सुदूर पहाडका ‘भगवान’

सुदूर पहाडमा दिनहूँ भीरबाट खसेर घाईते हुनेहरु अस्पताल नपुग्दै बित्छन् । गन्तव्य पुग्न सवारी साधन चढेकाहरु उवडखावड बाटोमा कहाँनिर दुर्घटनामा पर्छन, थाहै हुदैन् । सुविधाका लागि पहाड उक्लेका ती सवारी साधनहरु बेलाबेला मृत्यु बोकेर हिड्छन् ।
केही साधन नमिले सुदूर पहाडका मान्छेहरु ट्याक्टर चढ्छन् । त्यही दुर्घटनामा पर्छ । गन्तव्य होईन, उनीहरुलाई त्यसले अस्पतालको शैयामा पु¥याउछ । कतिपयले बाटोमै सास छोड्छन् ।
भीरमा मेलापात गर्दै व्यथाले च्यापेपछि कति महिला त्यही भीरमा बच्चा जन्माउछिन् । व्यथा सहन नसकेर कतिले त्यही अन्तिम सास फेर्छिन् ।
बाख्रा चराउदा भीरबाट खसेकाहरु हुन् वा जंगली जनावर भालु, चितुवाको आक्रमणबाट घाईते भएकाहरु सबैको एउटै आग्रह हुन्छ, बयालपाटा पु¥याईदेउ ।
अन्तिम सास फेर्नुअघि एउटै आस हुन्छ सबैको, बयालपाटा अस्पताल पु¥याउन पाए बाँच्थे कि ?
सुदूर पहाडमा बयालपाटा अस्पतालप्रतिको यो विश्वास त्यसै कायम भएको होईन, समयमै त्यहाँ पु¥याएका महिला र तमाम नवजात शिशुले संसार देख्न पाएका छन् । कैयौले पुनर्जीवन पाएका छन् ।
हो, यी सबै ठोकिने र पुग्ने ठाउँ सुदूर पहाडमा एउटै छ, त्यो हो बयालपाटा अस्पताल । ती सबैको घाउ र दुःखाईको शल्यक्रिया गर्ने नाम हो, हाडजोर्नी तथा अंकोलोजी(हाडजोर्नी क्यान्सर) बिशेषज्ञ, डा. मन्दिप पाठक ।
दुःखको शल्यक्रिया गर्न मिल्छ कि मिल्दैन डाक्टर साप ? पंक्तिकारको प्रश्नमा उनी घोत्लिए । हो मिल्ने भए उनी पहाडका दुःख र बाटोले दिने दुःखाईको शल्यक्रिया गरिदिन्थे ।
‘डाक्टर साप म चामल बेचेर ओखती गर्न आएको हूँ । मलाई खाली पेट खाने औषधी दिनुहोला ।’ उपचारका लागि गएका सुदूर पहाडका विरामीले डाक्टरसंग बिसाउने बिन्ति हो, यो । कहिले भोकले दुःखाउछ । कहिले घाउले । कहिले भोक र घाउले सुदूर पहाडलाई संगै दुःखाउछ । कहिले यसरी पहिरो आउछ । न भोक रहन्छ, न पीडा । सबै लैजान्छ आफूसंगै ।
भरीपेट खान पाउने भाग्यमा लेखेको भए विवाहको भोलिपल्ट बैकिनीलाई रुवाएर बैकान मुग्लान पस्दैनथ्यो ।
जसले बयालपाटा सञ्चालनमा ल्याए, सायद उनले सुदूर पहाडको त्यो भोकको पीडा बुझे । र, सबैचिज निशुल्क गरिदिए ।
पीडा भनिसाध्ये छैन् । गनीसाध्ये हुने कुरै भएन् । थला परेर छटपटाईरहेकी आमालाई मृत्यु दिन कुन छोराले डाक्टरसंग अनुनय गर्छ होला ? सर्जरी गर्दा कहिल्यै हात नकापेका डा. मन्दिपका शरीरमा त्यो बिन्तिले अहिले पनि काँडा उमार्छ ।
न कुनै चर्चा । न प्रशंसाको भोक । न सम्मानको आस । बस् कर्म गरिरहन्छन्, उनी । सरल व्यवहार, बिनम्र बोली, कामप्रतिको समर्पणले उनले बिरामी र सुदूर पहाडका जनताको मन जितेका छन् । न कुनै घमण्ड । न लोभ । न कसैको टिप्पणी । उनलाई यी कुराको फुर्सद कहाँ ? बस्, कर्म गरिरहन्छन् ।
हुन् त उनी नभए पनि बयालपाटा अस्पताल चल्छ । बिगतमा पनि चलेकै थियो । तर अस्पतालसंगको लगाव र बिरामी प्रतिको चिन्ताले काम विशेषले बाहिर गएपछि जति सक्दो चाँडो फर्किहाल्छन् ।
सेमिनार सकेर अमेरिकाबाट फर्किदा हरेक पटक साथमा अप्रेशनका लागि नयाँ उपकरण बोकेर आउछन् । त्यहाँ सिकेको सीप, ज्ञान र अनुभव बयालपाटामा प्रयोग गर्छन् ।
............
