त्यो रेडियोको युग र रेडियो पानासोनीक

मंगलबार माघ २२, २०८१/ Tuesday 02-04-25
Paschim Today

दीर्घराज उपाध्याय
(साथमा रञ्जना बिसी)
धनगढी, २२ माघ ।

४० को दशकमा सूचनाका लागि भरपर्दो एउटै माध्यम थियो, रेडियो । त्यो पनि सबैसंग हुदैनथ्यो । जसको घरमा रेडियो हुन्थ्यो, छिमेकीहरु विहान ७ बजेको समाचार सुन्न त्यही भेला हुन्थे । रेडियोको वरीपरी झुम्मिएर एकटकले सुन्थे, ‘यो रेडियो नेपाल हो ।’ अनि समाचारवाचकले आफ्नो नाम भन्थे । र त्यसपछि, समाचारका मुख्य शीर्षकहरु ।

कुरा २०४५ सालको हो । त्यो रेडियोको युग थियो । ईन्द्र बहादुर बिष्टले त्यही युगमा रेडियोलाई जीवन निर्वाहको माध्यम बनाए । जतिबेला उनी २५ वर्षका थिए । त्यसयता उनी रेडियोसंग छुट्टिएनन् । उनले रेडियो बनाए । रेडियोले उनको जीवन । उनले सुत्दा, उठ्दा रेडियो देख्न थालेको पनि ३७ वर्ष भएछ । रेडियोसंग नछुट्टिएको पनि त्यति नै वर्ष भयो । रेडियोको युग ‘बुढो’ भयो । उनी पनि । उनी उमेरले ६२ पुगे ।   

हेमलाल रसाईलीको धनगढीमा नेशनल रेडियो सर्भिस थियो । उनी कहाँ भारतीय मिस्त्री काम गर्थे । उनीहरुले छोडेर गएपछि रसाईली मिस्त्रीको खोजीमा मोरङ पुगे । 

उनी घरमै रेडियो खोलखाल गर्थे । बिगार्थे । बनाउथे । रेडियो प्रतिको लगावले उनलाई छ महिने तालिमसंग जोड्यो । उनले झापामा छ महिने रेडियो मर्मत तालिम लिए । त्यहीबेला रसाईली र उनको भेट भयो । रसाईलीलाई मिस्त्री चाहिएको थियो । उनी घरमा खाली बसेका थिए । रसाईलीले बिष्टलाई सोधे, कोशी पारी गएका छौ । 

जवाफमा उनले भने, कोशी पारी टेकेको छैन् । रसाईलीले फकाए, फुक्र्याए, ल हेर अहिलेसम्म कही गएकै रहेनछौ । देश त घुम्नु पर्छ । तिमी त कोशी पनि टेकेको रहेनछौ । हिड् मसंगै । म पोखरा, चितवन, बुटवल, नेपालगञ्ज घुमाउछु । अनि धनगढीमा मेरो रेडियोमा काम दिन्छु । 

बिष्टले नाईनास्ती गरे । नजाने अड्डी कसे । उनका बुवाले केही समय काम गएर आउनु भन्दै पठाए । र, उनी मोरङको उर्लाबारीबाट बसहरु फेर्दै नेपालगञ्ज आईपुगे । अनि त्यहाँबाट रुपेडेहिया हुदै भारतको बाटो भएर पलियाबाट २०४५ साल चैत २२ गते धनगढी आईपुगे ।

एक महिना गरे । त्यसपछि फर्किन खोजे । थप एक महिना रोकिन रसाईलीले आग्रह गरे । त्यसपछि असार लाग्यो । बर्खामा हिड्ने कुरै भएन । उनी त्यसपछि डेढ वर्ष रोकिए । र, फर्किए उर्लावारी । 

