धनगढीको उज्यालो : भ्रम र वास्तविकता

प्रिय गोपी दाई
संसारको जतिसुकै विकसित देशमा गएपनि फर्केर धनगढीमा पाईला टेक्नुको आनन्द बेग्लै हुन्छ । यहाँको धुलो प्यारो छ । यहाँको माटो प्यारो लाग्छ । हावा उस्तै प्रियकर छ । र त, जहाँ गएपनि फर्केर यही पुग्छु । र, जहाँ गएपनि आफूलाई धनगढीयन भन्छु । र, धनगढीयन भन्दा गर्व लाग्छ ।
केही दिनका लागि धनगढी बाहिर जादा नियास्रो लाग्छ । साथीभाईले धनगढी छोड्ने कुरा गर्दा अत्याश लाग्छ । ‘जीना यहाँ मरना यहाँ’ यही सोचले धनगढी छोडेर कही जान मन कहिल्यै लागेन । जुनसुकै बिधा, क्षेत्र र वादमा आवद्ध भएपनि हाम्रो मूल उद्देश्य धनगढी र यसैलाई हव बनाएर सुदूरपश्चिमको विकास गर्ने रह्यो । र, त्यसैलाई मूल मन्त्र बनाएर सुदूर पश्चिम दवाव समूह बनायौ । त्यसमार्फत सरकारलाई पर्याप्त बजेट बिनियोजन गर्न दवाव दियौ ।
विदेशबाट फर्किएकाहरुलाई स्वागत ग¥यौ । उनीहरुलाई यही काम गर्न र टिकिरहन ढाडस दियौ । एउटा साझा टीम थियो । जहाँ सबै अटाएका थिए । धनगढी त्यतिबेलासम्म सबैको साझा थियो ।
‘को कहाँबाट आयो नसोधौ ? र, उस्को पुख्र्यौली थाँतथलो र बर्ण हेरेर व्यवहार नगरौ । सबैलाई सम्मान गरौ । सबैको अस्तित्व स्वीकार गरौ ।’ हो, जहाँबाट आएपनि धनगढीमा बस्ने हामी सबै धनगढीयन हौ भन्ने पहिलो व्यक्ति म नै हो । संख्याका आधारमा अल्पमतमा रहेका तपाई र तपाईजस्ता क्षमता भएका मान्छेलाई अगाडि आउनबाट नरोकुन भनेर निरन्तर अल्पसंख्यकको निर्भयता र सम्मानपूर्वक बाँच्न पाउने अधिकारका लागि बोल्ने र लेख्न आँट गर्ने मध्ये म पनि हूँ भन्न कुनै संकोच हुदैन । तपाईले दिनेश ट्राभल्स मार्फत यातायातका क्षेत्रमा ल्याउनु भएको परिवर्तनको प्रशंसक भएकै कारण माओवादीसंग वार्ता गरेर तपाईमाथिका सबै आक्रमणलाई निस्तेज गर्न जोखिम मोलेकोमा आज पनि पछुतो छैन् ।
तपाई चुनाव जित्नु भयो । र, धनगढीको मेयर हुनुभयो । धनगढीयन भएको नाताले तपाई निर्बाचित भएको पहिलो वर्ष तपाईका हरेक कदमलाई चूपचाप साथ दिए । सय दिनमै तपाईको कामको मूल्यांकन गर्न हतार गरेन । वर्षदिनपछि तपाईले गरेका राम्रा कामहरुको तारिफ गरे । सुधार गर्नुपर्ने कामहरुका बारेमा सुझाव दिए । एउटा सचेत नागरिकका तर्फबाट नमागिएको सल्लाह दिए । र, कमिकमजोरी पनि औल्याए ।
तपाईले यो अबधिमा कसैका सुझाव मान्नु भएन । सल्लाह सुन्नु भएन । तपाईका बारेमा कसैले आलोचना गर्ने आँट गरेन । कोही डरले चूप लागे । कोही बाध्यताले चूप लागे । कोही तपाईको प्रतिशोधको शिकार हुने डरले बोलेनन । कोही तपाईबाट लाभ पाईरहेका कारण बोलेनन । तपाईले धनगढीका जनताको मौनतालाई सबै सुखी र सन्तुष्ट भएको ठान्नु भयो ।
मेयरमा निर्बाचित भएपछि उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष र एउटा मिडियाको सञ्चालकभन्दा माथि उठ्नुहोला सोचेको थिए । त्यो धङधङीबाट मुक्त हुन सक्नु भएन । मेयर पदलाई पुरानो प्रतिशोध साँध्ने हतियार बनाउनु भयो । र, आफूसंग फरक मत राख्नेहरुलाई छानीछानी दुःख दिनथाल्नुभयो । कतिलाई कसरी दुःख दिनुभयो, त्यसको फेहरिस्त लामो छ । त्यो पनि बेलीबिस्तार गर्नेछु ।
