द्वन्द्व पत्रकारिताको एक दशक–द्वन्द्वको ऐना

बिजय कुवँर ।
यही भदौैको मध्यतिर पत्रकार तथा लेखक दीर्घराज उपाध्यायद्धारा लिखित पुस्तकले संघीय राजधानी काठमाण्डौंका साथै सुदूर पश्चिममा निकै चर्चा पायो ।
मुलुकले भोगेको द्वन्द्वका १० वर्षका नमिठा अनुभवहरु स्मृतिबाट धुमिल हुदै गएको बेला ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तकले तानेर मलाई पुस्तक बिमोचन समारोहमा पु¥यायो । पुस्तक हातमा परेपछि त्यसलाई अद्योपान्त अध्ययन गरे । त्यसलाई पत्रकार उपाध्यायले लिपिबद्ध गरेपनि म जस्ता थुप्रै नागरिकका कथा, व्यथा, पीडा, अनुभूति र अनुभवहरु थिए । आकर्षक रंगीन कलेवर । एकातिर सशस्त्र सरकारी फौज र अर्कोतिर शिरमा रातो कपडा बेरेको बन्दुकधारी बिद्रोही । बीचमा निश्चित गन्तव्य तर्फ नियालेर हिड्दै गरेको ‘प्रेस’ पहिचान सहितको एकजना पत्रकार । एक हातमा कलम । काँधमा छड्के झोला ।
२०५२ शुरु भएर २०६३ सालमा बृहत शान्ति सम्झौतामा टुंगो लागेको ‘जनयुद्ध’ ताका पत्रकारिताको धर्म निर्वाहका क्रममा उपाध्यायले आर्जन गरेका सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक सिकाईको गाथा यस पुस्तकमा समेटिएको छ ।
यस्तो ज्ञान प्राप्त गर्ने क्रममा ज्यानकै पनि बाजी लगाउनु परेको बेलीबिस्तार पुस्तकमा पढ्न पाईन्छ । माओवादीको होस वा सुरक्षा फौजको पटक पटक धाक, धम्की, अवहेलना, सन्त्रास र मानसिक यातनाका अनगिन्ति अभिलेख यस पुस्तकमा लिपिबद्ध गरिएका छन् ।
सशस्त्र संघर्ष कसैका लागि रुचिकर वा प्रियकर हुन सक्दैन । त्यसमाथि युद्धको मध्य मैदानमा निहत्था उभिएर त्यहाँको बस्तुस्थितिको सटिक कथ्यलाई श्रव्य वा दृष्य कुनैपनि माध्यमबाट प्रसारित वा प्रकाशित गर्न चाहनेको मुटु दरो र कलेजो ढुंगाको हुनुपर्दछ ।
परिशिष्ट बाहेक २४ वटा उपशीर्षक दिएका कथेका छोटोमा तीन र लामोमा ११ पृष्ठ सम्मका लेखहरु पढ्दा पत्रकारको मनोदशाका साथै उनले भोगेका अकल्पनीय र दारुण वर्णनले पाठकलाई भावुक र संवदेनशील बनाउँछ । कतै लाग्छ, यो पुस्तक सामाजिक अन्यायमाथि आधारित हाम्रो समाजको ऐना हो ।
उपन्यासकार लील बहादुर क्षेत्रीको ‘बसाई’ उपन्यायसंग मेलखाने कथावस्तु पनि यसमा छन् । फेरि लाग्छ, यो विश्वप्रसिद्ध ‘एक किशोरीको डायरी’ नामक फ्र्याङ्क पुस्तकको याद दिलाउछ । जर्मन फौजका डरले एउटा बंकरमा आश्रय लिएर ज्यान बचाईरहेको बखत तेह्र वर्षीया किशोरीले दैनिक जसो लेखेका डायरीका माध्यमबाट विश्वस्तरीय साहित्य जन्मिएको थियो ।
