भीम रावलको अभियानमा लागेको भन्दै सुदूरपश्चिमका पूर्व सांसदसहित पाँच जनालाई पार्टीबाट निष्कासन

आइतबार माघ २०, २०८१/ Sunday 02-02-25
Paschim Today

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले एमालेका पाँच जना नेताहरूलाई कारबाही गरेको छ । एमालेले कारबाही गरेका पूर्व उपाध्यक्ष भीम रावलको मातृभूमि जागरण अभियानमा लागेको भन्दै पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको हो । पार्टीको कारबाहीमा पर्नमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य र प्रदेश सल्लाहकार परिषद् सदस्य छन् ।

प्रदेश कमिटीको पाँचौँ सचिवालय बैठकले सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवरलाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरिएको एमाले प्रदेश सचिव रणबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खड्कालाई यस अघि पनि स्पष्टीकरण सोधिएको थियो  । पहिलो पटक स्पष्टीकरण सोध्दा चित्त बुझ्दो जवाफ दिएका कारण एक पटकको लागि कारबाही नगर्ने भनिएको तर, फेरी सोही गतिविधिमा संलग्न रहेपछि कारबाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । अर्का प्रदेश सल्लाहकार परिषद् सदस्य कुँवरलाई यस अघि नै तीन महिनाको लागि निष्कासन गरिएको जानकारी दिँदै फेरी पार्टी विरुद्धको गतिविधिमा संलग्न रहेको भन्दै पार्टीबाट निष्कासन गरिएको एमालेले जनाएको छ ।कुवर पूर्व प्रदेश सभा सदस्य हुन् ।उनी प्राकृतिक स्रोत समिति सभापति समेत भएका थिए ।

प्रदेश कमिटी सदस्य जङ्गबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई पनि पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले जानकारी दिए । प्रदेश कमिटी सदस्य विकलाई यस अघि नै स्पष्टीकरण सोध्दा पनि उनले स्पष्टीकरण नबुझाएको एमालेको आरोप छ । विष्ट र मियाँलाई यस अघि तीन महिनाको लागि कारबाही गरिएकोमा फेरी पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै पार्टीबाट निष्कासन गरिएको एमाले प्रदेश सचिव चन्दले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।