२०४० साल चैत २८ गते काठमाण्डौं बानेश्वरमा काठमाण्डौं बानेश्वरमा जन्मिएका उनी रामजी पाठक र मञ्जु पाठकका जेठो सन्तान थिए । उनीपछि एक बहिनी जन्मिईन ।
काठमाण्डौं साउथ प्वाईन्ट स्कुलमा ६ कक्षासम्म पढेका उनले ललितपुर माध्यमिक विद्यालयबाट २०५६ सालमा एसलएलसी गरे । त्यसपछि भीएस निकेतनबाट प्लस टु सके । सानैदेखि मामाघरका हजुरबुवा पशुपती लोहनीको ईच्छा थियो, नाती डाक्टर बनोस । हजुरबुवाको त्यो ईच्छाको प्रभाव उनमा प¥यो । उनले काठमाण्डौं युनिभर्सिटी मेडिकल स्कुलबाट एमबीबीएसको पढाई पुरा गरे ।
२००९ मा एमडी गर्न पुगे, फिलिपिन्स । २०१५ मा पढाई सकेर फर्के । उनी बयालपाटा अस्पताल सञ्चालन गर्दै आएको न्याय हेल्थ नेपालका बोर्ड सदस्य अर्थोपेडिक सर्जन डा. भाष्कर पन्तको नियमित सम्पर्कमा थिए । पन्तको सीटमा उनी फिलिपिन्सबाट पढेर फर्केका थिए । पन्तले उनलाई बयालपाटा अस्पतालमा अर्थोपेडिक सर्जनको आवश्यकता भएको बताए । त्यहाँ जोडी दिए । र, २०१५ मा डा. मन्दिप बयालपाटा पुगे ।
नेपालको पहिलो महिला अर्थोपेडिक सर्जन डा. आराधना झा बयालपाटामा काम गर्थिन् । उनी अमेरिका गईन् । उनकै ठाउँमा काम गर्न पुगे, डा. मन्दिप । नियुक्ति हुदा उनको पद थियो, कन्सलट्याण्ट अर्थोपेडिक सर्जन ।
त्यसअघि बयालपाटा अस्पतालले हड्डी भाँचिएकाहरुलाई लगेर नेपालगञ्जमा उपचार गथ्र्यो । उपचार खर्च अस्पतालले व्यहोथ्र्यो । जव उनी जोडिए,त्यसपछि भने हड्डी भाँचिएकाहरुको उपचार बयालपाटामै हुन थाल्यो । उनी लामो समय सुदूर पहाडका एक्लो अर्थोपेडिक सर्जन थिए । शुरुवाती समयमा छ महिना बयालपाटा काम गर्थे । छ महिना दोलखा । त्यहाँ पनि न्याय हेल्थद्धारा सञ्चालित अस्पताल थियो ।
२०१६ अर्थोपेडिक अंकोलोजीको एक वर्षे फेलोशिप पाएर मलेशिया पुगे । त्यहाँबाट फर्किएर उनी रातदिन नभनी बिरामीको सेवामा खटिए । हड्डी भाँचिएकाहरुले उपचारका लागि तराई झर्नुपर्ने बाध्यताको अन्त्य भयो । पदोन्नतीसंगै उनको जिम्मेवारी थपिदै गयो । उनी मेडिकल डाईरेक्टर र शल्यचिकित्सा निर्देशक भए । २०८१ साउन भए, अस्पताल निर्देशक ।
