘फलानोकी जहान फलानोको बुहारी वा भाउजू भनेपछि मात्र टोल छिमेकले चिन्थे।’ आफ्नै परिचय दिनु पर्दा पनि गाउँका चल्तापुर्जा देवरको नामबाट आफुलाई चिनाउँथिन् । उनलाई आफ्नै नाम फिक्का लाग्थ्यो।
तर किशोरी छँदा रहरैरहरमा सडक नाटक गरेर आफूले ल्याएको सानो परिवर्तनको कथा हेमाको मनमा गढेर बसेको थियो । समाज परिवर्तनका लागि इमान्दार भएर काम गरे राम्रै प्रभाव पार्न सकिन्छ भन्ने कुरा उनले आफ्नै अनुभवबाट सिकेकी थिइन् ।
सामुदायिक प्रशिक्षक भएर गाउँ गाउँ पुग्दा उनले गर्ने पहिलो काम हुन्थ्यो टोल विकास संस्था बनाउने । ‘सुरुमा मान्छेहरुलाई संगठित बनाउनै गाह्रो । मान्छेहरुले पनि पत्याएनन् । कस्ता कस्ता नेताले त केही गर्न सकेनन् तिमीले के गरौली र भन्थे !’
आफ्नो काँधमा आएको नयाँ जिम्मेवारीबाट हेमा अलिकति पनि हच्किइनन् । गाउँठाउँमा घुलमिल हुँदै गएपछि हेमाले समाजको समस्या अझै राम्रोसँग बुझिन् ।
‘हामी आफ्नै घर अगाडिको खाल्टोमा दुई बोरा माटो हाल्न सक्दैनौं तर सरकारले बाटो बनाएन भनेर गनगन गर्छौं ।आफ्नै वरपरका झाडीहरु सफा गर्दैनौं अनि लामखुट्टेले टोकेर बिरामी हुन्छौं ।’ आफ्नो समुदायका लागि के आवश्यक छ भनेर कहिल्यै छलफल नगर्ने तर सरकारले गरिदिएन भनेर गुनासो मात्रै गर्ने।’ समाजको यो चरित्र बुझेपछि हेमालाई काम गर्न झनै सजिलो भयो । सधैँ गुनासो मात्रै गरिरहने कि परिवर्तनको सुरुवात आफैबाट गर्ने ! हेमा यही सन्देश बोकेर समुदायमा गठन भएका टोल विकास संस्था र आमा समूहहरुसम्म पुगिन् ।
घरघरै पुगेर सुख र दुख दुबैको साझेदार बनिन्। घर झगडा, हिंसा, पिडा र वेदनाले मन भक्कानिँदा अनि टाउको गरुङ्गो हुँदा सम्झना आउने ओखति बनिन्। उनी महिलाहरुलाई पीडा पर्दा टाउको अड्याउने आड मात्र बन्दिनन्। कानून र अधिकारबारे पनि सम्झाउँछिन् । आफ्नो अधिकार प्राप्तीको लडाई लड्न ढाडस दिन्छिन्। गाउँसमाजमा आइपर्ने हरेक नयाँ समस्या उनका लागि नयाँ सिकाइ हुन्छ ।
व्यक्तिका मात्र होइन टोल छिमेकका साना साना समस्यामा छलफल चलाएर समुदायबाटै समाधान खोज्न सघाउँछिन्। आफ्नो आवश्यकता छनोट गरेर वडामा विकास मागे पो हामीले भनेजस्तो विकास हुन्छ भनेर उनले टोल विकास संस्थाका सदस्यहरुलाई सम्झाइ बुझाइ गर्छिन् । आफू सहभागी भएर, आफैले माग गरेर बनाएको बाटो, धारो, स्कूलको यसै पनि माया लाग्ने रैछ । यो कुरा गाउँलेलाई बुझाउन समय लाग्यो । तर जब यो कुरा गाउँलेले बुझे अहिले बजेट छलफल र योजना छनोटका बेला साह्रा गाउँ नगरपालिकामा भेला हुन्छ । ‘अहिले त पुरूष मात्र हैन महिला पनि यस्ता छलफलमा आएको देख्छु । राम्रो लाग्छ’ - हेमा भन्छिन् ।
टोल विकास संस्थाका सदस्यहरु मिलेर अघिल्लो हप्ता टोलसफाइ गरे । आफ्नो टोलको लागि छुट्याएको बजेट कता खर्च गर्ने भनेर सल्लाहमै सहमती गरे । प्राथमिकतामा स्कूलको भत्किन लागेको पर्खाल पर्यो । हालसालै गाउँलेहरुले सधैँ ट्र्याक्टर फसिरहने गाउँको मूलबाटो बनाउन श्रमदान गरे र आगामी योजनामा यही बाटोको स्तरोन्नतीको लागि आग्रह गर्ने निर्णय गरे । गाउँघरमा हुने यस्ता साना ठूला काममा हेमा सधैँ सहयोगी बनिन् ।
समुदायको यस्तो सहभागिताले स्थानीय सरकारलाई थप जिम्मेवार बनाउन सघाएको छ भने विकास निर्माणका काम थप प्रभावकारी बन्न थालेको उनको अनुभव छ । स्थानीय सरकार, टोलका बडघर र नागरिकबीच सम्बन्ध सेतुको काम गर्दा सबैको स्याबासी हेमाको भागमा परिरहेको छ। शक्तिनगरका बडघर रामबहादुर थारु हेमाले गर्दा बडघरको काम सजिलो भएको सुनाउँछन् । उनी हेमालाई गाउँकै अगुवा मान्छन् । उनी भन्छन् - ‘गाउँमा केही समस्या पर्यो भने हामी उहाँसँगै सल्लाह लिन्छौं । यहाँ धेरै पढेलेखेका मान्छे छैनन् । सरकारी मान्छेहरुसँग कसरी कुरा गर्ने हामीलाई आउँदैन । उहाँले राम्रोसँग हाम्रो कुरा राख्नुहुन्छ । हेमा जीले बडघरको काम धेरै सजिलो बनाइदिनुभएको छ’ ।
वडा र नगरपालिकाका मान्छेहरुले समेत ‘हेमा म्याडम’ भनेर बोलाउँदा हेमा आफैमाथि गर्ब गर्छिन् - कतिपयले त आउने चुनावमा वडाध्यक्ष नै बन्नुपर्छ पनि भन्नुहुन्छ । तर मलाई राजनीति गरूम् भन्ने चाहिँ लाग्दैन ।’ यो सबै माया र प्रशंशाको जस उनी सामुदायिक प्रशिक्षकको जिम्मेवारीलाई दिन्छिन्।
(यो श्रृंखला अष्ट्रेलियन सरकार वैदेशिक मामिला तथा व्यापार विभागको द एशिया फाउण्डेसन नेपालसँगको साझेदारीमा सञ्चालित स्थानीय सरकार सबलीकरण कार्यक्रमको “नेतृत्वमा महिला” पहल अन्तर्गत पर्दछ।)
तपाईको प्रतिक्रिया