अमेरिकामा संघर्षकी पर्याय बिजया

मंगलबार पौष २३, २०८१/ Tuesday 01-07-25
दीर्घराज उपाध्याय

सफलताका कथा बेचिने समाजमा भूइमान्छेका संघर्षका कथाहरु बिरलै चर्चामा आउछन् । नेपालबाट हेर्दा सपनाको देश अमेरिकामा पुग्नेहरु भाग्यमानी हुन् । बर्तमान र भविश्यको चिन्तामा त्यही अमेरिकामा आफ्नै सपनाको मुन्तिर थिचिएर कतिखेर को डिप्रेशनमा  पुग्छ थाहै हुन्न । जसले आफूलाई बलियो बनाउन सक्यो । र, बलियो हुन सिक्यो, उ डिप्रेशनबाट बाहिर निस्किन्छ । बाँकीको जिन्दगी त्यही डिप्रेशन बनिदिन्छ ।

तिनैमध्ये एक हुन्, बिजया गिरी । सफलताको मानक घर, ग्याँस स्टेशन, रेष्टुरेण्टको संख्यालाई मान्ने हो भने उनी त्यसभित्र पर्दैनन । उनले बाँचेको समय र त्यही सपनाको देशमा उनले फेरेको सास अरुभन्दा भिन्न छ । सास कसरी फरक हुन सक्छ ? हो, मान्छेको जीवन र उसले बाँचेको समयमा मान्छेहरुले फेर्ने सास पनि फरक हुन्छ । उसले कस्तो जिन्दगी बाँच्यो ? बैभवपूर्ण वा संघर्षपूर्ण ? कठिन वा सहज ? सकसपूर्ण वा शान्त ? बैभवपूर्ण बाँच्नेहरुले चैनले सास फेर्न पाउछन् । संघर्षपूर्ण जिन्दगी जिउनेहरुले सास पनि रोकेर फेर्ने गर्छन ।

लामो सुस्केरापछि उनले सुनाईन, सुखको खोजीमा अमेरिका पुग्नेहरु, जीवनभरी त्यसैकै मुन्तिर थिचिएर बाँच्छन् । सबै चिज छोडेर सुखको खोजीमा अमेरिका भासिएको २३ वर्ष बितेको पत्तै भएन । जीवनका उर्वर समय त्यही खोजमा बिताईन । यो अवधिमा उनले थुप्रै अनुभव बटुलिन । संगतले मान्छे चिनिन्छ । उनले मान्छेहरु चिनिन् । भन्छिन्, शिखरमा पुगेपछि भूइ बिर्सिनेहरु कति भेटे, भेटे ।

उच्च ओहोदा र आलिशान महलमा पुगेपछि कतिपयलाई लाग्छ, अव मलाई कोही चाहिदैन । तर उसलाई कतिले सम्झिए त्यो त मृत्युमा मलामी कति आए, त्यसले निर्धारण गर्छ ।

‘पैसा कमाउने चक्करमा मलामी गुमाउनेहरुलाई लाग्दो हो, मरेपछि कोही किन चाहियो ? बाचुञ्जेल पैसाले म सबैचिज प्राप्त गर्न सक्छु ।’ पैसा कमाएपछि सबैचिज बिर्सिनेहरुप्रतिको उनको धारणा हो यो ।

उनको अनुभवले भन्छ, व्यवसायी भएपछि मित्र मित्र रहदैन । व्यवसायी मात्र हुन्छ । सायद व्यापार नै उसको धर्म हो । । र त, उ सम्बन्धमा पनि नाफा र घाटा हेर्छ ।

उनले हिडेको बाटो, बाँचेको जीवन र संगालेका अनुभव कुनै विश्वविद्यालयको कोर्षमा पढ्न पाईदैन् । तर उनको त्यो ज्ञान र अनुभवले सिकाउछ, बाँच्ने उपाय । जसले चिनाउछ, मान्छे । जसले देखाउछ, बाटो । जसले सिकाउछ, समस्यासंग जुध्न ।

उनी आफ्नैसंग जुधिन् । आफ्ना भनिनेहरुसंग जुधिन् । र, जुधिन् समयसंगै । सायद उनी बिचलित भएकी भए, आज उभिईरहने अवस्थामा हुने थिईनन् । उनी गलिनन् । गलेकी भए आज रहने थिईनन् । समाजले महिलालाई गलत देखाउछ । उनले त्यसको हिसाव गरिनन् । को गलत ? को सही ? बस्, आफ्नो बाटो हिडिरहिन् ।

