अर्जुन ट्रफी टी-२०: कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनले डडेल्धुरा विजयी, चलेनन् ललित राजवंशी
कैलाली । कैलालीको धनगढीमा आज अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा डडेल्धुराको फ्रेन्डस् क्लबले विजयी सुरुवात गरेको छ ।
नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनले फेण्ड्स क्लब डडेल्धुराले जितबाट प्रतियोगिताको सुरुवात गरेको छ । उद्घाटन खेलमा डीसीए धनगढी डडेल्धुरासँग ८ विकेटले पराजित भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनायो । सुरुवाती विकेट सस्तैमा गुमाएर दबाबमा आएको धनगढीलाई सम्मानजनक योगफलतर्फ पुर्याउन अमित श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिए ।
निर्धारित २० ओभर सकिन दुई बल बाँकी रहँदा आउट भएका अमितले ३२ बलको सामना गर्दै एक छक्का प्रहार गरे । सातौं नम्बरमा ब्याटिङ गर्न आएका निरज ऐरले २७ रन र कप्तान नारायण जोशीले १६ रन बनाए ।
डडेल्धुराका लागि राहुल लुनियाले ३, कुशल भुर्तेल र रवि विष्टले २-२ तथा हेमन्त धामीले १ विकेट लिए ।
धनगढीस्थित फाप्ला मैदानमा १३३ रनको लक्ष्य पछ्याएको डडेल्धुराले १५.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । डडेल्धुराका लागि कुशल भुर्तेलले अर्धशतक बनाउँदै आफ्नो टीमलाई जित दिलाए । ५१ बलको सामना गरेका उनले ८७ रनको अविजित पारी खेले ।
यस्तै विनोद भण्डारीले ४२ रन बनाए । धनगढीका ललित राजवंशी र अमित श्रेष्ठले १-१ विकेट लिए । खेलमा डडेल्धुराका भुर्तेल म्यान अफ द म्याच भए । उनले नगद १० हजारसहित ट्रफी पाए ।
प्रतियोगिताअन्तर्गत आइतबार दुई खेल हुनेछन् । पहिलो खेलमा सीवाईसी अत्तरिया र दशरथ चन्द एकेडेमी बैतडीले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा डीसीए धनगढी र घोडाघोडी- ११ सुख्खडबीच प्रतिस्पर्धा हुनेछ ।
अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कारको व्यवस्था गरिएको छ । रनिङ ट्रफीको रुपमा टी-२० प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाखसहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०-५० हजार रुपैयाँ पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा देशभरका ८ वटा क्लब तथा टीमको सहभागिता रहेको छ । दुई समूहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा भएको प्रतियोगिताको समूह ‘ए’ मा डीसीए धनगढी, फ्रेन्डस् युथ क्लब डडेल्धुरा, घोडाघोडी-११ सुख्खड र बोस्टन क्रिकेट झापा रहेका छन् ।
यस्तै समूह ‘बी’मा सीवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं, न्यू होराइजन बुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।
प्रतियोगिताको शनिबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले उद्घाटन गरेका थिए । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द विशिष्ट अतिथि रहेको उद्घाटन समारोहमा चर्चित गायक चक्र बमले सांगीतिक प्रस्तुति दिएका थिए ।
धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथि रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै उनैको नाममा प्रतियोगिता आयोजना गरिएको हो ।
तपाईको प्रतिक्रिया