समन्वयका सारथी शाह

सफल मान्छेको कथा बेचिने समाजमा असल मान्छेको कथा बिरलै लेखिन्छन् । कथा तिनकै छापिन्छ, जसले जोडेको छ, अथाह सम्पत्ती ? समाजलाई त्यो सम्पत्ती कति काम लाग्यो ? त्यसको सोधीखोजी कसले गरोस ? अझ घर, ग्याँस स्टेशन, स्टोर सफलताको मानक मानिने अमेरिकामा उनी त्यसभित्र पर्दैनन । द एभरेष्ट पोष्टले बिगत चार महिना यता त्यस्ता व्यक्तिहरुका कथा बाहिर ल्याउदै आएको छ, जो अमेरिकामा छन्, तर नेपाल र नेपाली भनेपछि हुरुक्क हुन्छन्, नेपाललाई माया गर्छन, नेपालीलाई सहयोग गर्छन । र, जसको मनमुटुमा अझै जीवित छ, नेपाली पन । अझ प्रवासमा जसले विभिन्न विचार, आस्था र वादभन्दा माथि उठेर विभिन्न समाजलाई जोड्न अहम भूमिका खेलेका छन् । तीनैमध्ये एक हुन्, दमन बिक्रम शाह । जो समन्वयका सारथी हुन् ।
डोटीको जोरायल गाउँपालिका–५ चौकी । तत्कालीन गडसेरा गाउँ पञ्चायत–२ । २०३० भदौ २ गते शनिवार, त्यही चौकीमा जन्मिएका हुन्, शाह । उनी जन्मिदा शाह परिवारमा खुशी छाएको थियो । हिक्मत बहादुर शाह र चन्द्र लक्ष्मी शाहका चार सन्तान । उनी माहिलो । उनीभन्दा जेठी दिदी । उनी पछि एक भाई । एक बहिनी ।
उनी छ महिनाका थिए । बुवाआमा तराई झरे । २०२७ सालमा उनका पिताले मझगाउँमा जमीन लिईसकेका थिए । त्यही उनको स्थायी मुकाम भयो ।
उनले समैजी प्राथमिक विद्यालयमा कखरा सिके । २०३४ सालमा । १ र २ कक्षा शैलेश्वरी मावि बडेहामा पढे । शारदामावि श्रीपुरबाट ३ र ४ कक्षाको पढाई पुरा गरे । खड्क बहादुर सिंह पूर्व गृहमन्त्री थिए । उनका बुवा काठमाण्डौं सिंहलाई भेट्न काठमाण्डौं पुगे । सिंहले छोरालाई पढ्न काठमाण्डौं पढ्न सुझ्याए । छ महिना काठमाण्डौं बसेर फर्किएका बुवाले उनलाई २०३८ साल माघ २० गते पढ्न काठमाण्डौं पठाए । ५ कक्षामा भानुभक्त मेमोरियल आवासीय विद्यालयमा भर्ना भए । त्यहीबाट २०४५ सालमा एसएलसी गरे । १३० जना परीक्षार्थी मध्ये १२८ जना प्रथम श्रेणीमा पास भए । जसमध्ये उनी पनि थिए ।
वर्षदिनमा तीन महिना विद्यालय बन्द हुन्थ्यो । दुई महिना हिउँद । एक महिना दशैं । त्यही लामो विदामा उनी घर आउथे । काठमाण्डौंबाट जहाज चढ्यो । गेटा बिमानस्थलमा झ¥यो । घर नजिकै बिमानस्थल । त्यहाँबाट हिडेरै घर पुग्थे । त्यो समय, उनका दौतरीको साईकल चढ्ने रहर हुन्थ्यो । उनी जहाजमा ओहोर दोहोर गर्थे ।
आकाशवाणी(आवा)बाट घरमा खवर पठाउँथे । कहिलेकाही त उनी घरपुगेपछि आवा पुग्थ्यो । आवामा खवर पठाउदा एक अक्षरको १५ पैसा लाग्थ्यो ।