बिजया गिरी पोखराको मालेपाटनमा जन्मिईन । त्यहीको प्राथमिक विद्यालयमा कखरा सिकिन् । बाराही माध्यमिक विद्यालयबाट एसएलसी पास भईन् । त्यसपछि पृथ्वी नारायण क्याम्पस पढिन् । बैंकमा काम गर्ने सोच थियो । पढिन्  शिक्षा । भईन शिक्षिका ।

उनी दुई भाईकी जेठी दिदी थिईन् । १९ वर्षमा बैबाहिक बन्धनमा बाँधिईन । उनका पतिको पोखरा लेकसाईडमा ट्राभल एजेन्सी थियो । बिबाहपछि बिजया पतिसंगै ट्राभल एजेन्सीमा काम गर्न थालिन् । मुलुकमा माओवादी द्वन्द्व उत्कर्षमा थियो । देशै प्रभावित थियो, द्वन्द्वले । उनको व्यवसाय पनि प्रभावित गयो । ऋण लाग्यो । पैसा फस्यो । उठ्नु पर्ने पैसा उठेन । दिनु पर्ने पैसा नदिई सुख थिएन । घरसल्लाहमा उनका पतिले जापान जाने निधो गरे । त्यतिबेला नेपालबाट जापान जाने टे«न्ड चलेको थियो । संयोगले भिसा त्यही बेला अमेरिकाको भीसा लाग्यो । र पुगे, १९९८ मा उनका पति अमेरिका । त्यसको एक वर्षपछि उनी अमेरिका   आईन् ।

उनका अमेरिकन साथी, जो स्वामी बिबेकान्दको अनुयायी थिए । तिनै साथीले पठाएको निमन्त्रणमा लसएञ्जन्लन्समा एउटा कार्यक्रम सहभागी हुन उनी पहिलो पटक अमेरिकी आईपुगेकी थिईन् । छ महिनाको भीसा लागेको थियो । तीन महिना बसिन् । घुमिन् । र, नेपाल फर्किइन् ।

दोस्रो पटक, २००२ मा अमेरिका आईन । गन्तव्य थियो, मिलुवाकी । मिलुवाकीमा कठ्यांग्रिदो जाडो थियो । बाहिर निस्कनै मुस्किल । क्यालिफोर्नियाको साथीले पञ्जा, बुट र ज्याकेट पठाई दियो, भन्छिन्, जसले बाँच्न सहज भएको थियो ।

उनी अमेरिकामै बस्ने मुडमा थिईन् । ‘डोर टु डोर’ काम खोज्न गईन । प्रत्येक ग्याँस स्टेशनमा गएर कार्ड छोडेर आईन् । केही ठाउँबाट कामको अफर पनि आयो । तर जहाँबाट कामको अफर आयो, त्यो अत्यन्त डर लाग्दो ठाउँ थियो ।

एक्लै बाहिर निस्किन जोखिम । प्रहरीले उनीलाई कैयौ पटक कोठासम्म सुरक्षित पु¥याईदिएको सम्झना ताजै छ । त्यसपछि उनले काम छोडिन् ।

मिलुवाकीमा बुटवलको एक जना दाई भेट्दा भगवान भेटे जस्तो लाग्यो । उहाँले पिडालुको साग र भात दिनुभयो । भन्छिन्, पाँच दिनसम्म भात खान नपाएकी मलाई त्यही भातको नशा लाग्यो । यस्तो लाग्यो जिब्रोले वर्षौपछि भातको स्वाद पायो ।

परदेशमा पो देशको महत्व र माया थाह हुदो रहेछ, उनले सुनाईन, नेपाली देखेपछि बोलु बोलु लाग्ने । भारतीय स्टोर देख्दा खुशी लाग्ने । नेपाली झै भारतीय पनि आफ्नै दाजुभाई लाग्ने ।

नेपालमा छोरा भर्खरै स्कुल जादै थियो । कुखुराको मासु देखे उनलाई लाग्थ्यो–छोराले खान्थ्यो । अमेरिकाभन्दा उनलाई छोरा महत्वपूर्ण लाग्यो । पाँच महिना बसेर नेपाल फकिईन् ।

तेस्रो पटक २००३ जुनमा पाँच वर्षको छोरा सहित उनी अमेरिकाको शिकागो आईन् । त्यहाँबाट फेरि मिलुवाकी पुगिन्, उनका पति त्यही बस्थे । त्यसपछि उनी नेपाल फर्किईनन् ।

