‘अरेली काँडैले’ बन्यो युट्युबमा १० करोड भ्युज पाउने पहिलो लोक दोहोरी गीत

शनिबार माघ २६, २०८१/ Saturday 02-08-25
Paschim Today

काठमाडौं । नेपाली लोकदोहोरी सङ्गीतको इतिहासमा पहिलो पटक कुनै गीतले युट्युबमा १० करोड भ्युजको आँकडा पार गरेको छ । शान्तिश्री परियारको एकल आवाज रहेको ‘अरेली काँडैले मलाई च्वास्सै’ बोलको गीतले यो कीर्तिमान बनाएको हो । 

यसअघि ‘सालको पात टपरी’ र ‘अरेली काँडैले’मध्ये कुन गीतले पहिला १० करोड भ्युज पाउने भन्ने प्रतिस्पर्धा थियो । कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वरमा रहेको ‘सालको पात टपरी’ २०१८ मा वसन्त थापाको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । 

‘अरेली काँडैले मलाई च्वास्सै’ भने २०२४ मा शान्तिश्री परियारको युट्युब च्यानलबाट अपलोड भएको हो । नेत्र अर्यालले लेखेको यो गीतले अन्ततः युट्युबमा १० करोड भ्युज पाउने पहिलो लोकदोहोरी गीतको इतिहास रचेको छ । 

यस गीतको प्राविधिक पक्ष राजेन्द्र अर्यालले हेरेका हुन् । केही समयअघि टेकपानासँगको कुराकानीमा उनले दुवै गीत १० करोड भ्युज पाउने दौडमा रहेको र जसले जिते पनि यो सफलता समग्र लोक सङ्गीत क्षेत्रकै हुने बताएका थिए । अरेली काँडैले उक्त कीर्तिमानी बनाएपछि अर्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गरेका छन् ।