एसएलसीपछि उनी त्रिचन्द्र क्याम्पसमा आईएस्सी पढ्न थाले । त्यहीबेला २०४६ सालको जनआन्दोलन शुरु भयो । भानोदय, सेन्टीजेभियर, सिद्धार्थ बनस्थली र बुढानिकलकण्ठ पढ्नेहरुलाई लाग्थ्यो, आन्दोलन किन ? त्यहाँ अध्ययनरत विद्यार्थीहरुले त सबै सुविधा पाएका थिए ।
उनको आन्दोलनमा रुचि थिएन् । बानेश्वरमा डेरा गरी बस्थे । रुममेट थिए, भीम । आन्दोलनले पढाई प्रभावित भयो । त्यसपछि उनी धनगढी फर्किए । भीम पढ्न मसुरी गए । उनी लखनऊ । त्यहीबाट ईन्टर गरे । र, स्नातकमा कैलाली बहुुमुखी क्याम्पस भर्ना भए ।
उनी नयाँ थिए । चिन्ने कोही थिएन । सेकेण्ड बेञ्चमा बस्न उनी नमान्ने । पहिलो बेञ्चमा बस्न पुरानाले नदिने । क्याम्पसमा नेविसंघ र अखिलको दवदवा थियो । स्ववियुको निर्वाचन शुरु भयो । उनले कहीबाट टिकट पाएनन । उनी गुममान बाँच्न चाहदैनथे । उनले राप्रविसबाट टिकट लिए । र, सभापतिको उम्मेदवार भए ।
चुनावकै बेला एक उम्मेदवार गायव भए । गायव हुने डम्मर पाण्डेय थिए । । पुनरावेदन अदालतमा मुद्दा प¥यो । अदालतले निर्वाचन स्थगित गरिदियो । केही समयपछि उनी तत्कालीन सांसद टेकबहादुर चोख्यालको हातबाट टीका लगाएर काँग्रेसमा फर्किए । तर त्यसपछि राजनीतिमा भने सक्रिय भएनन ।
उनी फुटवल खेल्थे । अन्नपूर्ण स्पोर्टस क्लव खोले । टुर्नामेण्ट गरे । उनी राम्रो खेलाडी थिए । टुर्नामेण्टमा हाईस्कोरर भए । उनी जहाँपनि नेतृत्व गर्ने । पृथक पहिचान बनाउने । दोस्रो पंक्ति र बेञ्चमा बस्न नरुचाउने ।
२०५५ सालमा बिहा गरे । घरव्यवहार चलाउनु प¥यो । काठमाण्डौं पुगे । युएसएडको आमा मिलन कार्यक्रममा लेखा प्रमुखको जागीरे भए ।
केही समय त्यहाँ काम गरे । जेठानको म्यानपावर कम्पनी थियो । २००४ मा उनी कतार पुगे । अलफरधान र एलजी कम्पनीमा लेखा फाँटमा काम गरे । २००५ मा सुदूर पश्चिम समाज कतार खोले ।
२००७ मा नेपाल फर्के । नेपालमै केही गर्ने सोच थियो । सोचेजस्तो नभएपछि तीन महिनापछि भिजिट भिसामा दुबई पुगे । दुबईको अजमानमा बस्थे । एउटा कम्पनीमा लेखा हेर्थे । २०१० मा घर फर्के । त्यहीबेला डीभी खुलेको थिए । पत्नीसंगै उनले डिभी भरे ।
जुन २०११ मा डिभीको रिजल्ट आयो । तर उनीहरुलाई परेन । दुई दिनपछि नजिता रद्द गरेको सूचना आयो । जुलाई १५ मा नयाँ नतिजा आयो । त्यसमा भने उनकी पत्नीलाई डिभी प¥यो ।
१२ सेप्टेम्बर २०१२ मा उनी अमेरिकाको मेरिल्याण्ड पुगे । उनका सहपाठी अर्जुन हमाल त्यही थिए । हमालले स्पोन्सर लेटर पठाई दिए ।