सायद तपाईले कसैको सल्लाह मान्ने भए र तपाई निकटका व्यक्तिहरुले सुझाव दिनसक्ने हैसियत र त्यो क्षमता राख्ने भए आज तपाई यतिधेरै मैमत्त हुनु हुने थिएन । त्यसैले यस पटक तपाईले गरेका ज्यादती, तपाईको प्रतिशोधबाट प्रताडित भएका आम धनगढीका बासिन्दाका तर्फबाट यो पत्र लेख्दैछु । तपाईसंगको लामो संगतबाट मलाई यो थाह नभएको होईन कि, तपाईलाई सुझाव मन पर्दैन । फरक मत र आलोचना सुन्न त तपाई झन पटक्कै मन पराउनुहुन्न ।
हो, तपाईले द्वन्द्वमा मुनाफामा पाएको जिन्दगीलाई मेयरको शक्तिको आडमा अरुलाई प्रताडित र प्रतिशोध साँध्न दुरुपयोग गर्नुभयो । र, त्यो आफूले बाँचेको कठिन घडी बिर्सिनुभयो । प्रश्न यो होईन कि, किन यस्तो गर्दै हुनुहुन्छ । प्रश्न यो हो कि, तपाईले ती दिनहरु कति चाँडै बिर्सिनुभयो ? सत्ता र शक्तिले मैमत्त हिटलर एकादेशको कथामा सिमित भयो । सत्ता हातमा लिएर आफूलाई सर्वशक्तिमान ठानेका ज्ञानेन्द्रका पतनका दिन तपाई स्वयमले देख्नुभएको छ । जसको अभिनन्दनको तपाई कोषाध्यक्ष समेत हुनुहुन्थ्यो । तपाईको डरले धनगढीका नागरिक केही समय मौन रहे । थप केही समय अझै मौन रहन सक्छन । धनगढीका बासिन्दालाई सडकमा ल्याएर बनाएको फराकिलो सडकमा अढाई वर्षपछि तपाई हिड्न सक्नुहुन्छ कि हुदैन ? त्यतिबेला यहाँका मान्छेमा अहिलेको झै तपाईको डर के कायम रहिरहनेछ ? एक पटक सोच्नुहोला ?
मलाई यो पनि थाह छ, तपाईलाई बस्, प्रशंसा मात्र मनपर्छ । माफ गर्नुहोला, मैले प्रशंसा गरिरहन सकेन । हो, कुनै दिन तपाईले गरेका राम्रा कामको प्रशंसा अवस्य गर्नेछु, त्यसमा कञ्जुस्याई गर्ने छैन ।
यतिबेला संसारभरी छरिएका रहेका नेपालीहरुका माझ धनगढीको उज्यालोको चर्चा छ । मानौ, धनगढी भनेको त्यो ट्राफिक चौराहादेखि गेटासम्मको मूल सडक मात्र हो । तपाई निर्बाचित हुनुअघि बनेको त्यो सडक बन्नुमा तपाईको कुनै योगदान नै छैन । धनगढी अत्तरीया जोड्ने छ लेन र उपमहानगरपालिकाभित्रका सात वटा सडक एशियाली विकास बैंकको सहयोगमा २०७४ र २०७६ मा ठेक्का भएर निर्माण प्रकृयामा गएका थिए । छ लेन सडक तपाई निर्वाचित हुनुअघि नै निर्माण सम्पन्न भएको हो । र, बाँकी सडक तपाई निर्वाचित भएपछि निर्माण सम्पन्न भए । जुन सडक निर्माणमा तपाईको योगदान नै छैन् । वत्ती पनि तिनै परियोजना अन्तर्गत हो । तपाईले त्यसमा थप्नु भएको झिलिमिली हो । त्यो पनि लाईट पोलुसन हो ।
त्यही सडकको झिलिमिलीलाई सबैथोक र विकास ठान्ने धनगढी बाहिरको त्यो ठूलो जमातलाई अहिलेसम्म तपाई गुमराहमा राख्न सफल हुनुभयो । त्यो उज्यालोभित्रका तमाम अध्याँरा पक्षहरुका बारेमा उनीहरु बेखबर छन् । तिनलाई, तपाईले नेकपा (एकीकृत समाजवादी)लाई जग्गा बक्सिसमा दिईरहदा सुकुम्वासी वस्तीमा डोजर चलाएर वर्षाको झरीमा सुत्केरी महिलालाई निर्दयतापूर्वक सडकमा बाँच्न बिबश बनाएको थाह छैन ? उनीहरुलाई यो पनि थाह छैन, ठेलामा चाउमिन बेचेर बालबच्चा हुकाईरहेकी महिलामाथि तपाईले वार्षिक रुपमा ३६ हजार रुपैया कर लगाएको । तिनलाई, तपाईले साईकल र टोकरीमा तरकारी बेचेर गुजारा गर्ने भूईमान्छेको पसिनामाथि कर लगाएको थाह छैन । बस्, तिनलाई चौराहाको झिलिमिली मात्र थाह छ । धनगढी उपमहानगरपालिकासंगै जोडिएको त्यो अन्धकार त्रिनगर–धर्मशाला सडक र परिवार नियोजनको त्यो गल्ली पनि हो । बाँकी दूर दराज पनि धनगढी हो, जो अझै अन्धकारमा छ ।