उनी नेपालकै दोस्रो हड्डीको क्यान्सर स्पेशलिष्ट हुन् । उनी हड्डीको क्यान्सरका चिकित्सकको संस्था टीम सार्कोमा पनि आवद्ध छ । यस्तो लाग्छ, आराम र विदा उनको शब्दकोषमै छैनन् । विदामा काठमाण्डौं घर जादा उनी हड्डीको क्यान्सर भएका बिरामीहरुको शल्यक्रिया गर्छन् । टीम सार्कोले हालसम्म त्यस्ता ६०० जनाको उपचार गरिसकेको छ ।
उनकी पत्नी प्रतिक्षा ढुंगाना दाँतको चिकित्सक हुन् । दुई वर्षदेखि उनी पनि बयालपाटा अस्पतालमै कार्यरत छिन् । उनीहरुकी दुई वर्षकी छोरी छिन् । पारिवारीक गफ, घुमघाम र रमाईलो गर्ने समय उनलाई कहाँ ? भन्छन्, कहिलेकाही हामीबीच ठाकठुक हुदा, त्यसको विषय र कारण अस्पताल नै हुन्छ ।
बुवाआमा काठमाण्डौं बस्छन् । पत्नी र छोरीसंगै उनी छन्, सुदूर पहाडको अछाममा । बुवाआमासंग भेट्ने मन हुन्छ होला कि नाई ? घाउहरुको शल्यक्रिया गर्दा उनको त्यो मन दुख्छ होला कि नाई ? विवाहित पुरुषसंग उसकी पत्नीका पनि आकांक्षा, अपेक्षा र सपनाहरु हुन्छन् । र, स्वयमका सपना हुने नै भए । केही दिन सबै काम छोडेर निस्फिक्री भएर घुम्न निस्किन मन हुन्छ कि हुदैन ? डाक्टर साप तपाईका सपनाहरु छन् कि, तिनको पनि शल्यक्रिया गरिदिनुभयो ? यस्ता तमाम प्रश्नहरु एकसाथ सोधी रहदा उनी बस्, मुस्कुराईरहे ।
घुम्न टाढा के जान्थे ? बिरामी बचाउन बयालपाटा अस्पताल बचाउनु प¥यो । त्यही अस्पताल बचाउन उनी धनगढीमा मुख्यमन्त्री कार्यालय, सामाजिक विकास र अर्थमन्त्रालयको चक्कर काटिरहन्छन् । उसको आस हुन्छ, शासकहरुले बजेट निकासा गरिदिन्थे कि ?
उता ट्याक्टर दुर्घटनामा परी गम्भीर घाईते भएकाहरु अस्पतालमा भर्ना भएको खबरले बेचैन भएपछि अस्पताललाई बचाउने कुरा बिर्सिएर हानिन्छन्, अछाम । सोच्छन्, पहिले घाईते त बचाउ,अस्पताल पछि बचाउला ।
.............