तेस्रो पटक आउदा उनलाई काम पाउन सजिलो भयो । कतिपय साथीहरु स्टोरका मालिक भईसकेका थिए । शुरुमा प्रति घण्टाको पाँच डलर मिल्यो । साहूँ उनको कामबाट प्रभावित भए । एक हप्तामै उनले प्रति घण्टाको पाँच डलर २५ सेण्ट पाउन थालिन्। एक महिनामा त्यसमा पनि बृद्धि भयो, र पाउन थालि प्रतिघण्टाको पाँच डलर ५० सेण्ट । तीन महिनापछि प्रति घण्टा सात डलर भयो । अरुले भन्थे, ओहो ! सात डलर । त्यो त्यतिबेलाको सबैभन्दा बढि पारिश्रमिक थियो । पछि भने त्यही पारिश्रमिकमा झण्डै १० वर्ष काम गर्नु प¥यो ।

उनले कागजी प्रकृयाको लामो पर्खाई झेलिन । तर बिचलित भईनन् । त्यही कारण १३ वर्षसम्म नेपाल फर्किन पाईनन् । अमेरिकाको बसाई बीट मारेर फर्किने तयारीमा थिईन् ।  नसोचेको कागजपत्र एक दिन आईपुग्यो । भन्छिन्, अमेरिकामा नसोचेको भईदिन्छ । सोचेको हुदैन ।

बिजया त एउटा प्रतिनिधि पात्र हुन् । अमेरिका भासिएका नेपालीहरुको कथाव्यथा र संघर्ष उस्तै छन् ।

कैयौंको जीवन कानूनी प्रकृया र कागजपत्रको आसैआसमा बित्छ । कागजपत्र नबन्ने । बनेपनि समय लाग्ने । झण्डैं दुई दशकसम्म कागजपत्र नबनेकाहरु सयौं छन् । उनीहरु न त नेपाल फर्किन सकेका छन् । न त त्यहाँ खुलेर बाँच्न पाएका छन् ।

कागजपत्र नहुदा काम पाईदैन । काम मिल्दा पारिश्रमिक राम्रो पाईदैन । कागजपत्र नभएको व्यक्तिलाई व्यवसायीले उचित ज्याला दिदैनन । आफूले कमाएको पैसा बैंकमा राख्न पाउदैनन् । कागजपत्र नभएकाहरुको यो साझा पीडा हो ।

जेठो छोरा नेपालमै जन्मिएको थियो । उसलाई पाँच वर्षको हुदा बोकेर ल्याएकी थिईन । अर्को छोरा २००५ मा मिलुवाकीमा जन्मियो । उनलाई हेल्थ केयर सिष्टम थाह थिएन । जानकारी दिने कोही नेपाली थिएनन । गर्भावस्थाको सबै उपचार निःशुल्क हुँदो रहेछ । प्रसुती सेवाको ४५ हजार डलर बील आएको थियो । त्यति ठूलो रकम तिर्न सक्ने अवस्था थिएन । स्टेटले तिरिदियो । भन्छिन्, थाह नपाउनु जस्तो संसारमा अर्को दुःख केही हुदो रहेनछ ।

सपनाको देशमा आफ्नै सपनाको मुन्तिर थिचिनु त भएन ? तिनै सपना भारी त भएनन ? सपना र तपाईसंगै हिड्नु भयो कि अलग अलग ? नदीका किनार जस्ता ? संगै छन्, संगै छैनन ? अमेरिकामा प्रेम, सपना र रहरहरु मर्छन कि संगै बाँच्छन ? यो पंक्तिकारले एकैसाथ यस्ता तमाम प्रश्नहरु गर्दा उनी घोरिईन, एकछिन चूप भईन् । मौनता तोड्दै भनिन्, सुखका लागि अमेरिका आएकाहरुको जिन्दगी त्यही सुखको आस आसैमा बित्छ ।

उनको अमेरिका आउनुको उद्देश्य थियो–पैसा कमाएर ऋण तिर्ने । र अर्को सपना थियो, नेपालमा एउटा घर बनाउने । जग्गा जोडिन् । घर बनाउने सपना अझै अधुरो छ । दुई छोरालाई हुकाईन । पढाईन । उनको अमेरिका बसाईको उपलब्धी यही हो ।

मान्छे खुशीको खोजीमा भौतारिन्छ । कहाँ पुगे, के होला ? उनी पनि त्यही आसले अमेरिका पुगिन । अमेरिकाबाट नेपाल फर्किदा लाग्छ, नेपाल बस्न पाए, हुन्थ्यो । तर नेपालीहरुको एउटै सपना छ–अमेरिका आउने ।