उपाध्यायले पनि यसैगरी आफ्नो दैनिक चर्याको लेखा राखेका थिए । तब न तिथिमिति र समयको हवाला दिएर बिभिन्न सोच, क्रियाकलाप र जानकारीको फेहरिस्त संगाल्न संभव भयो होला । यस लेखको उद्देश्य अक्षर र भावहरुलाई एउटै मालामा जतनसाथ उनेर पत्रकार उपाध्यायले संयोजन गरेका घट्ना र स्थान विशेषमा आधारित कथ्यहरुको आलोचना वा समालोचना गर्नु होईन । रिपोर्टिङको निष्ठा र कर्तव्य निर्वाहका क्रममा पहिलो पाईला उचाल्नु अघिको मानसिक संबेगका साथै द्वन्द्व रिपोर्टिङको महारथ प्राप्त गरिसकेपछि ज्यानकै माफी प्राप्त गरी घर, परिवार र आफ्नो पेशागत संसारमा फर्किन सक्नुको आत्मिक खुशीलाई समभावमा स्वीकार गर्नु हो ।
माओवादीले शुरु गरेको संशस्त्र युद्ध र त्यसको दमनमा उत्रिएको सरकारी फौजकाबीच परस्पर मूठभेडमा हुने क्षति, विनाश र हताहती त युद्धको स्वाभाविक परीणति भित्र पर्दछ । तर हातमा सिर्फ कलम अथवा बढीमा एउटा क्यामेरा र टेपरेकर्डर बोके बाफत पनि लडाकु सरह नै ज्यान जोखिममा होमेको पत्रकारलाई युद्धको बारुद र गोलाबारीका बीचबाट उम्केर फर्किन पाउनु निश्चय पनि एक रोमाञ्चकारी जोखिमको अवस्था हो ।
द्वन्द्वकालको १० वर्षे अवधिमा पत्रकार उपाध्यायले दर्जनौ रिपोर्टिङ गरेका होलान् । तिनै रिपोर्टिङपछि उनले झेल्नु परेका मानसिक तनाव, भौतिक कारवाहीको धम्की, कहिले माओवादीका मतियार त कहिले माओवादीका मतियार त कहिले सरकारी दलाल आदि विशेषण र पदवी त असंख्य पाए होलान् । तर रिपोर्टिङको विषयवस्तुभित्र आफै पसेर माओवादी आफैले घोषणा गरेका ‘आधार ईलाका’ भित्र छिरेर कलमले टिपेका र आँखाले खिचेका तस्वीरलाई अक्षरमा उतार्नका लागि ठूलै कलेजोको आवश्यकता पर्छ होला ।
पत्रकार उपाध्यायको कलेजो ठूलै हुनुपर्छ–यस्तो लाग्छ उनको पुस्तक पढिसकेपछि । कहिले यात्राको प्रारम्भमै, कहिले मध्य बाटोमा त कहिले बास बसेकै ठाउँमा पनि सधैं ज्यानको सुरक्षा चुनौती । यस्ता असंख्य पीडादायी क्षण त कति आए कति ? माओवादीले टेलिफोन र रेडियो टावरमाथि बम बिष्फोट गरी सञ्चार बिहीन बनाएको आधार ईलाकामा डर र कौतुहलताका बीच रिपोर्टिङमा जादा पत्रकारको मनोदशा कस्तो भयो होला ? त्यसको बाहिरी झलक पुस्तकबाट बुझ्न पाईन्छ । मनोदशाको भित्री झलक त पीडायुक्त भोगाईमा आफै सशरीर भाग लिईरहेको पत्रकारलाई मात्र थाह होला ।
द्वन्द्व पत्रकारितामा १० वर्ष अविश्रान्त लागीरहनु । दुई बन्दुकको बीचमा सन्तुलन कायम गरेर प्रत्येक दिन रिपोर्टिङ गर्नु । एकातिर पेशागत कर्तव्य । अर्कोतिर ज्यानको जोखिम । त्यसका लागि मुटु र कलेजो दुईटै स्वस्थ र सबल भैरहनु पर्छ । पत्रकार लक्की चौधरीको विस्थापन, डेकेन्द्र थापाको मृत्यु, कृष्णसेन ‘ईच्छुक’ को हत्या र दर्जनौ पत्रिकाको प्रकाशन बन्द हुनु, यी सब घट्नाको साक्षी रहेको थियो, त्यो समय ।