उनी केही दिन पहाडबाट बाहिर जादा घाईतेहरु उनलाई कुरिरहन्छन् । उनी अस्पताल छोडेर बिरलै बाहिर निस्किन्छन् । जहाँ गएपनि उनको मन भने बयालपाटामा हुन्छ ।
एउटा कार्यक्रममा भाग लिन अमेरिका गएका उनी त्यहाँबाट महिना दिनपछि फर्किए । उनलाई कालिमाटीकी ९० वर्षीया घाईते महिला एक महिनादेखि कुरिरहेकी थिईन । उनको हेरचाह नातिनी बुहारीले गर्थिन् । आमा घाईते भएको सुनेपछि उनका छोरा भारतबाट आएका थिए ।
डा. मन्दिप आएको थाह पाएपछि छोराले आमालाई अस्पताल लिएर आए । महिलाको हीपको गेडीको हड्डी भाँचिएको थियो । मुटुको चाल थिएन । जसले २० प्रतिशत मात्र काम गरिरहेको थियो ।
भ¥याङबाट खसेर घाईते भएकी उनी हिड्दा दुखाईले रुन्थिन । दुःखाई सहन नसकेर भन्थिन्, मलाई मारिदेउ ।
दुःखाईले थला परेकी आमाको एक महिनादेखि मृत्यु कुरिरहेका थिए छोरा आग्रह गर्थे, डाक्टर साप, की आमालाई मारिदेउ, की अप्रेशन गरिदेउ ।
डा. मन्दिप सम्झाउथे, यो उमेरमा अप्रेशन गर्दा ज्यान तलमाथि हुन सक्छ । अप्रेशन गर्न जिद्दी गर्दै उनका छोरा भन्थे, मृत्य भए होस । लाग्ने खर्च म दिन्छु ।
त्यो उमेरकी महिला, त्यसमाथि मुटुको चाल थिएन । अप्रेशन थियटरमै कुनै पनि बेला उनको सास बन्द हुन सक्थ्यो । उनीसंग अप्रेशन बाहेक अर्को विकल्प पनि त थिएन ।
उनले सोचे, कुनै पनि हालतमा यी आमालाई बचाउन पाए हुन्थ्यो । जोखिम लिए । अप्रेशन थियटरमा हाले । वेहोस गरे । अप्रेशन गरेर भगवानलाई सम्झिए, यिनलाई बचाई दिनु ।
ती आमाको होश खुल्यो । तेस्रो दिनपछि त उनी हिडिन् । बोकेर ल्याएकी आमा हिडेर घर गईन् । फर्किदा भनिन्, डाक्टर साप तपाई बाँचिरहनु ।
.............
अछामकी एक २७/२८ वर्षीय महिलाको मीलभित्र पसेर पुरै हात काटिएको थियो । अस्पताल ल्याउदासम्म रगत धेरै बगिसकेको थियो । साथमा बच्चा थियो । त्यस्तो अवस्थामा पनि ती महिलाले बच्चालाई दुध खुवाईरहेकी थिईन्, उनलाई त्यो दृष्यले भावुक बनायो । जसलाई आफ्ना दुःखाईले भन्दा सन्तानको भोकले दुःखाउछ, आमा त्यसै भनिएको होईन । आफ्ना दुःख बिर्सिएर सन्तानलाई दुध खुवाउने क्षमता अरु कसैमा हुदैन्, आमा बाहेक । बिलम्ब नगरी उनी ती महिलाको उपचारमा खटिए ।
केही छिनमै ती महिलालाई थियटर भित्र लगे । र, शल्यक्रिया गरेर ती महिलाको हात जोडिदिए । जोगाए, अपांग हुनबाट ।
जव अस्पताल बन्द हुने कुरा सोच्छन् । तव यस्ता अनगिन्ती घट्नाहरु उनका आँखाका अघिल्तिर आउछन् । उनी घोत्लिन्छन्, ओहो ! तिनको हालत के होला ? जो बेखर्ची छन्, सुदूर पहाडका ती मान्छेहरु, जोसंग रोग छ, दुखाई छ । तर छैन, उपचारका लागि पैसा ।
नौ वर्षमा उनले चार हजारभन्दा बढि अप्रेशन गरे । गतवर्ष मात्र उनले ७४८ वटा मेजर अर्थोपेडिक अप्रेशन गरे । हरेक अप्रेशनसंग एउटा जीवन र कैयौ परिवार जोडिएका हुन्छन् । उनले त्यस्ता सयौ जीवनहरु जोगाए, समयमै अप्रेशन नगरेको भए जो चुडिन सक्थे ।
...........
माघको पहिलो साता दुईटै हात भाँचिएकी एक महिला आईन् । डा. मन्दिपले सोधे, कसरी भाँचियो । महिलाले जवाफमा भनिन्, लडेर । उनले विश्वास गरेनन् । फेरि सोधे । अन्तिममा उनले खोलिन्, श्रीमानले कुटे । हात भाँचेर उपचारका लागि श्रीमानले नै ल्याएका थिए ।
ती महिलाले न त कही उजुरी दिईन् । न कसैलाई गुहारिन् । बस्नु पर्ने श्रीमानसंगै हो, प्रहरीमा उजुरी दिएर के गर्नु, उनले लाचारी प्रकट गरिन् । डा. मन्दिपले चुपचाप अप्रेशन गरे । हातमा रड हालेर उनलाई घर पठाए ।
रोग लुकाउने र अन्याय सहने संस्कृति सुदूर पहाडमा कहिल्यै जाला ? उनी सोचिरहे ।
............