यहाँ त नाता, सम्बन्ध सबै बनावटी लाग्छन्, भन्छिन्,सामाजिक जीवन र सम्बन्धको महत्व नेपालमै छ । उनको बुझाईमा अमेरिका दलदल हो । यहाँ आएपछि सबै त्यसमा फस्छन् । ‘खुशी त परेको कुरा’, भन्छिन्, ‘गाडी र घरको किस्ता तिर्दैमा जिन्दगी बित्छ ।’

शरीर यहाँ । मन नेपालमा । चिन्ता नेपालकै । उनी पनि यही जीवन बाँचिरहेकी छन् । उनी भन्छिन्, नेपाली दुःखी छन् त यही कारण ।

जीवनको आधा बाटो हिडिन । भोलि कसले देखेको छ ? उनलाई बाँकी जीवन त्यही बिताउन मन छ, जहाँ बालापन बित्यो । फर्किन मन छ, तिनै डाँडापाखामा । सबचिज छोडेर यतै अमेरिकामा, हराउन मन छ स्वदेशमा सेवा र अध्यात्ममा । यो चेत त्यसै आएको होईन उनमा । अमेरिकाको सबै सुख सुबिधा भोगेर पनि खुशी नमिल्दो रहेछ । उनको भोगाईले भन्यो, भौतिक सुबिधा केही होईन रहेछ ।

उनी धर्ममा विश्वास गर्छिन । त्योभन्दा बढि कर्ममा । कर्म र सेवालाई उनी धर्म मान्छिन् । र त, जीवनमा कर्म गर्न कहिल्यै संकोच मानिनन् । उनले अमेरिका आएपछि नगरेको काम केही छैन । जुन काम पुरुषले गर्न कठिन ठान्थे । उनले त्यही काम पनि गरिन् । ग्याँस स्टेशनमा काम गरिन् । उवर चलाईन् । हाउस क्लिनिङको गरिनन् । बिगतमा लामो समयदेखि मिलुवाकीमा रेष्टुरेण्टमा काम गरिरहेकी छन् ।

समाजले के भन्छ ? त्यसको उनलाई छु मतलव । बस्, कर्म गरिरहिन् । समाज त महिला प्रति कहिले सहिष्णु र उदार रह्यो ? महिलाले लाएको र खाएको समाजले कहाँ देख्न सकेको छ ?

एकथरीले भन्छन्, अमेरिका पुगेको पुरुष स्वदेश फर्किन चाहन्छ । तर महिलाले फर्किन दिन्नन । त्यसको कारण,समानता र स्वतन्त्रता खोजेको दिन सम्बन्धमा तितोपना आउन सक्छ । जुन दिन महिलाहरुले सहन छोडे, त्यो दिन सम्बन्ध बिच्छेद छ । आर्थिक समानता छ । तर अरु स्वतन्त्रता छैन । सामाजिक मूल्य र मान्यताले महिलाहरु पीडा सहेर बसेका छन् । ममता भट्ट काफ्ले त्यसको उदाहरण हुन्, भन्छिन्, यसको अर्थ छोरा मान्छे पीडित छैन भन्ने होईन ।

अमेरिकामा सबै महिलाले स्वतन्त्रताको उपभोग गर्न नपाएको उनको बुझाई छ । यहाँ महिलाहरुलाई स्वतन्त्रता छ पनि, छैन पनि, भन्छिन्, परिवारको सोचमा भर पर्छ महिलाको स्वतन्त्रता । स्वतन्त्रता खोजेको दिन महिला र पुरुषको सम्बन्ध नै रहदैन ।
अमेरिका आएपनि सोच उही, संस्कार उही । पाईन्ट र मिनिस्कर्ट लगाउदैमा कहाँ हुन्छ ? यहाँ आएपनि महिलाहरुले महिनावारी बारेकै छन् । तिजमा निराहार ब्रत बसेकै छन् ।

आमाले भाईहरुलाई कहिल्यै खाना पकाउन सिकाउनु भएन । सासुआमाले श्रीमानलाई सिकाएन । पुरुषहरु त्यही सोच बोकेर यहाँ आउछन् । महिलाहरुले यहाँ आएर पनि चुलोचौको त सम्हाल्छन् नै । बाहिरको काम पनि गर्नुपर्छ, उनी भन्छिन्, पुरुष एक्लैले काम गरेर जीविका चल्दैन । महिलाले पनि काम गर्नैपर्छ ।