माओवादीले आफ्नो पक्षमा मात्र समाचार लेख्न धम्की दिनु तत्कालीन अवस्थामा बिद्राहीको स्वभावभित्रै पर्न सक्छ । तर संबिधान, ऐन र नियमको आधारमा निर्माण भएको भनिएको सरकार र सरकारद्धारा बनाईएका सुरक्षा संयन्त्र र प्रशासनले त मानवअधिकारका न्यूनतम मापदण्डको हेक्का राख्नु पथ्र्यो ।
द्वन्द्वका बखत बिद्रोही र सरकार दुबै पक्षले आँखामा पट्टी बाँधेर बोल्दा रहेछन् । कानमा बुजो कोचेर बस्दा रहेछन् भन्ने यथार्थ यसै पुस्तकका हरफहरुका बीचबाट निष्कर्षमा पुग्न सकिन्छ ।
विश्व साहित्यमा द्वन्द्व साहित्यले निकै चर्चा पाएको छ । सशस्त्र संघर्षको रिपोर्टिङ मात्र नभएर कतिपय पुस्तकका साथै सयौं चलचित्र मार्फत द्वन्द्वलाई आ–आफ्नो दृष्टिकोणबाट प्रस्तुत गरिएको देखिन्छ । त्यसैगरी रेडियो, टेलिभिजन, वा व्यवसायीक समाचार संकलक संस्थाहरु वा सञ्चार माध्यमसंग आवद्ध पत्रकारहरुले कतै निबन्ध, कतै उपन्यास त कतै संस्मारणात्मक लेखन गरेर द्वन्द्व साहित्यको बिधालाई उन्नत बनाएका छन् ।
नेपालमा पनि द्वन्द्वमा आधारित कैयौं कथा, कविता, उपन्यास, चलचित्रको जन्म भएकै छ । सुदूर पश्चिमलाई मूल परिवेश बनाएर पेशागात पत्रकारिताको कर्तव्य निर्वाह गर्दै गर्दा पत्रकार उपाध्यायले एक जीवन्त साहित्यिक कृति जन्माएका छन् । हुन त उनीसंग कतिपय रिपोर्टिङका क्रममा स्थलगत अवलोकनमा अरु सहकर्मी पत्रकारहरुले संयुक्त यात्रा गरेको पनि उल्लेख छ । उपाध्यायका ती सहकर्मीले पनि यस पुस्तकको अध्ययन गरेकै होलान । र उनीहरुले पनि यस साहित्यमा आफ्नो हिस्सेदारी वा अपनत्व कुनै न कुनै प्रकारले देखाएकै होलान् । यो एक अनुमानित र अपेक्षित प्रसंग मात्रै हो ।
प्रस्तुत पुस्तकका केही लेखहरु दोहरिएर पाठकलाई अलि अरुचिकर पनि बनाउन सक्छ । साथै कतिपय आलेखहरु यस ग्रन्थमा नराखेर अन्यत्रै दस्तावेजीकरण गर्दा उपर्युक्त हुनेछ ।
संघीय राजधानीवासीको भाषामा ‘मोफसल’ नाम दिईने काठमाण्डौं बाहिरका कवि, कलाकार, साहित्यकार वा पत्रकारलाई सम्बोधन गर्दा कथित मोफसलवासीको मनमा चसक्क हुन्छ । तर मोफसलकै कर्मस्थलमा रहेर पनि दीर्घराज उपाध्यायले द्वन्द्व साहित्यमा थप एक पाईला अघि बढाएका छन् ।
मोफसल, त्यो पनि सुदूर पश्चिमबाटै प्रसिद्ध मन पुरस्कार प्राप्त गर्ने कवि, उपन्यासकार जन्माएर राजधानीवासीका आँखामा बत्ती बलीसकेका छन् । ऐनाका रामलाल जोशी, काली कर्णालीको लोक साहित्य र संस्कृतिका यज्ञराज उपाध्याय, ऐंठनका बिबेक ओझा लगायत दीर्घराज उपाध्यायको द्वन्द्व पत्रकारिताको एक दशक ग्रन्थ नेपाली साहित्य, कला, संस्कृति र द्वन्द्व साहित्यमा नयाँ आयतन र आयाम थप्नमा सहयोगी हुनेछन् ।
अलिकति कमजोरी पक्षमा पनि हेरौन जस्तो लाग्छ । हुन् त यो लेख न त समालोचना हो, न त पुस्तक समीक्षा । यो त केवल एक उदीयमान एक मृदुभाषी र मन परेको पत्रकारको प्रशंसा लेख हो ।