केही महिनापछि उनलाई खोज्दै घरमै भरत संग्रौला आईपुगे । संग्रौला उनीभन्दा उमेरले कान्छा थिए । तर नाताले उनी काका भन्थे । संग्रौलाले रसाईलीबाट ३० हजार रुपैयामा पसल किनेका रहेछन् । तर मिस्त्री नभएका कारण पसल बन्द रहेछ । संग्रौलाले तीन महिना पसलमा काम गरिदिन आग्रह गरे । उनी कुनै पनि हालतमा धनगढी फर्किने मुडमा थिएनन । संग्रौलाले उनका बुवासंग ईन्द्रलाई आफूसंग पठाईदिन आग्रह मात्र गरेनन, तीन महिना त्यहाँ कामदारहरुलाई रेडियो बनाउन सिकाईदिएपछि घर फिर्ता पठाई दिने प्रतिबद्धता सुनाए ।

संग्रौलाको आग्रह टार्न नसकेर यस पटक पनि बुवाले उनलाई धनगढी पठाए । तीन महिनाका लागि आएका बिष्टलाई थप केही महिना रोकिदिन आग्रह गरे । उता घरमा बिष्टकी पत्नी र दुई छोरी थिईन् । उनी चाँडोभन्दा चाँडा फर्किन चाहन्थे । तर संग्रौला भने रोकिरहन । 

एक वर्षपछि संग्रौला धनगढी छोडेर काठमाण्डौं पुगे । र, त्यहाँबाट कोरिया । उनले पसलको मूल्य ३० हजार रुपैया तोकेको थिए । त्यो रकम कमाएर दिनु भनेर संग्रौला उनलाई पसल जिम्मा लगाएर हिडेका थिए । कोरियामा काम गर्न थालेपछि उनले खवर पठाए, मलाई पैसा पठाउनु पर्दैन् । पसल चलाउने भए चलाउनु । चलाउन मन नभए बेचेर घर फर्किनु ।

शुरुवाती डेढ वर्षमै उनले रेडियो मेकानिकको रुपमा पहिचान बनाईसकेका थिए । पसल लिएपछि उनले नाम फेरे । नयाँ नाम दिए–पाना सोनी ईलेक्ट्रोनिक्स । 

म यहाँको ढुंगा माटोसंग परिचित भईसकेको थिए,सुनाउछन्, पुराना चिनेकाहरु खोजीखोजी पसलमा आउन थाले । त्यही कारण मलाई काम गर्न सहज भयो ।

उनी सम्झिन्छन्, बोलीरहेको रेडियो सुन्दा कतिपयले त त्यसभित्र मान्छे छ भन्ने ठान्थे । उनी भने त्यही रेडियो खोलखाल गर्थे । 
..............

सेती प्रादेशिक अस्पतालका पूर्व अध्यक्ष तथा मेसु डा. गणेश बहादुर सिंह २० को दशकमा बझाङमा आफ्नो घरमा मर्फी रेडियो रहेको सुनाउछन् । सिंहका अनुसार त्यसताका रेडियोको लाईसेन्स लिनुपथ्र्यो । 

 बीबीसी नेपाली सेवाको राति पौने नौ बजेको समाचार उनी नछुटाई सुन्थे । अलईण्डिया रेडियोबाट प्रसारण हुने गीती फर्माईस कार्यक्रम सुन्थे । चिया पसल, घर र चौतारामा रेडियो नेपालको ७ बजेको समाचार सुन्न त मान्छेहरु रेडियोको वरीपरी झुम्मिन्थे, उनी पुराना कुरा सम्झिन्छन्, आम मान्छे विहान ओम जय जगदिश हरे भजनबाट शुरु हुने रेडियो नेपालको प्रसारण सेवा राति सुत्नेबेलासम्म सुन्थे । 

त्यतिबेला सूचना र समाचारको एउटै स्रोत रेडियो रहेको डा. सिंह सुनाउछन् । उनले रेडियो सुन्न थालेको पाँच दशक बित्यो । पहिले सूचनाका लागि पूर्ण रुपमा रेडियोमा निर्भर थियौ । त्यसपछि टेलिभिजनप्रति आकर्षण बढ्यो, उनी भन्छन्, अचेल मोवाईल भए पुग्छ । अरु केही चाहिदैन् । 
यद्यपि अचेल पनि बिहान र साँझ भने समाचार र कार्यक्रम सुन्न उनी रेडियो खोल्छन् । 

सिंहका अनुसार प्रविधिको विकासले रेडियोलाई विस्थापित गरिदियो । मान्छेहरु चियाको समयमा रेडियो सुन्थे । खेतमा काम गर्दा रेडियो सुन्थे । जव मान्छेहरु मोवाईलमा व्यस्त हुन थाले, तव रेडियो सुन्न छोडे ।

...............