उनी महिलाहरुलाई नेपालबाट आउदा सीप सिकेर आउन सुझ्याउछिन । जसको हातमा सीप छ, भन्छिन्, अमेरिकामा त्यसैको जीवन सहज छ ।

नेपालको पद, शान, सम्मान सम्झिनेहरु यहाँ दुःखी हुन्छन् । यहाँ ती पदको कुनै अर्थ हुदैन । कामको अर्थ हुन्छ । नेपालबाट आउनेहरुलाई जस्तोसुकै काम गर्न सक्छु भन्ने सोच बनाएर आउन उनी सुझाव दिन्छिन्, भन्छिन्, नत्र मान्छे डिप्रेशनमा जान्छ ।

नेपालबाट प्लस टु पढेर आउने विद्यार्थीहरुले निकै कठिनाई झेल्नु परिरहेको उनले नजिकबाट देखेकी छन् । कतिपय संगतले बिग्रिएका पनि आँखाले देखेकी छन् । नेपालमा जति कमाउने अभिभावक भएपनि अमेरिकाको विश्वविद्यालयको खर्च थेग्न नसक्ने उनी सुनाउछिन् । यहाँ विद्यार्थीले काम गरेर पढाईको खर्च जुटाउन मुस्किल हुन्छ । कलेज पढ्ने विद्यार्थीले २० घण्टाभन्दा बढि काम गर्न पाउदैनन । त्यति घण्टा काम गरेर विद्यार्थीले रकम जोगाउनै सक्दैन, अभिभावकहरुलाई उनको सुझाव छ, खर्च धान्न सक्ने अवस्था छ भने मात्र सन्तान पठाउनु । कि यता सहयोग गर्ने नजिकको मान्छे भए पठाउनु ।

अमेरिकाको भीसा लाग्दा मिल्ने खुशी धेरै दिन टेक्दैन । प्लस टु पास गरेका विद्यार्थीहरु मानसिक रुपमा परिपक्व भएका हुदैनन । यहाँ काम नगरी बाँच्न कठिन हुन्छ, गिरी भन्छिन्, अमेरिकाको सपना देखेर आएका विद्यार्थीहरु नेपाली धरातमा बाँच्न खोज्दा सन्तुलन बिग्रिन्छ ।

सकभर अमेरिकामा मास्टर्स गर्न सन्तानहरु पठाउनु, अभिभावकहरुलाई उनको अर्को सुझाव छ, कि यहाँ आएपछि गर्नुपर्ने संघर्ष र दुःखका बारेमा जानकारी दिएर पठाउनु । देखासिकी र रहरमा अमेरिका सन्तानहरु पठाएर अभिभावकहरुले आफ्नै सन्तानको भविश्यमाथि खेलवाड गरिरहेका छन् ।

उनका यी टिप्सहरु अमेरिकामा आउने हरेक व्यक्तिका लागि अत्यन्तै उपयोगी छन् । जुन निमाका गेस पेपर वा कुनै गाईड बुकमा भेटिदैनन् । परीक्षामा पास हुनु सजिलो छ । जीवन त्यति सजिलो कहाँ छ र ?

अमेरिकामा आफ्नोपन छैन । यहाँको माटो, पानी र धरातलले मान्छेलाई स्वार्थी बनाउछ । सम्बन्ध र प्रियजनहरु गुमाएर मान्छेले पाउने आईफोन र टेस्ला हो । एक वर्षपछि त त्यही आईफोन पनि पुरानो हुन्छ । र, त्योसंग पनि मोहभंग हुन्छ ।

भन्नलाई सबैले भन्छन्, सन्तानको सुखद भविश्यका लागि यहाँ बसेको छु । तर जसको भविश्यका लागि यहाँ बसेको छु, भन्छन्, चाहिएको बेला तीनै छोरा छोरी साथमा हुदैनन् । बस्, एक्लोपन आफ्नो हुन्छ ।

उनको मनमा स्थायी मुकाम बनाएर नेपाल बसेको छ । तर उनले भने अमेरिकालाई स्थायीमुकाम बनाईन् । समय यसरी बित्यो थाहै भएन । हेर्दा हेर्दै अमेरिका स्थायी मुकाम भएको पनि २१ वर्ष भएछ, उनी नोष्टाल्जिक हुन्छिन्, अव बढिमा १० वर्ष बस्छु । अनि फर्किन्छु आफ्नै जन्मभूमि । त्यो दिन कहिले आउला पर्खेर बसेकी छु ।