पत्रकारितामा अहोरात्र लगनशील दर्जनौ पत्रकारहरुमध्ये एक युवाले जतन गरेर राखेका तथ्यहरुमा आधारित कतै सुन्दर फूल र कतै काँडै काँडाका बीचबाट टिपिएको वनफूललाई कलात्मक रुपले उनेर गाँसिएको मालाको प्रति रुप एक आकार हो यो पुस्तक ।
साहित्य लेखनले लक्ष्मीप्रसाद देवकोटाको समयपछि धेरै लामो यात्रा तय गरी सकेको छ । देवकोटाले एक पटक लेखेको पद्य वा गद्यलाई फेरि फर्केर हेर्दैनथे भनिन्छ । स्वाभाविक थियो कि कही कतै ससाना त्रुटी भए होलान् । शुभचिंतक वा समालोचकले महाकविलाई अनुनय गर्थे– कविज्यू कैले काही आफ्नो रचनालाई एक पटक फेरि पढी दिनु भए त साहित्य अझ बढी सुन्दर र परिस्कृत हुने थियो कि ? कविजीको फ्याट्टै प्रतिक्रिया हुन्थ्यो रे– कुन बेला दोह¥याउ ? त्यति समयमा त मलाई अर्कै फुरी सक्छ ।
तर यो देवकोटाको समय होईन । प्रगतिशील साहित्यमा त सिद्धान्त जस्तै छ, रचनालाई फर्केर हेर्ने, संभव भए परिमार्जन गर्ने । विश्व साहित्यको सन्दर्भ त त्यति जानकारीमा छैन । तर नेल्सन मण्डेला, हिलारी क्लिन्टन, बाराक ओवामाले लेखेका संस्मरणात्मक ग्रन्थहरुलाई पेशेवर सम्पादक र ईतिहासकारहरुको सहयोगमा परिस्कृत र तथ्यपरक बनाएर उत्कृष्ट विश्व साहित्यको दाँजोमा प्रस्तुत गरिएको छ ।
आशा गरौ, दीर्घराज उपाध्यायले पुस्तकको परिमार्जित संस्करण मार्फत यसभित्रका कमि, दोहोरोपना, असान्दर्भिकता, भाषागत त्रुटी हटाउने छन् । द्वन्द्व साहित्यमा पनि कला, लालित्य, हास्य, चरम निराशाका बीचमा पनि आशा, अन्यायको बजारमा न्यायको खोजी गर्न द्वन्द्वबाट पीडित, प्रताडित र दमीत पक्षले पनि आशाको दियो जगाई राख्न प्रेरित गरिरहन्छन । ती पक्षका आवाज पनि पुस्तकमार्फत मुखरित भएका छन् ।
साथै द्वन्द्वको राप घट्न शुरु गरेको १७ वर्षको अन्तरालपछि प्रकाशित पुस्तकको आफैमा एउटा ऐहिासिक दस्तावेज हो । यो पुस्तक त्यो समयको साक्षी हो, जसले द्वन्द्व बहोरे । त्यसकारण यो पुस्तक सर्वकालीक महत्वको ग्रन्थका रुपमा स्थापित हुन बेर छैन ।
कतिपय स्थान, विशेषका नाम र भाषागत शब्दावलीलाई पनि उचित भावार्थका साथ कोष्ठमा राख्ने प्रचलनलाई पनि अंगिकार गर्न सकिन्छ ।
कथित मोफसलको पहिचानका रुपमा आञ्चलिकता झल्किनु स्वाभाविक हो । तर आञ्चलिकताको कतिपय स्थानमा कमि महशुस हुन्छ । भारतको बिहारमा जन्मे हुर्केका आञ्चलिक हिन्दी साहित्यकार फणीस्वरनाथ रेणुका रचना अलि निरस जस्ता लाग्छन्, तर तिनमा आञ्चलिकताको स्वाद भरपुर पाईन्छ, पात्र र विषयवस्तुका हिसावले ।
म्याक्सिम गोर्कीले आफ्नो युवावस्था पछिका कर्महरुको संगालोलाई शीर्षक दिए, ‘मेरा विश्व विद्यालयहरु ।’ त्यस पुस्तकको सार थियो, औपचारिक शिक्षाबाट बञ्चित गोर्कीलाई उनका भोगाई र सिकाईले विश्वविद्यालय स्तरको ज्ञान प्राप्त भएको थियो ।