उनी नेता जस्तै थिए । केही दिन भेटघाटमा बिताए । र, त्यसपछि कामको खोजीमा जुटे । बाल्टिमोरमा एक जना नेताको रेष्टुरेण्ट थियो । त्यहाँ वेटरको जागीर खुलेको थियो । उनी त्यहाँ गए । कामका लागि कुरा भयो । रेष्टुरेण्ट मालिकसंग कुरा मिलेपछि काम गर्न सहमत भए । उनको शर्त थियो–विदेशीलाई सर्व गर्छु । नेपालीलाई गर्दैन ।
नायिक करिश्मा मानन्धर र कलाकार राजबल्लभ कोईराला रेष्टुरेण्टमा आएका थिए । करिश्माले उनलाई भनिन्, भाई मासु ल्याएर आउनु ।
त्यसले उनको ईगो हर्ट भयो । सात दिनमै जागीर छोडे । र, आफ्नो बाटो लागे ।
कहाँ नेपालको जिन्दगी र ईगो ? कहाँ अमेरिका ? अमेरिका त अर्कै रहेछ, उनले काम छोडेर हिडेपछि थाहा पाए । उनी सम्झिन्छन्, नेपालमै छोडेर आउनु पर्ने ईगो बोकेर आएपछि दुःख पाए ।
सानोतिनो काम गर्दा संकोच लाग्ने । अमेरिकामा काम सानोठूलो हुदैन भन्ने थाहा पाउन पनि समय लाग्यो । दुई महिना काम नगरी बसे । काम नहुदा झण्डै डिप्रेसनमा गएका । त्यहीबेला रवी लामिछाने भेटिए । उनले काम दिए । लामिछानेको मातहतमा २०/२२ वटा स्टोर थिए । उनी जनरल म्यानेजर थिए । लामिछानेको एउटा निजी सव–वे थियो ।
उनी सव–वे मा काम गर्न थाले । प्रतिघण्टाको ७ डलर २५ सेन्ट पारिश्रमिक पाउथे । महिनाको १४०० डलरसम्म कमाउथे ।
७/८ महिना त्यहाँ काम गरे । एकदिन मल घुम्न गए । त्यहाँ सरदार भेटिए । मलभित्र उनका तीन वटा कपडा पसल थिए । उनलाई काम दिन आग्रह गरे । सरदारले भने, भोलिदेखि काममा आउनु । उनले भने, हस् । सव–वे मा जति पारिश्रमिक पाउँथे । सरदारले त्यसको दोब्बर दिए । त्यहाँ पाँच वर्ष काम गरे ।
नेता, कलाकार, उच्च ओहोदाको जागीरे धङधङी बोकेर आए दुःख पाईन्छ । उनले त्यो बुझे । काम । काम । अनि काम । उनले ज्ञान पाए, अमेरिकामा जो काम गर्दैन्, त्यसको काम छैन । र त, उनले चुपचाप छ वर्ष काम मात्र गरे । न समाजसेवा । न नेतागिरी ।
कैलालीबाट छिमेकी रमेश भट्टराई डिभी परेर मेरिल्याण्ड आईपुगे । उनी अन्तर्राष्ट्रिय सुदूर पश्चिम समाजमा जोडिएका थिए । भन्छन्, उनीसंगको सल्लाहमा २०१७ मा सुदूर पश्चिम समाज मेरिल्याण्ड गठन ग¥यौ । उनी पहिलो अध्यक्ष भए । भट्टराई महासचिव ।
त्यतिबेलासम्म मेरिल्याण्डमा सुदूरपश्चिमेलीहरुको पहिचान थिएन । छरिएर रहेका सुदूरपश्चिमेलीहरुलाई एकत्रित गर्दै गए । र, समाजलाई सबैको साझा संस्था बनाए । २०१९ मा समाजको पुर्नसंरचना गरे । समाजलाई ५०१ सी अन्तर्गत मुनाफा रहित संस्थाका रुपमा दर्ता गरे ।