बयालपाटा अस्पताल संकटमा छ । आर्थिक अभावसंग जुधिरहेको छ । सरकार सहयोग गर्न तयार छैन । आनाकानी गर्छ । वहाना गर्छ । कहिलेकाही त आरोप नै लगाउछ । अपराध नै गरेजस्तो ।
पदमा नहुदा बजेट दिएन भनेर सरकारको विरोधमा कुर्लिनेहरु सत्तामा पुगेपछि मौनता साँध्छन् । र, बजेट दिन नसकेको आफ्नो असक्षमता लुकाउन उल्टै लाज पचाएर भनिदिन्छन्, त्यहाँ पारदर्शिता भएन ।
सत्ताले रंग बदलेका नेताहरु देख्दा डा. मन्दिप र न्याय हेल्थको टीमलाई उदेक लाग्छ । एउटा डा. मन्दिप छन्, अर्को कुन्द दीक्षित र उनको टीम । जो आफ्नो व्यस्तता, काम छोडेर बयालपाटा अस्पतालको भविश्यलाई लिएर चिन्तित भईरहन्छन् । कही अस्पताल बजेटकै अभावमा बन्द हुने त होईन् । सुदूर पहाडका जनताले उपचार नपाएर मर्नु नपरोस ।
अर्को सरकारी कर्मचारीको संयन्त्र छ । जसले सरकारलाई भन्छ्, त्यहाँ कार्यरत चिकित्सक र कर्मचारीहरुले तलव धेरै खान्छन् ।
तर उनीहरु यो कुरा लुकाउछन्, अझ भन्न चाहदैनन, कि बयालपाटा अस्पतालका डाक्टर र कर्मचारीहरु ईमान्दारीपूर्वक बिरामीको सेवा गर्छन । त्यहाँ बाहेक अन्यत्र कही काम गर्दैनन् ।
भन्न मन हुन्छ, हो, डा.मन्दिप खराव छन् । जो घाईतेहरु देख्दा सुत्दैनन । जसलाई उनीहरुको दुःखाईले पोल्छ, भतभती । रात भन्दैनन् । दिन भन्दैनन् । बस्, अप्रेशन थियटरमा व्यस्त हुन्छन्, घाईतेहरुको शल्यक्रियामा ।
घाईते निको भएर घर नफर्केसम्म उनी छटपटीमै हुन्छन् । उनी राउण्डका लागि दोस्रो दिन कुर्दैनन् । जुनसुकै बेला बिरामीको वार्डमा पुग्छन् । र, सोध्छन्, तपाईलाई कस्तो छ अहिले ?
दशैं भन्दैनन् । तिहार भन्दैनन् । नयाँ वर्ष त उनको पनि आउछ होला । तर उनलाई नयाँ वर्ष आएको गएको सम्झना हुदैन ।
सुदूर र मध्य पहाडका विकटबाट आउने बेखर्ची घाईतेहरुको सेवामा यसरी तल्लिन हुन्छन्, बुवाको मुख हेर्ने दिन सम्झिन छोडी सके । आमाको मुख हेर्ने दिन पनि काठमाण्डौंमा रहेकी आमासंग सञ्चो विसञ्चोका कुरा गर्दै गफिन पाउदैनन । सुदूर पहाडकी घाईते बुढी आमामा उनी आफ्नी आमा देख्छन् । र, उनको दुःखाईको शल्यक्रिया गरेर सोध्छन्, आमा तपाईलाई अहिले कस्तो छ ?