त्यसैगरी राहुल सांकृत्यायनको ‘भोल्गा से गंगा तक’ नामक पुस्तकले समाज विकासको क्रमलाई कलात्मक सिलसिलाले सिंगारेर अत्यन्त रोचक र ज्ञानबद्र्धक बनायो ।
दीर्घराज उपाध्यायका रचनालाई पनि भाषा, कला, सामाजिक बिम्ब, जातीय र लैङ्गिक बिभेद, आर्थिक अभाव र शोषणका भित्री अन्तर्यमा पसेर विश्लेषण गर्न सक्ने तथ्य (सन्दर्भ सामग्री)लाई अझ गहन र मसिनो ढंगले सिंगार्ने सजाउने अवसर बाँकी नै छ ।
साहित्य पनि एउटा बजार योग्य उत्पादन हो । त्यसैले यसले पनि बजार र बजारीकरणको अपेक्षा राख्दछ । उपाध्यायमा यसबारे प्रशस्तै चेत रहेको बुझ्न सकिन्छ । द्वन्द्व साहित्य जन्माउने कारक तत्व त माओवादी संघर्ष थियो, र थियो, सशस्त्र संघर्षको प्रतिकारमा उत्रिएको सरकारी सुरक्षा संयन्त्र ।
संकटकाल हुँदै युद्ध बिराम अनि पुनः युद्ध बिराम अनि पुनः युद्ध र पुनः युद्ध बिरामदेखि बृहत शान्ति सम्झौताका क्षणहरुलाई लिपिबद्ध गरिएका घट्नाका पात्रहरु मध्येकै दुई जना तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादीका सेती महाकाली( हाल सुदूर पश्चिम प्रदेश) का कमाण्डर लेखराज भट्टलाई पुस्तक विमोचन कार्यक्रममा सहभागी गराउनुका पछाडि शायद यही बजारीकरणकै भित्रि पाटो लुकेको हुनसक्छ । साथसाथै तत्कालीन समयावधिका नेपाल पत्रकार महासंघका सभापतिहरु, प्रेस काउन्सिल नेपालका अध्यक्ष र बरिष्ठ पत्रकारहरुलाई समेत विमोचन कार्यक्रममा निम्ता दिएर संगठित अपनत्वबोध गराउने प्रयत्न पनि हुनसक्छ ।
विमोचनको औपचारिकताले संघीय राजधानी लगायत देशैभरी पुस्तक चर्चा भयो । यसलाई स्वाभाविक मान्नुपर्छ । यसले बजारीकरणमा समेत केही सहजता ल्यायो होला । प्रशंसक र समालोचकहरुलाई किताव पढ्नलाई प्रेरित पनि गरेको होला । उक्त कार्यक्रममा भाग लिन पाएकै कारण यस पंक्तिकारलाई पनि पुस्तकका सबै हरफ पढ्न र यतिका शब्दहरु लेख्न सहज भयो होला ।
लेख्नेले बडो जतन साथ संगालेका तथ्य र घट्नाक्रमहरुलाई उनीरहँदा पटक पटक असहज भयो होला । कतै कुमार नगरकोटीको आधा वाक्यांश लेख्ने शैली, कतै बिजय मल्लको ‘अनुराधा’ शैली, अनि कतै बुद्धिसागरको ‘कर्णाली ब्लुज’ शैली । सुदूर पश्चिमेली र डोटेली भाषिकाबाट अलि जोगिन खोजेको जस्तो भान हुने काठमाण्डौंली लय ।
अनलाईन, अडियो बुक र डिजिटल श्रव्यले ढपक्कै ढाकिसकेको बिक्रमाब्दको एक्काईसौं शदीको अन्त्यतिर हातैमा किताव बोकेर पढ्ने पाठकको संख्या नै कति हुन्छ र भन्ने चेतले पनि लेखकलाई झस्काएको थियो कि ? शायद यही संकोचका कारण द्वन्द्व रिपोर्टिङ सकेको दोस्रो दशकको उत्तराद्र्धमा मात्र पुस्तक बजारमा आयो ।