तपाईको प्रतिशोधको पहिलो शिकार त्रिनगर हाट बजार भयो । त्यहाँबाट एउटा संस्थालाई लेखट्ने नाममा एउटा गुल्जार हाट बजारलाई सुनसान बनाउनुभयो । आम कृषकहरुलाई त्यहाँबाट विस्थापित गर्नुभयो । जव अरु व्यक्तिका हाट बजार गुल्जार भए, त्यसपछि त्रिनगर हाटबजार खोल्नुभयो, अहिले त्यसको हालत के छ, तपाई अनबिज्ञ हुनुहुन्न ।
हो, शहरको पेटीमा दाल, तरकारी बेचेर जहाँन पालिरहेका भुई मान्छेलाई शहरको सौन्दर्य बिगारेको अरोपमा सडकबाट लखेट्ने हुकुमी शासकले दिएको पीडा उनीहरुलाई थाह छैन । गरीवी होईन, शहरबाट गरीव लखेट्ने तपाईको नियोजित विकास तिनलाई थाह छैन, जसले बस् त्यो चौराहाको उज्यालो देखेको छ ।
तपाई प्रचारमा रमाउनुभयो । स्टन्ट गर्न थाल्नुभयो । तपाईसंग फरक मत राख्नेलाई लखेट्न थाल्नुभयो । तपाई ती सबैको मेयर हो, जसले तपाईलाई मत दिए, तिनको पनि । जसले मत दिएन तिनको पनि ।
तपाई त आफूसंग असहमत हुने र आफूलाई भोट नदिनेहरुलाई लखेट्न थाल्नुभयो । के यो शहरमा तपाईलाई भोट नदिनेहरुलाई बस्ने अधिकार छैन ? कति मान्छेलाई लखेटेपछि धनगढी समृद्ध हुन्छ ?
१० वर्षे माओवादी द्वन्द्वमा समाजमा अलि टाठो, मिहिनेत गर्ने र फरक मत राख्नेहरुलाई माओवादीले कि गाउँबाट निकाल्थे, कि सफाया गर्थे । आज धनगढीमा तपाईले त्यही गर्दै हुनुहुन्छ । गरी खानेलाई तपाई गरी खान दिनुहुन्न ।
त्यस्तै राजाको शासनकालमा आफ्नो गुणगान नगाउने मिडियामाथि आर्थिक नाकाबन्दी लगाईन्थ्यो, आज तपाईले धनगढीमा त्यही गर्नुभएको छ । किन कोही मिडिया लेख्दैनन ? सायद मिडियामा तपाईका कमिकमजोरी आएको भए, तपाई सच्चिनुहुन्थ्यो, आफ्नो कार्यशैलीमा सुधार गर्नुहुन्थ्यो । न मिडियाले तपाईका कमजोरी लेख्न सके । न तपाई सच्चिनुभयो ।
सारा मिडियालाई प्रलोभन र प्रभावमा पारेर तपाई संसारभरी त वाहीवाही कमाईरहनु भएको छ । तर के धनगढीका कुनै चौक र चौतारोमा पाँच/१० जनाको बीचमा उभिएर आफूले गरेका कामको फेहरिस्त सुनाउन सक्ने अवस्थामा हुनुहुन्छ ?
‘कल्याणकारी धनगढी’ डकुमेन्ट्री बनाउनेको कल्याण गरिदिनुभयो । उसको बिबेकमाथि पैसाको बिर्को लगाई दिनुभयो, जसले त्यो चौराहाको झिलिमिली मात्र देख्यो । बाँकी केही देखेन ।
ट्राफिक चौराहा– गेटा सडक खण्डको उज्यालो हेरेर के धनगढीका बासिन्दाको भोक मेटिन सक्छ ? सारावस्तीहरु अन्धकारमा राखेर एउटै त्यो सडकको मार्केटिङ कहिलेसम्म गर्नुहुने हो ?
कति मान्छेको बिस्थापन, पलायन र मृत्युपछि तपाईको कथित विकासको भोक मेटिने हो ? कति मान्छेलाई धराशायी बनाएर तपाईको ईगो र प्रतिशोध पुरा हुने हो ?