जसको अप्रेशन गरेर उनले जीवन र आयु बढाई दिए । उसैले आशिर्वाद दिन्छ, डाक्टर तपाईलाई मेरो आयु पनि लागोस ।
हो, उनलाई त्यही आशिर्वाद र स्नेहले बाँधेर राखेको छ, बयालपाटा अस्पतालमा । पैसा कमाउन उनी त्यहाँ बसेकै होईनन् । संसारका जुन सुकै देशमा उनको विज्ञता र अनुभव सजिलै त्यो भन्दा महंगो मूल्यमा बिक्री हुन्छ । उनलाई पैसाको छु मतलव ।
तर विरलै मान्छेलाई प्राप्त हुने सेतो कोट र डाक्टरीलाई उनी कुनै मूल्यमा बेच्न तयार छैनन् । र त, अछाममा छन् । त्यही अछाम र सुदूर पहाडमा जन्मिएका डाक्टरहरु कहाँ छन् ? कसले सोधोस ? कसले सोधोस ?
कतिपयलाई उनले खाने तलवको चिन्ता छ । उनलाई भने बिरामीको चिन्ता छ ।
नेताहरु बयालपाटा अस्पतालको उत्कृष्ट सेवाको तारिफ गरेर थाक्दैनन । अर्ति दिनेहरु धेरै छन् । उनीहरु भन्छन्, निशुल्क सेवा दिन संभव छैन् । पर्ची र अप्रेशनको त न्यूनतम शुल्क लिनु पर्ने । यसरी निशुल्क कति दिन चल्छ ?
बयालपाटा अस्पताल अछाम र बाजुराका बिरामीको केन्द्र हो नै । डोटी, दैलेख, कालीकोट, जुम्ला, मुगु, बैतडी, डडेल्धुरा र बझाङका बिरामी पनि उपचारका लागि यहाँ आउछन् । पछिल्लो समय कैलाली र कञ्चनपुरबाट समेत उपचारका लागि बिरामीहरु पहाड उक्लेर अछाम पुग्न थालेका छन् ।
उनले देखेका छन्, सुदूर पहाडको गरीवी । बेजोर चप्पलमा जुनी काट्नेहरुका पीडा । वर्षौ देखि नफेरेका मैलो कछाड ।
त्यसैले उनलाई भन्न मन हुन्छ, बेखर्ची भएर वर्षौदेखि रोग लुकाएर बसेकाहरुलाई सोध्नु नि, एउटा पर्चीको मूल्य उसका लागि कति महंगो हुन्छ ।
भोको पेट अस्पताल आउनेहरुलाई सोध्नु नि । अस्पतालको शैयामा रहेका बिरामीसंगै कुरुवाले भरी पेट खान पाउनुको आनन्द ।
जहाँ सबै सेवा निशुल्क छ । न पर्चीको पैसा लाग्छ । न अप्रेशनको । र जहाँ, निशुल्क छ औषधी । बिरामी र उसका कुरुवालाई खाना निशुल्क थियो । तर बजेटको अभावमा भएपछि एक वर्षयता कुरुवाले खानाको पैसा तिर्नु परिरहेको छ ।
नेताहरुले सबैचिज निशुल्क दिन्छु भनेर, गफ मात्र निशुल्क दिईरहदा, बयालपाटा अस्पतालले भने सबै चिज निशुल्क दिईरहेको छ ।
गर्नुपर्ने काम कति बाँकी थियो । डा. मन्दिपलाई चिन्ता त कही यो सेवा र सुविधाबाट सुदूर पहाडका नागरिक बञ्चित हुने त होईन । जहाँ जीवनका १० वर्ष बिताए । त्यो भूगोल र त्यहाँको माटोको त माया लाग्छ । मान्छेको लाग्ने नै भयो ।
सर्जन र मायासंगै हुदैनन । कठोर हुन नसक्ने सर्जन हुनै सक्दैन । मन नै नहुने सर्जनले मान्छेको जीवन कसरी बचाउन सक्छ ? उनीभित्र पनि त मन छ । त्यही मनको बयालपाटासंग अटुट लगाव छ । बयालपाटाको भविश्यलाई लिएर उनी बेचैन छन् । सुत्न सकेका छैनन् । शासक भन्छन्, चलाउन नसक्ने भए सरकारलाई हस्तान्तरण गरे हुन्छ ।
अहिले जस्तै चलाउने भए सरकारलाई बयालपाटा अस्पताल हस्तान्तरण कुनै आईतवार पर्खिदैनथे । न्याय हेल्थको टीम त्यसका लागि तयार पनि छ ।
जव यसको स्थापनाकाल तर्फ फर्किन्छन्, र यसको स्थापनाको उद्देश्य र स्थापना भएयता अस्पतालले दिएको सेवा सम्झिन्छन्, तव उनी आत्तिन्छन् । कही त्यो ईतिहास र उपलब्धी नामेट हुने त होइन ?