पुस्तकले अभिलेखको काम पनि गर्दछ । सत्य निरुपण तथा मेलमिलाप शब्दावलीले शान्ति प्रकृया अन्तिम चरणमा प्रवेश गरेको जनाउ दिन्छ । ढिलै भएपनि देशले भोगेको युद्ध, त्यसले पु¥याएको क्षति, पत्रकारिता र सिंगो मुलुकमा परेको प्रभावको दस्तावेजीकरण भएको छ । त्यो युद्ध, जसमा हजारौले ज्यान गुमाए, जसले हजारौलाई घरवार बिहीन बनायो । र, असंख्य नागरिकलाई राज्य होस वा बिद्रोही दुबैतिरबाट बेपत्ता पारियो, केही प्रतिनिधिमूलक घट्ना मार्फत त्यसलाई उजागर गर्ने कोशिस भएको छ ।
लेखक एक पेशाकर्मी पत्रकार र पत्रकारहरुको छाता संगठकका विभिन्न जिम्मेवारीमा रहेकै कारण होला, पुस्तकको एक दुई अंशमा आफ्नै संस्थाको गुनासो र आलोचनाले पनि ठाउँ पाएको छ । गैर पत्रकार पाठकलाई त्यस विषयको उठानले त्यसलाई नछुन सक्छ । यस्ता विषयले अन्यत्रै बढी महत्ता बोक्ने हुन्छ । लेखकले लेखी सके । आफ्नो गुनासो पोखी सके । साधारण पाठकले पनि पत्रकारका सांगठनिक उल्झन हुने रहेछन् भन्ने बुझिसके ।
विमोचनका अवसरमा पत्रकार उपाध्याय एउटा सेलीब्रेटी जस्ता देखिन्थे । चकाचौध उज्यालो संसारमा एक जना द्वन्द्व पत्रकारलाई ‘ग्ल्यामर’मा देख्न सकिन्छ । तर उसले आजको यो उज्यालोलाई देख्न र भोग्नका निमित्त हिजोका कहाली लाग्दा आतंकित जीवन शैलीलाई भोगेरै आएको हुन्छ । जिउँदो घर फर्किने आशाले कैयौ पटक उसले मृत्युलाई अत्यन्त नजिकबाट भोगिसकेको छ ।
हुन त शान्तिकाल वा समृद्धिका समयमा पनि पत्रकारितामा जोखिमले छोडेको हुदैन । तर बन्दुकै बन्दुकको राश, दर्जनौ लाश अनि हजारौ घाईते र घरवारबिहीनहरुको चित्कारलाई छिचोल्दै युद्ध मैदानबाट फर्केको हुन्छ, उसलाई डर मिश्रित रोमाञ्चकताले अघि बढ्न, डटी रहन उत्साहित गरेको हुन्छ । कतिपय अवस्थामा अव रिपोर्टिङको दुनियामा नफर्किने सोच आउँदा आउँदै पनि पुनः त्यही रोमाञ्चकता, त्यही हुटहुटीले अर्कै युद्धस्थलतिर जान प्रेरित गरेको हुन्छ ।
आजको चकाचौध र ‘ग्ल्यामर’का पछाडि ती दिनको पाश्र्वचित्रले हौस्याईरहेको हुन्छ । ‘विथोलिएको माओवादी आमसभा’ शीर्षकबाट प्रारम्भ भएको उपाध्यायको आलेख ‘पण्डौनले ब्यहोरेको युद्ध’, ‘मुर्दा शान्तिमा बनबेहडा’, र ‘युद्ध त्रासदीमा अछाम’ पढीसक्दा एउटा पाठकले सिंगै युद्ध आफूभित्र बोकीसकेको प्रतिक भैसक्छ ।
द्वन्द्व पत्रकारिताले गर्दा तराई भनेर चिनिने कैलालीमा पनि पण्डौन जस्ता असंख्य बिकट र दुर्गम पहाडी वस्ती हुन सक्छन् भन्ने काठमाण्डौंवासीले विष्मयपूर्वक बुझ्छन होलान् । माओवादीको कथित आधार ईलाकामा प्रवेश गर्न र अगाडि बढ्न गौंडा गौंडामा पटक पटक परिचय दिनु आफ्नै देशभित्र पासपोर्ट वा भिसाको आवश्यकता पर्नु जस्तै थियो । अझ उपाध्यायको पुख्र्यौली थलो डोटीको सायल जाँदा पनि यस प्रकारको सास्ती भोग्नु परेको व्यथा ‘डोटीको उत्तरी भेगमा पाँच दिन’ शीर्षकमा बेलीबिस्तार लगाईएको छ । आतंक मात्र होईन, नुन तेलको जोहो गर्न मधेश झर्नु वा भारत तर्फ पलायन हुन बाध्य समुदायले दिनको उज्यालोमा होईन, रातको अन्धकारमा लुकेर गाउँ छोड्नु पर्ने अवस्थाले त्यस भेगको सामाजिक–आर्थिक दुरावस्था र दुर्गमताको झलक दिन्छ ।