उनी कोभिडमा अहोरात्र खटे । ज्यान जोखिममा राखेर नेपालीहरुको सेवा गरे । उपचार, राहत र उद्दारमा सहयोग गरे । जहाँ नेपालीहरु समस्यामा परेको सुने, उनी त्यहाँ पुगिहाल्थे । यही सक्रियता र सेवाभावले उनी नेपालीहरुमाझ चिनिए ।
साथीभाईलाई अप्ठ्यारो हुदा कहिले चूप बसेनन । सक्दो सहयोग गर्न ढिलाई गरेनन् । देशलाई दुख्दा उनी कहिल्यै सुत्न सकेनन् । कोभिडको महामारी होस् वा दैवी विपत्ति । उपचार खर्च नपाएर छटपटाईरहेको कोही देखे, उनी सहयोग जुटाएर नेपाल पठाईहाल्थे । अतिथि देवो भवः त उनको जीनमा छ । जो आमाबुवाबाट पाएको जन्मजात गुण हो, उनको ।
उनी पहिले नेपाली हुन् । त्यसपछि सुदूरपश्चिमेली । र त, मेरील्याण्डको डेलिगेट उम्मेदवार थिए, ह्यारी भण्डारी । उनले भण्डारीमा आफूलाई पाए । उनले ठाने, एउटा नेपाली मूलको व्यक्ति उम्मेदवार हुनु आफू हुनु बराबर हो । र त, भण्डारीका हरेक अभियानमा सहभागी भए । र, जितमा भण्डारी झै उनीपनि उत्तिकै खुशी भए ।
२०२२ देखि गौरा पर्व धुमधामसंग मनाउन थाले । गौरा भनेको देउडा हो आम बुझाई चिरे । गौराको सांस्कृतिक महत्वका बारेमा सबैलाई जानकारी दिए । पहिलो गौरा पर्वमा तिर्थ पाण्डेय, भीम बिक, शंकर सिंह बिष्ट र चाँदनी मल्ल लगायत साहित्यकार, कलाकार, अभियन्ताहरुलाई आमन्त्रण गरे ।
त्यहीबेलादेखि गौरा पर्व समाजको सिग्नेचर प्रोग्राम बन्यो । अन्य समाजहरु त्यो दिन कार्यक्रम नजुधाउन सहमत भए । समाजले त्यसयता बिशुँ मनाउन थाल्यो । दशैं र तिहार सामूहिक रुपमा मनाउन थालियो । दुई कार्यकालपछि गरेपछि समाजको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गरे । २०२४ जुलाईमा सर्वसम्मत रुपमा समाजको अध्यक्षमा बिक्रम शाही चुनिए । यतिबेला समाजमा १८८ परिवार आवद्ध छन् ।
उनले सुदूर पश्चिम समाजलाई यति बृहत र संगठित बनाए कि, बानाको निर्वाचनमा समेत सुदूर पश्चिम समाज निर्णायक हुन थाल्यो ।
सुदूर पश्चिम समाजको कुशल नेतृत्व । समन्वयकारी भूमिका । त्यही कामले छोटो समयमै मेरिल्याण्डमा उनी पनि चिनिए । समाज पनि चिनियो । अस्तित्वमै नरहेको सुदूर पश्चिम समाजको मेरिल्याण्डको सोधीखोजी हुन थाल्यो । हरेक कार्यक्रममा सुदूर पश्चिम समाजले स्थान पाउन थाल्यो । यसको श्रेय उनैलाई जान्छ । कतिसम्म भने बाल्टिमोरमा रहेका प्रवासी नेपालीहरुको साझा संस्था बाल्टिमोर एशोसियन अफ नेप्लिज ईन अमेरिका(बाना) को चुनावमा समेत समाज निर्णायक हुन थाल्यो ।
