त्रिकोणात्मक टि-ट्वान्टी सिरिज : चौथो हार सँगै उपाधि जित्ने सम्भावना सकियो

मंगलबार माघ २२, २०८१/ Tuesday 02-04-25
Paschim Today

काठमाडौं । महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० आई शृंखलाको चौथो खेलमा पनि नेपाल थाइल्यान्डसँग पराजित भएको छ।

कीर्तिपुरस्थित खेल मैदानमा मंगलबार भएको खेलमा नेपाल ५ रनले पराजित भएको हो। यो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना सकिएको छ।

थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेट गुमाएर २० ओभरमा जम्मा १०१ रन मात्रै बनाउन सक्यो।नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक २६ रन जोडिन्। अन्य खेलाडी खासै चल्न सकेनन्।

नेपाल अहिलेसम्म नेदरल्यान्ड र थाइल्यान्ड दुवैसँग २/२ पटक पराजित भइसकेको छ।

त्रिपल राउन्ड रोबिन संरचनामा खेल भइरहेकाले नेपालले अझै दुवै देशसँग १/१ खेल खेल्नेछ। तर, अबका खेल केवल अभ्यासका लागि मात्रै हुनेछन्।

उपाधिका लागि भने थाइल्यान्ड र नेदरल्यान्ड भिड्ने छन्।