ब्यानर न्यूज स्तरकै लाग्ने ‘देउवामाथिको आक्रमण’ नामको २२ औं शिर्षकमा तत्कालीन अवस्थामा राजाद्धारा सत्ताच्यूत गरिएका प्रधानमन्त्री शेर बहादुर देउवासंग जोडिएको एक रहस्यमय दुर्घटना बारे उल्लेख छ । बलपूर्वक सत्ताबाट हटाईएका देउवा देश दौडाहामा थिए । धनगढी र महेन्द्रनगरमा कार्यक्रम सकेर नेपालगञ्ज हुदै सुर्खेत जाने क्रममा उनीमाथि सांघातिक गोलीबारी भएको थियो । शासनको बागडोर राजाका हातमा थियो । देउवालाई सामान्य सुरक्षा दिईएपनि देश दौडाहामा अप्रत्यक्ष अवरोध थियो । त्यही क्रममा अत्तरीयादेखि लम्कीको बीच भागमा पर्ने पहलवानपुरको आमखैयामा डाँडामाथिबाट गोली बर्साइयो । उनी सवार गाडीमा क्षति भयो । तर चालक र सुरक्षाकर्मीले आफ्नै ज्यान जोखिममा होमेर देउवालाई सुरक्षित स्थल पु¥याए ।
पछि माओवादीबाट बिज्ञप्ति आयो । भनियो,– त्यो आक्रमण देउवामाथि लक्षित थिएन । त्यस गाडीमा देउवा बसेका थिए भन्ने सूचना थिएन । त्यसमा प्रहरी थिए । र, प्रहरीलाई निशाना बनाउन खोजिएको माओवादीको प्रष्टोक्ति थियो ।
पुस्तक विमोचन समारोहमा माओवादीका सेती महाकालीका तत्कालीन कमाण्डर लेखराज भट्टले प्रष्टिकरण दिए, त्यो आक्रमण देउवामाथि नियोजित थिएन । भूलवश भएको घट्ना थियो ।
लगत्तै देउवाले प्रतिवाद गरे–युद्ध बिरामका बखत किन आक्रमण ? किन गोलाबारी ? त्यो सरासर गलत कार्य थियो ।
पुस्तकका अधिकांश शीर्षकहरु अत्यन्त आकर्षक र रोमाञ्चक र द्वन्द्व तीक्ष्ण गन्धलाई ईंगित गर्ने खालका छन् । ‘सैन्य क्याम्पमा चार रात’ को बर्णन पाठकका शरीरमा पनि डरले काँडा उमार्न काफी छ । माओवादीको युद्ध प्रशिक्षण स्थलका रुपमा चिनिईसकेको कैलालीको पण्डौनको खिमडीसम्म उपाध्याय सहितको टोली पुगेको रहेछ, नेपाली सुरक्षा फौजको बन्दोबस्ती र निम्तोमा । सुरक्षा फौज र माओवादीबीच केही दिन अघि भएको भीषण युद्धपछि त्यस क्षेत्रबाट माओवादी पछि हट्न बाध्य भएको रहेछ ।
तर पनि आफ्नो आधार ईलाका रहीआएको खिमडीमा माओवादीले जुन सुकै बेला पनि पुनः आक्रमण गर्न सक्थ्यो, कब्जा गर्न सक्थ्यो । सरकारी पाहुना भएर गएको भएता पनि माओवादीको गोली र बलमे पत्रकारलाई चिनेर पर हट्ने संभावना थिएन । दिउँसो भन्दा रातिको डर अझ भिन्नै हुन्छ ।
लेखकले त्यस वस्तीको प्राकृतिक र भौगोलिक अवस्थिति बारे गरेको बर्णनले लेखकमा लालित्य र प्रकृति सापेक्ष दृष्टिकोण विद्यमान रहेको बुझ्न सकिन्छ । साथै त्यहाँका बासिन्दाको अनुहार र व्यवहारमा आतंक र पीडाको प्रष्ट झलक अनुमान गर्न सकिन्छ ।
