मेटाले समुद्रमुनि ५० हजार किलोमिटरभन्दा लामो फाइबर केबल बिछ्याउँदै

एजेन्सी । मेटाले ‘प्रोजेक्ट वाटरवर्थ’ नामक ५० हजार किलोमिटरभन्दा लामो समुद्री केबल निर्माण गर्न लागेको पुष्टि लागेको छ । यसले पाँच महादेशहरूलाई जोड्नेछ । गत वर्ष यो परियोजना सुरुवाती चरणमा रहेको हल्ला चलेको थियो ।
यसअघि मेटाले अन्य केबल परियोजनामा साझेदारी गरेको भए पनि, यो पहिलो पटक हो जब कम्पनीले पूर्ण रूपमा स्वामित्व लिने समुद्री पूर्वाधार निर्माण गर्दैछ । यो परियोजना अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा भूमिमा जोडिनेछ । प्रविधिगत रूपमा पनि यो परियोजना नयाँ उपलब्धि हासिल गर्ने दाबी गरिएको छ ।
मेटाका अनुसार, वाटरवर्थ विश्वकै सबैभन्दा लामो २४-फाइबर-पेयर केबल परियोजना हो, जसलाई ‘पहिलो पटकको अनौठो मार्ग’ अपनाएर समुद्रमा ७ हजार मिटर गहिराइसम्म पुर्याइनेछ । यदि केबल पर्याप्त गहिराइमा नराखिएमा, समुद्री खतराहरू जस्तै नाउहरूबाट खस्ने वा तानिने एंकरहरूले स्थायी क्षति पुर्याउन सक्छन्, जसले इन्टरनेट सेवामा अवरोध ल्याउने सम्भावना रहन्छ ।
मेटाले केबल कसरी प्रयोग गर्ने भन्ने बारे विस्तृत जानकारी दिएको छैन । तर, कम्पनीले उल्लेख गरे अनुसार समुद्री केबल डिजिटल सञ्चार, भिडियो अनुभव, अनलाइन कारोबार, र थप सेवाहरू सक्षम बनाउने छ । साथै, उच्च गतिको जडान एआई (कृत्रिम बुद्धिमत्ता) इन्नोभेसनको लागि आवश्यक रहेको छ ।
मेटाका सेवा तथा प्लेटफर्महरूले विश्वभर स्थिर इन्टरनेट प्रयोगको झण्डै १० प्रतिशत र मोबाइल ट्राफिकको २२ प्रतिशत ओगट्ने भएकाले, कम्तीमा पनि कम्पनीका हालका व्यवसायहरूलाई स्थिर जडानबाट फाइदा पुग्ने देखिन्छ ।
प्रधानमन्त्री मोदीले अमेरिका भ्रमण गरेपछि जारी भएको अमेरिका-भारत संयुक्त विज्ञप्तिमा यो घोषणालाई स्वागत गरिएको उल्लेख छ । साथै, भारतले हिन्द महासागरमा समुद्री केबलहरूको वित्तीय सहायता, मर्मत, र सम्भार गर्न मद्दत गर्ने योजना बनाइरहेको पनि बताइएको छ । तर, मेटाका प्रवक्ताले भारत वाटरवर्थ परियोजनाको वित्तीय पक्षमा संलग्न नभएको स्पष्ट पारेका छन् ।
तपाईको प्रतिक्रिया