..................
२००६ मा अमेरिकीन चिकित्सक जेसन एन्ड्र्यु र नेपालीमूलकी पत्नी रोशनी एन्ड्र्युसंग हनिमुन मनाउन सुदूर पश्चिम आए । रोशनी फिल्म मेकर थिईन् । उनीहरु सोही क्रममा एचआईभी संकटको डकुमेन्ट्री बनाउन अछाम पुगे ।
त्यहाँ उनीहरुले एचआईभीसंगै अन्य समस्या भयावह देखे । र, जीर्ण रहेको बयालपाटाका भवनहरुमा अस्पताल सञ्चालन गर्ने सोच बनाए । त्यसको दुई वर्षपछि सरकारसंग सहमती गरे । २००८ मा न्याय हेल्थ नेपाल मार्फत संघीय सरकारसंगको साझेदारीमा बयालपाटा अस्पताल सञ्चालनमा ल्याए ।
उनी अमेरिकाको कनेक्टिट स्थित एल युनिभर्सिटीमा कार्यरत थिए । उनले चिकित्सक साथीहरु डंकन मारु, सञ्जय बासु पनि बयालपाटा अस्पतालमा जोडिए । पछि बिजय आचार्य र बिभव आचार्य थपिए । पोखराका आचार्य दाजुभाई धरानबाट एमवीवीएस पुरा गरेर एल युनिभर्सिटीमा आवासीय चिकित्सकका रुपमा कार्यरत थिए । चिकित्सकहरु थपिनेक्रम जारी रह्यो, त्यहीबीचमा थपिए, ड्यान स्वार्जस् र रुमाराज भण्डारी ।
अछाममा एचआईभीभन्दा कुपोषण, सुत्केरी र दीर्घरोगीहरुको समस्या देखेपछि जेसन एन्ड्र्यु अस्पताल सञ्चालन गर्ने निष्कर्षमा पुगेका थिए । उनले केही वर्ष आफ्नै युनिभर्सिटीको फण्ड ल्याएर चलाए । शुरुवाती चरणमै २६२ जना संस्थापक दाताहरु थपिएपछि उनलाई अस्पताल चलाउन सहज भयो । पछि दातृसंस्थाहरु यो अभियानमा जोडिए । मुख्य डोनर थिए, स्कुनर फाउण्डेसन, निक साईमन फाउण्डेसन, नेसनल ईन्स्टिच्यूट अफ हेल्थ अमेरिका ।
बयालपाटा अस्पतालले १६ वर्षमा १३ लाख १७ हजार दुई सय २५ जनाले सेवा दियो । गत वर्ष यो संख्या ८१ हजार तीन सय ७८ थियो । सोही अवधिमा ७८९ वटा मेजरी सर्जरी भए । र, ४८४ डेलिभरी । त्यस्तै एक वर्षमा अस्पतालका कर्मचारीहरुले समुदायमा गएर १ लाख ५२ हजार आठ सय ७९ व्यक्तिलाई भेटे । र बुझे, गर्भवती, दुई वर्ष मुनिको बच्चाको पोषण, परिवार नियोजन प्रयोगको अवस्था, दीर्घ तथा मानसिक रोगीले औषधी खाए नखाएको । र दिए, उनीहरुलाई रोग अनुसार परामर्श ।
शल्यक्रियापछि जटिलता पाँच प्रतिशतभन्दा बढि हुनु हुदैन भनिन्छ । बयालपाटाको त्यो दर दुई प्रतिशत छ ।
७० को दशकमा अछाममा संस्थागत प्रसुती दर ५८ प्रतिशत थियो । अछाममा पाँच वर्षअघि त्यो दर ९८ प्रतिशत पुग्यो । जवकी दिगो विकास लक्ष्य अनुसार सरकारले सन २०३० सम्म त्यो दर ९२ प्रतिशत पु¥याउन कोसिस गरिरहेको छ ।
..................
