बाजुरामा नुन किन्न वडाको सिफारिस अनिवार्य

मंगलबार पौष २३, २०८१/ Tuesday 01-07-25
Paschim Today

बाजुराः बाजुरामा नुन किन्न वडाको सिफारिस अनिवार्य गरिएको छ।

जिल्लामा आवश्यक भन्दा बढी नुन प्रयोग हुन थालेपछि नागरिकहरुलाई वडाको सिफारिस अनिवार्य गरिएको हो। नागरिकताका आधारमा सहुलियतको नुन उपलब्ध गराउने गरिएकोमा सो नुन जिल्लाबाहिर पठाउने गरिएको पाईएपछि वडाको सिफारिस लिन थालिएको साल्ट ट्रेडिङ बाजुराका कार्यालय प्रमुख टेक बोहराले जानकारी दिए।

उनका अनुसार नुन धेरै मात्रामा खपत हुन थालेपछि जिल्ला प्रशासन कार्यालयको मातहतमा सर्वपक्षीय बैठक बसेर २०८१ मङ्सिरदेखि नुन लिन वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको हो। बाजुराको मार्तडी, कोल्टी, मौरै, कवाडी नुन डिपो र डोगडी, गौमूल, धुलाचौर र बेर्मा अस्थायी वितरण केन्द्रबाट सहुलियतको नुन वितरण भइरहेको छ।

नेपाल सरकार जनस्वास्थ्य मन्त्रालयमार्फत सरकारद्वारा घोषित दुर्गम तथा पिछडिएका जिल्ला बाजुरा, अछाम, बझाङ, हुम्ला, मुगु, कालीकोट, डोल्पा, जुम्ला र जाजरकोटमा सहुलियतमा प्रतिकेजी नौ रुपैयाँका दरले नुन बिक्री हुने गरेको छ। नुनको बजारमूल्य २५ रुपैयाँ छ।