तपाईलाई यो स्थानमा पु¥याउन तपाईका समकक्षीहरुको पनि योगदान छ जो हिजो तपाईकै टीममा थिए, त्यस्ता तमाम संभावना भएका युवा उद्यमीहरुलाई विस्थापित गरेर तपाईले गर्न खोजेको विकास कस्तो खालको हो ?
धनगढीमा तपाईसंग असहमत हुनेहरुलाई के बाँच्ने स्वतन्त्रता छैन ? कि तपाई त्यस्ता युवाहरुलाई सामाजिक सञ्जाल र आफ्नै मिडिया प्रयोग गरेर लखेट्नु हुन्छ । कि उनीहरुलाई आर्थिक नाकाबन्दी लगाउनुहुन्छ ।
तपाई आफूलाई मन नपर्ने मान्छेलाई शक्तिको दुरुपयोग गरेर जसरी दुःख दिईरहनु भएको छ, के तपाई बसिरहेको त्यो कुर्ची स्थायी हो ? अढाई वर्षपछि सत्ताबाट बाहिरिनु पर्ने सत्यलाई बिर्सेर तपाईले गरिरहेका अन्यायको हिसाव के यहाँका नागरिकले बिर्सिनेछन् ? पक्कै बिर्सिने छैनन् ?
बाहिर देखाउनलाई भन्नुहुन्छ, तलव लिन्न । तर त्यो तलव तपाईको खातामा जम्मा हुन्छ । नलिने घोषणा गरेको तलव के आजका मितिसम्म राज्यकोषमा दाखिला भएको देखाउन सक्नुहन्छ ? तलव लिएर आफूखुशी बाड्नु पनि लिनु सरह नै हो । अझै त्यही तलवबाट छापेको कपीमा आफ्नो फोटो राखेर विद्यार्थीहरुमाझ बाड्नु समाजसेवा कम्तिमा मान्न सकिदैन ।
काठमाण्डौं बिहान गएर त्यसै दिन साँझ फर्किनुहुन्छ । हप्तामा दुई देखि तीन पटक काठमाण्डौं जानुहुन्छ । तर एक दिनमै फर्किदा भत्ता दुई दिनको लिनुहुन्छ । यो आर्थिक अनियमिता हो कि होईन ? तपाईको यस्तो कार्यले सुशासनको धज्जी उडाएको छ कि छैन ?
आफै मेयर । अनि आफ्नै मिडियामा मनलाग्दी पैसा दिने । न कागज । न प्रकृया । बस्, जति मन लाग्यो दियो । मानौ, धनगढी उपमहानगरपालिका तपाईको एउटा व्यवसाय हो । एउटा व्यवसायको घाटा अर्को व्यवसायबाट पूर्ती गरिरहदा बाहिरी दुनियालाई पालिकाबाट एक पैसा पनि लिदैन भनेर कहिलेसम्म झुक्याउनुहुन्छ ? वर्षमा लाखौ रुपैया आफ्नै मिडिया हाउसमा खन्याएर कस्तो समाजसेवा गरिरहनु भएको छ ? आफ्नो मिडियालाई तपाईले प्रकृया बिना नै रकम दिएको महालेखा परीक्षकको प्रतिबेदनले पनि औल्याईसकेको छ । यो तपाईले गरेको पद र अख्तियारको दुरुपयोग हो कि होईन ? आफै अध्यक्ष र सञ्चालक रहेको संस्थामा नगरपालिकाको बजेट खन्याईरहनुलाई नै सुशासन मानिदिनु पर्ने हो ?
चर्चा कमाउन राष्ट्रिय व्यक्तित्वहरुको तस्वीर सडक छेउका भित्तामा कुँद्नु हुन्छ । अनि धनगढीमै उद्यम गर्ने युवाहरुलाई पुरै शक्ति लगाएर भित्तामा पु¥याउनुहुन्छ । र, उनीहरुलाई पलायन र विस्थापित गर्न बाध्य बनाउनुहुन्छ ।
ज्यूँदोलाई बाँच्न दिनुहुन्न । मरेपछि पाँच हजार रुपैया दिन हुन्छ । बाँच्न दिनुस । उद्यम गर्न दिनुस । मरेपछिको पाँच हजार चाहिएको छैन नगरवासीलाई । तपाईले चरम दुःख दिदा पनि ऐया पनि भन्न नपाउने ? बिचरा नगरप्रहरी आफ्नै तलवबाट काटिएको रकम मृतक परिवारलाई बुझाउन जादा उनीहरुको मनमा कस्तो हुन्छ होला । झण्डै ९० जना नगरप्रहरीको मासिक तलवबाट एक हजार पाँच सय रुपैया काटेर तपाई मृतकका परिवारलाई कस्तो ‘कृपा’ गरिरहनु भएको छ ?
(१)
क्रमश :
तपाईको प्रतिक्रिया