जनताका नाममा सपथ खाएर सरकारमा बस्नेहरु पाँच वर्षको अवधिमा भगवानको नाममा मन्दिरमा अढाई अर्व रुपैया खर्च गरे । अढाई अर्व रुपैया भन्दा बढि सामुदायीक भवनमा खर्च गरे । जहाँ खोला छैन्, र छैन तटबन्धको आवश्यकता । त्यही तटबन्धका नाममा अर्बौ रुपैया खर्च गरे । शहीद गेटहरु बनाउनलाई सरकारसंग अथाह पैसा छ । तर सरकारमा बस्नेहरु भन्छन्, अस्पताललाई पैसा दिन सकिदैन् । अख्तियारले समात्छ ।
मन्दिरका नाममा बाडेको रकमले बयालपाटा अस्पताल १५ वर्ष चल्थ्यो । सामुदायीक भवनका नाममा गरेको खर्चले थप १५ वर्ष । तर उनीहरु अस्पताललाई पैसा दिन तयार छैनन् । नीति बाधक हो भने त्यो बनाउनु । त्यसका लागि पनि तयार छैनन् । किनकी त्यहाँ कमिसन जो आउदैन् ।
...........
दाता र दातृ संस्थाको सहयोगका कारण अस्पतालले डेढ दशकदेखि सम्पूर्ण सेवा निशुल्क प्रदान गर्दै आएको छ ।
कोभिडपछि भने सहयोगी संस्थाहरुको बजेट कटौती हुदै गयो । यता बिरामीको संख्या थपिदै गयो । मुलुक प्रदेश संरचनामा जानुअघि संघीय सरकारले पर्फमेन्स बेस्ड फन्ड दिन्थ्यो । मुलुक संघीयतामा गएपछि त्यो बजेट पनि रोकियो । यता प्रदेश सरकार बजेट दिन बहानाबाजी गर्न थाल्यो । त्यसयता अस्पताल आर्थिक संकटसंग जुधिरहेको छ ।
अस्पतालले अछामका छ वटा पालिकामा समुदाय कार्यक्रम सञ्चालित छ । अस्पतालमा दैनिक तीन सयभन्दा बढि बिरामी सेवा लिन आउछन् । एउटा बिरामीको खर्च औसतमा दुई हजार चार सय रुपैया छ । समुदाय कार्यक्रममा प्रतिव्यक्तिका लागि खर्च ३०० रुपैया हुन आउछ् ।
स्पाईन सर्जरी नहुदा बयालपाटाले वर्षेनी ६५ देखि ७० घाईते अन्यत्र रेफर गर्छ । उनले सोचे, ट्रमा सेन्टर सञ्चालन भए सुदूर पहाडका नागरिकले भौतारिनु पर्ने थिएन । उनी छिट्टै स्पाईन सर्जरी शुरु गर्दैछन् । मृगौलाका बिरामीका लागि डायोलिसिस शुरु गर्ने अर्को योजना छ ।
प्रदेश सरकार बयालपाटा अस्पताल आफ्नो मातहतमा लिन हतार गरिरहेको छ । उनी भने अस्पतालमा सेवा सुविधा थप्ने सूची बोकेर कुदिरहेका छन् ।
भन्न्, मन लाग्छ, डा. मन्दिप खराव छन्, उनले बचाउने काम मात्र गर्छन् । आउ, सबै मिलेर बयालपाटा अस्पताल बन्द गरौ ।
बन्दको व्यापार चलेको मुलुकमा डा. मन्दिप अस्पताल चलाउने कुरा गर्छन्, मान्छे बचाउने कुरा गर्छन् ।
उनलाई बाँकी कुराको छु मतलव । सक्नेले बन्द गरी हेरुन । उनी अन्तिम समयसम्म बचाउने प्रयत्न गर्न छोड्ने छैनन् ।
तपाईको प्रतिक्रिया