सरकार बिपीन जोशीको परिवारलाई कति रुवाउछौ ?

बुधबार पौष २४, २०८१/ Wednesday 01-08-25
Paschim Today

७अक्टोवर २०२२ मा ईजरायलबाट हमासले अपहरण गरी बेपत्ता पारेका विपिन जोशीका परिवारका आँखा त्यसयता ओभाएका छैनन् ।

कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयमा कृषिविज्ञानका विद्यार्थी हुन्। उनी इजरेल र नेपाल सरकारबीचको सम्झौताअनुसार कृषिविज्ञानका विद्यार्थीलाई पठाइने ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अरू विद्यार्थीसँगै इजरेल गएका थिए। उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए।

कृषि फर्ममा कार्यरत १७ नेपाली विद्यार्थीमध्ये १० जना हमासको आक्रमणमा परेर मृत्यु भएको थियो। अरू चार जना घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए। अन्य दुईजना भने सकुशल थिए। त्यसयता उनको परिवार विपिनको बाटो कुरी बसेका छन् ।

बेलाबेला विपिन जीवितै रहेको कुटनीतिक नियोगका अधिकारी र सरकारका आधिकारिक व्यक्तिहरुले अभिव्यक्ति दिदा उनका परिवारजन उत्साही हुन्छन्, परिवारजनलाई लाग्छ, कतिखेर टुप्लुक्क आँगनमा आईपुग्छन्, विपिन ।

समाचार हेर्नु र त्यसैमा भर पर्नु बाहेक परिवाजनसंग अरु कुनै उपाय छैन । जहाँ सरकार निरुपाय छ । त्यहाँ एउटा निरीह परिवारले आफ्नो प्रियजनको उद्दार र खोजीका लागि के नै गर्न सक्छ ?

तर सरकारमा बस्नेहरु कति ढल्का ढंगले प्रस्तुत हुन्छन्, कहिले भन्छन्, विपिन जीवितै छन् । उनको उद्दार गर्छौ ।

कहिले त्यही सरकारका प्रतिनिधि भन्छन्, हमासले मुक्त गर्न भनिएकाको सूँचिमा विपिनको नाम छैन ।

आफू राजदूत भए ईजरायल र प्यालेष्ट्रायनको युद्ध रोक्छु भन्ने अभिव्यक्ति दिएर राजदूतको सुनुवाईका क्रममा रमाईलोका पात्र बनेका धन प्रसाद पण्डितले पछिल्लो पटक मिडियालाई भनिदिए, हमासले मुक्त गर्न भनिएकाको सूँचिमा विपिनको नाम छैन । राजदूतकै बोली पनि पटक पटक फेरिईएर मिडियामा आउनु दुर्भाग्य हो ।केही समयअघि हमासको कब्जाबाट मुक्त हुने भनिएका ५० जनाको समूहमा जोशी नपर्ने सम्भावना रहेको नेपाली कूटनीतिक अधिकारीहरूले बताएका थिए ।

यसैबीच इजरायलल र कतारस्थित नेपाली राजदूतहरूले मिडियालाई भने, विपिन जोशीको पछिल्लो अवस्थाबारे यथार्थ जानकारी पाउन सकिएको छैन ।

फेरि उनीहरूले “आवश्यक पहल भइरहेको र चाँडै उनी मुक्त हुने” आशामा आफूहरू बसेको बताए ।
पछिल्लो पटक हमासले मुक्त गर्ने भनिएका ३० जनाको सूँचीमा विपिन नरहेको ईजरायलस्थित नेपाली राजदूत पण्डितले बताएका छन् ।

बोल्न किन यति हतार गर्छन त्यो ओहोदामा बसेका मान्छेहरु ? उनीहरुका लागि विपिन संख्या मात्र हुन् सक्छ । उनीहरुलाई लाग्न सक्छ, फगत एक जना त हो भन्ने लाग्न सक्छ । विपिन जस्ता कति नागरिक दिनहूँ बेपत्ता हुन्छन्, हराउछन् ।

तर उनीहरु यो विर्सिन्छन्, विपिन उनको परिवारका लागि सबैथोक हुन् । आशा, खुशी, भरोसा, सपना । सर्वस्व ।

कति बोल्ने ? के बोल्ने ? बोल्दा त्यसको असर कसैको परिवारमा कति पर्छ ? त्यसको हेक्का अलिकति पनि राखेको पाईदैन ।
माने, सरकारले विपिनको सकुशल रिहाईका लागि हरसंभव प्रयत्न र पहलकदमी गरिरहेको छ । सरकारले त्यो विश्वास दिलाउनु पर्ने हो उनको परिवारलाई ।

विपिनका परिवारलाई अझै आस छ, उनी जीवितै छन् । एक दिन अवश्यक उनी घर आईपुग्ने छन् । तर सरकारमा बस्नेहरु किन यति गैर जिम्मेवार भए ? किन बुझ्दैनन्, विपिनका परिवारको भावना ? किन बोल्छन्, जथाभावी ? त्यसले उनको परिवारमा पर्ने मानसिक असरको किन राख्दैनन हेक्का ?

आस गरी बसेका परिवारलाई किन बनाउछन्, निरास । किन रुवाउछन्, पटक पटक उनको परिवारलाई ?

सरकारलाई आग्रह छ, कतारसंग कुरा गर वा हमाससंग । चाहे ईजरायल सरकारलाई सोध । सोधेका कुरा र टुंगा नलागी सकेका तथ्यलाई सार्वजनिक नगर । अव यो पनि भन्न छोडिदेऔ, कि पहल गरिरहेका छौ । परिवारलाई विपिन चाहिएको । त्यो पनि सकुशल ।

सरकारले पनि यस्ता अपुष्ट तथ्य सार्वजनिक गर्ने अधिकारीहरुलाई सजग गरोस । सचेत गरोस । र, त्यतिले नपुगे नसिहत देओस । संवदेनशीलताको ख्याल नगरी बोल्ने छुट कसैलाई छैन । अझ सरकारमा बस्नेलाई त्यो छुट कम्तिमा छैन ।
नवनियुक्त ईजरायली राजदूतले केही साता अघि भनिदिए, विपिन जीवतै रहेको जानकारी पाएका छौ ।

जवसम्म विपिनलाई उद्दार गरी ल्याउदैनौ, यो जानकारीले अर्थ राख्दैन । यो सूचनाले परिवारलाई दिने खुशी क्षणिक हो । विपिनका परिवारलाई पटक पटक रुवाउने काम सरकारले नगरोस ।

विपिनको रिहाई नहुदासम्म कम्तिमा यस्ता अपुष्ट कुरा सरकारले नबोलोस । रिहाई गरेर देखाओस । नतिजा बोलोस । सरकारले बोलिरहनै पर्दैन् ।