‘महरा र बादललाई भेट्ने लालसा’ पढेपछि पत्रकारमा पनि केटाकेटीमा जस्तो अधैर्य तृष्णाको याद गराउँछ । तत्कालीन अवस्थामा माओवादीका सुप्रिम कमाण्डर प्रचण्डलाई तिलस्मी नायकका रुपमा लिईन्थ्यो भने महरा र बादललाई माओवादी युद्धको रणनीतिकारका रुपमा चर्चा गरिन्थ्यो । खतरा त सधैं झैं थियो नै, तर पनि युद्ध नायकसंग साक्षात्कार गर्ने लालसाले ज्यानकै खतरा हुन सक्ने रिपोर्टिङको चस्का लागेछ । तर ‘एन्टी क्लाईमेक्स’ झै बादल र महराको नाम लिएर तेस्रो चौथो दर्जाका श्रवणले पत्रकारसंग भेट्न चाहेका रहेछन् ।
बेलाबेलामा पत्रकारलाई विभिन्न आरोपमा प्रताडित गरेपनि आफ्ना कुरा आम जनतासम्म पु¥याउन माओवादीले पत्रकारकै सहारा लिने रहेछन भन्ने तथ्य त्यस परीघट्नाबाट अनुमान गर्न सकिन्छ । पुस्तकको २० औं शीर्षक छ, ‘यात्रा रोल्पादेखि डोटीसम्म’। उपाध्याय लेख्छन्, ‘आम मान्छेको भरोसा पत्रकारहरु थिए । तर पत्रकारको भरोसा कोही थिएन ।’ यस्तो मार्मिक शब्द लेख्ने पत्रकार अवश्य पनि त्रास, धम्की, गोली र बमको शिकार बन्न सक्ने अवस्थाबाट गुज्रिसकेका थिए ।
सदरमुकाममा सिमीत सरकार, मलिन र आतंकित अनुहारका सर्वसाधारण, बाटोभरी माओवादीको खानतलासी र सोधपुछ । सुरक्षा फौजबाट उस्तै खानतलासी र सोधखोज, रुखो र कडक आवाजमा प्रश्नहरुको वर्षा । माओवादीका मतियारको लाञ्छना । पुस्तकभित्र कैयौं कथ्यहरु छन्, पढ्न र माओवादी युद्धकालका केही घट्ना र मनोदशाको अवस्था बुझ्नका लागि । द्वन्द्वकालको द्वन्द्व मनोविज्ञान, जनजीविका र सामाजिक अवस्थाको अध्ययन र बिश्लेषण र सिकाईका लागि प्रशस्त बौद्धिक खुराक पनि पुस्तकमा समाविष्ट छन् ।
काठमाण्डौंबाट झण्डै ७५० किमी दूर सुदूरपश्चिमको धनगढीबाट अढाई दशकदेखि पत्रकारितामा सक्रिय उपाध्यायको यो पुस्तक द्वन्द्व भोगेका हरेक पत्रकारलाई आफ्नै अनुभव, अनुभूति र संघर्षको कथा लाग्छ । १६८ पृष्ठको पुस्तकको मूल्य पाँच सय रुपैया रहेको छ । प्रत्येक शीर्षक बारे चर्चा गर्नुभन्दा यो पुस्तक पढेपछि समय र पैसा दुबैको सदुपयोग हुने नै देखेको छु ।
कमी,कमजोरी सुधार र परिमार्जनका लागि प्रशस्त संभावनाहरु बाँकी नै छन् । १७ वर्ष अघिको पत्रकार आजका दिनसम्म आईपुग्दा सम्म लेखकले केही गहन विषय छुटेकै रहेछन् कि त भन्ने अनुभव गर्न सक्छन । अनि भाषिक दोहोरोपना हटाउँदै असान्दर्भिक घट्नालाई अन्य दस्तावेजमा स्थानान्तरण गर्दै पुर्नलेखनद्धारा पत्रकार उपाध्यायले पुस्तक अझै उत्कृष्ट बनाउने छन् भन्ने अपेक्षा गरौ ।
(लेखक राष्ट्रिय योजना आयोगका पूर्व सदस्य हुन् ।)
तपाईको प्रतिक्रिया