फरक आस्था, वाद, बिचार, भूगोल, समाज र सम्प्रदायकाबीचमा समन्वयकारी भूमिकाले उनलाई २०२२ मा बानाले सल्लाहकार बनायो । र, एनआरएनए मेरील्याल्याण्ड च्याप्टरले पनि सल्लाहकारमा मनोनीत ग¥यो । उनी यी सबै अवसरहरु सुदूर पश्चिम समाजको अध्यक्षका हैसियतले प्राप्त भएको ठान्छन् ।
उनी मात्र होईन्, उनको परिवार नै सामाजिक छ । बुवा हिक्मत शाह सामाजिक व्यक्तित्व हुन् नै । नेपालमा सामाजिक कार्यमा सधै अग्रसर रहने उनकी आमा चन्द्रलक्ष्मी यतिबेला मेरिल्याण्डमा पनि उत्तिकै सक्रिय छिन् । साईकल यात्री भाई भरतबिक्रम शाह पर्यटन तथा सामाजिक क्षेत्रमा सुदूर पश्चिमका युवाहरुमाझ चर्चित अनुहार हो । उनकी पत्नी पार्वती सिंह अन्तर्राष्ट्रिय सुदूर पश्चिमको महिला उपाध्यक्ष र बानाको कोषाध्यक्ष पदसंगै आनाको बोर्ड अफ डाईरेक्टर छिन् ।
उनमा तेस्रो पुस्ता संस्कृति, परम्परा र भाषा बिर्सिन्छ कि भन्ने डर छ । उनी भन्छन्, संस्कृति, परम्परा जगेर्ना आवश्यक छ । जरालाई मलजल नगरेसम्म जलकुम्भी झार जस्ता हुन्छौ हामी । त्यसैले सांस्कृतिक पर्वहरु मनाएर र देखाएर तेस्रो पुस्तालाई हामी संस्कृतिसंग जोड्ने कोसिसमा छौ ।
अमेरिकामा नेपालीहरुको तीन पुस्ता छ । अवसर, अध्ययन र डिभीले बा पुस्ता अमेरिका आईपुग्यो । छोरा पुस्ता यही जन्मियो । र, हजुरबाको पुस्तालाई बा पुस्ताले अमेरिका ल्यायो । बा र छोरा पुस्ता काम र अध्ययनमा व्यस्त रहदा हजुरबा पुस्ता भने घरभित्रै सिमित छ । उनी भन्छन्, समुन्द्रको किनार । अग्ला घरले मात्र नियास्रो मेटाउदैन । त्यसैले बानाले एउटा नारा दियो–बाआमाका लागि बाना । सुन्दा सामान्य लाग्ने यसको अर्थ ठूलो छ ।
हजुरबालाई अंग्रेजी भाषाको समस्या छ । छोरा पुस्तालाई नेपाली भाषाको । त्यसैले बानाले छोरापुस्तालाई भाषा कक्षाको व्यवस्था गरेको उनले सुनाए ।
बानाले भाषा, संस्कृति र परम्परा र नेपालीका मौलिक पर्वहरुको संरक्षण र सम्बद्र्धनका लागि समेत कार्यक्रम सञ्चालन गर्दै आएको छ । उनी यस्ता हरेक अभियानमा सक्रिय छन् । कतिसम्म भने उनी ६/७ वर्षयता आईतवारको विदाको समय बानालाई दिदै आएका छन् ।
बानामा २०२२ मा २३०० सदस्य थिए । जसमध्ये १७०० मतदान प्रकृयामा सहभागी भए । उनी यो संख्या दोब्बर गर्ने अभियानमा होमिएका छन् । बानाभित्र सबै अट्ने । सबैको मनमा बाना समेट्ने । उनको नारा छ–बाना सबैको । सबैका लागि बाना ।
भनिन्छ, सबै पहेलो चिज जमरा हुदैन । र, दशैंमा छरेका सबै जमरा रहदैनन् । जो रहन्छ, त्यसैले छुन पाउछ, सबैको शीर ।
उनी पनि जमरा जस्तै बन्न चाहन्छन् ।
तपाईको प्रतिक्रिया