कुनै बेला रेडियो र टेप रेकर्डर साथमा हुने मान्छेको शान बेग्लै हुन्थ्यो । मुम्बईबाट आउनेहरुले टेप रेकर्डर घन्काउदै आउँथे । त्यतिवेला नन्द कृष्ण जोशीका गलबन्दीमा रातो धागो देउडा खुव बज्थ्यो । पछि नरेन्द्रराज रेग्मीको चैर मुसी चैर र भोजराज भट्टको जौपात उधुमसंग घन्किन थाल्यो । रेडियो र टेकरेकर्डर हुनु त शान थियो । उनी भन्छन्, बम्बईबाट घाटीमा टेप रेकर्डर झुण्ड्याएर आउनेहरु देउडा घन्काईरहेका हुन्थे ।

मान्छेहरु पहाडबाट बिग्रेका रेडियोहरु डोकोमा बोकेर ल्याउथे । उनको पसलमा नौ वटै जिल्लाबाट रेडियो बनाउन आउनेहरुको भीड लाग्थ्यो । उनलाई रेडियो बनाउन भ्याई नभ्याई  हुन्थ्यो ।

बिष्टको पसलमा रेडियो मर्मत गर्न एक पटक नपुगेका त सुदूर पश्चिममा विरलै रेडियो प्रयोगकर्ता होलान । सरल व्यवहार र पैसाका लागि मोलमोलाई नगर्ने स्वभावका कारण फर्केर अर्को पटक ग्राहक त्यही पुग्छन् । रेडियो मर्मतको दररेट थिएन, त्यसो भन्दैमा जति पैसा पनि लिन भएन, उनी भन्छन्, ग्राहकले घर पुगेर यो नसोचोस कि बिष्टले धेरै पैसा लियो । त्यही सोचेर ग्राहकसंग कहिल्यै बढि रकम लिए । 

मान्छेहरु पहाडबाट बोका बेच्न धनगढी झर्थे । एउटा बोकाको मोल पाँच सय रुपैयासम्म हुन्थ्यो । फर्किदा बोका बेचेको पैसाले पहिले टेपरेकर्डर र व्याट्री किन्थे । बचेको पैसाले अरु सामान । उनी त्यो देखेर अच्चम पर्थे ।  

धनगढी आसपासका गाउँबाट मान्छेहरु टाउकोमा दाउराको भारी धनगढी आउथे । २० देखि २५ रुपैयामा दाउरा बेच्थे । त्यो पैसाले खुकुरी चुरोट किन्थे, उनी त्यो युगमा फर्किन्छन्,र सुनाउछन्, मनमा गढेका कुरा, ओहो ! मान्छेहरु कस्तो निस्फिक्री दाउरा बेचेर चुरोट खाने ? कति विन्दास हुन् ?, कुनै कुराको चिन्ता नै छैन् ।

त्यतिबेला पानासोनीक रेडियोको मूल्य सात सय देखि १५ सय रुपैयासम्म पथ्र्यो, उनले सुनाए, मोडेल अनुसार मूल्य फरक फरक थियो । तीन व्याण्डको रेडियोको भने मूल्य दुई हजारदेखि दुई हजार पाँच सय रुपैयासम्म थियो । 

धनगढीमा दुई वटा रेडियोको मूल्यले एक कठ्ठा जमीन किन्न सकिन्थ्यो । उनलाई त्यतिबेला पूर्वतिरबाट आएका साथीहरुले बडहरामा एक कठ्ठा जग्गा किन्न आग्रह गरेका थिए । एक कठ्ठाको मूल्य पाँच हजार रुपैया थियो । उनले जग्गा जोड्ने सोच बनाएनन् । काममै जोड गरे ।

उनी रेडियोमा धागो हालेको पाँच रुपैया । भोलुम बनाएको ४० रुपैयासम्म लिन्थे । दैनिक तीन सय रुपैया भन्दा बढि आम्दानी हुन्थ्यो । त्यतिबेला सबै कुरा सस्तो थिए । एक किलो ईन्द्रासन चामल पाँच रुपैयामा पाईन्थ्यो । प्रतिकिलो मोटो चामलको मूल्य दुई रुपैया ५० पैसा थियो । घर खर्च कटाएर त्यही आम्दानीबाट बचत हुन्थ्यो ।

उनले त्यही कमाईबाट तीन छोरी र एक छोरालाई पढाए । हुर्काए । उनीहरुको विवाह गरे । धनगढी बसपार्कमा घर बनाए ।

एसपीए कलेजमा प्लस टु पास गरेपछि छोरा विमललाई उनले दुई वर्षे ईलेक्ट्रिक विषयको कोर्षका लागि भारतको जयपुर पठाए । त्यहाँबाट फर्किएपछि विमलले नाष्ट कलेजमा जागीर खाए । उनले स्थायी जागीर छुटाएर केही वर्षपछि बिमललाई आफूसंगै काममा लगाए । त्यसयता उनलाई छोरा विमलले काममा सघाईरहेका छन् । 

जतिबेला उनले व्यवसायमा हात हाले । त्यतिबेला सटरको मासिक भाडा थियो, सात सय रुपैया । अहिले १४ हजार रुपैया तिर्छन् । जतिबेला भाडा सस्तो थियो । व्यापार राम्रो थियो । भाडा बढ्दै गयो । व्यापार घट्दै गयो । 

सुदूर पहाडमा भारतीय ब्राण्ड मर्फी २० को दशकमा पुगिसकेको थियो । तराईमा जापानिज कम्पनीको रेडियो पानासोनीक रेडियोले बजार लिएको थियो । पछि नेशनल र नेशनल पानासोनीक आयो । विस्तारै बुस, पारामाउण्ट, फिलिप्स र सोनी भित्रियो ।

उनी रेडियो र टेलिभिजनका सामान लिन दिल्ली जान्थे । त्यही कलर टीभी देखे । र, सामान लिन जाने क्रममा उनले रंगीन टेलिभिजन पनि बनाउन सिके । हुदा हुदा मान्छेहरुले टेलिभिजन प्रयोग गर्नेहरु पनि घटे । मान्छको घरमा टेलिभिजन सेट त छ । तर सबै मोवाईलमै व्यस्त हुन थाले । 

५० को दशकसम्म धनगढीमा थुप्रै रेडियो मर्मत केन्द्रहरु खुले । उनको पसलकै छेउमा २०४७ सालतिर सिग्मा ईलेक्ट्रोनिक्स खुल्यो । मस्जिदको छेउमा रेडियो मर्मत केन्द्र खुल्यो । तर व्यापार घटेपछि ७० को दशकपछि ती मध्ये अधिकांश पसल बन्द भए । र पलायन भए, अधिकांश व्यवसायी । 

मोवाईल भित्रिएपछि रेडियोको बिक्री घट्यो, बिष्ट भन्छन्, त्योसंगै मर्मत पसलहरु बन्द हुने क्रम बन्द हुने क्रम तिव्र भयो ।

दुई वर्ष अघि धनगढीमा सडक विस्तारका क्रममा मूल सडकका संरचना भत्काईए । र, बजारमा चहलपहल घट्यो । त्यसयता भाडा तिर्न मुस्किल भएको उनी सुनाउछन् ।

अव रेडियोको युग फर्किनेमा उनी आशावादी छैनन् । रेडियो उनका लागि व्यवसाय मात्र होईन । यो त उनको जिन्दगीको अभिन्न हिस्सा हो । जिन्दगी रेडियोसंगै बित्यो, भन्छन्, रेडियो बाहेक केही सोचिएन् । उनले आशावादी हुदै भने, यही विषयमा पढेर आएको छोराले नयाँ तरिकाले व्यवसायी अगाडि बढाउने विश्वास छ ।