फरक विचारको सम्मान धनगढीको सुन्दरता

प्रिय गोपी दाई
मैले पछिल्ला लेखहरुमार्फत उठान गरेका विषयहरु मध्ये व्यक्तिका नाममा दर्ता रही सार्वजनिक सडकमा लगतकट्टा हुन बाँकी रहेका सडकहरुको लगत कट्टाको प्रकृया शुरु गर्नुभएकोमा धन्यवाद ।
लामो समयदेखि आफूसंगै नरहेको जग्गाको कर तिर्न बाध्य नागरिकलाई तपाईको यो निर्णयले राहत दिनेछ । अन्य सुझावहरुलाई पनि यसैगरी कार्यान्वयन गरिदिनुहुनेछ भन्ने अपेक्षा छ ।
तपाई निर्वाचित भएपछि तपाईले गरेका हरेक राम्रा कामहरुका लेख्न कहिल्यै कञ्जुस्याई गरेनौ । नगरपालिकाका हरेक सकारात्मक र रचनात्मक कार्यलाई हामीले जहिल्यै महत्वका साथ प्रकाशित गर्दै आएका छौ । जनतालाई असुविधा भएका विषयमा तपाईलाई जानकारी दिनु पत्रकारिताको धर्म ठानेर कर लगायतका विषयमा पनि समाचार मार्फत जनताका गुनासा सार्वजनिक नगरेका होईनौ ।
गत वर्ष तपाईले गरेका राम्रा कामको फेहरिस्त एउटा लेख मार्फत उजागर गरेको थिए । यस पटक दुई वटा लेख मार्फत जनगुनासाहरु सार्वजनिक गरे । तपाईले सुने जस्तो क्रमशः लेख्ने सोच वा उद्देश्य भने थिएन । तपाईको स्वास्थ्यको संवेदनशीलता प्रति म कसरी गैर जिम्मेवार हुनसक्छु ? तपाई एउटा व्यक्ति होईन्, यतिबेला संस्था हो ।
लेखहरु प्रकाशित भएपछि थुप्रै मिश्रित प्रतिक्रिया आए । पक्ष अनि विपक्षमा । दुईटै थरीका प्रतिक्रियाको म सम्मान गर्छु । तर अशिष्ट, अमर्यादित र अशोभनीय प्रतिक्रिया कसैका लागि प्रियकर होईनन् । धनगढीको बिबिधता नै यहाँको सुन्दरता हो । यही बिबिधतामा हुर्किएको धनगढीमा जस्तो हार्दिकता अन्यत्र विरलै पाईन्छ । धनगढी एउटा शहर मात्र होईन । यो एउटा बिचार हो । जसको देशमै पृथक पहिचान छ ।
धनगढीको मात्र नभएर सुदूर पश्चिमको विकासका सवालमा तपाई हामी सधै एक मञ्चमा संगै उभियौ । यो शहर तपाईलाई झै मलाई पनि उत्तिकै प्यारो छ । संसारको जुनसुकै कुनामा पुगेपनि त्यहाँ आफूलाई धनगढीयन भनेर चिनाउन पाउदा गर्व गर्छु । वाद, विचार, आस्था, वर्ण र वर्ग हाम्रा बीचमा कहिल्यै आएन् । एउटै ठाउँमा रहदा, बस्दा, कहीकतै मतभिन्नता भयो होला । कही फरक मत राखे हूला । कही सुझाव दिए । त्यसमा कुनै रीसराग वा प्रतिशोध थिएन । हुदैन पनि । एउटा नागरिक र धनगढीयन भएका नाताले दिएका सुझाव हुन् ।
तपाईजस्तै मेरो पनि परिकल्पना हो– समृद्ध धनगढी, सुन्दर धनगढी । धनगढी विमानस्थल कालोपत्रे, त्यसको सञ्चालन, सुन्दर सुदूर पश्चिम अभियानमा तपाईसंगै होमिने एक जना म पनि हूँ । र, सुदूर पश्चिम दवाव समूह लगायत अरु पनि थुप्रै मुद्दामा हामीसंगसंगै रह्यो ।
पछिल्लो केही समयता गुम्सिएका गुनासाहरु सुन्दा लाग्यो, जनताका सबै गुनासा तपाईसम्म पुगेनन् कि ? तपाई उपमहानगरपालिकाको सर्वागिंण हीतका लागि सोचिरहदा, कही निमूखा बर्गहरु अन्यायमा परेको तपाईले भेउ पाउनु भएन कि ? तपाईका नजिककै कतिपय मान्छेले तपाईलाई घेराबाट बाहिर आउन दिएनन कि ? कतिपय कुरामा तपाईलाई गुमराहमा राखियो कि ? त्यहीकारण सबैसम्म पुग्न पाउनु भएन, सबैका कुरा सुन्न पाउनु भएन कि ? तपाईको प्रतिशोधको शिकार हुने डरले कही मान्छे बोल्न डराईरहेका छन् कि ? तपाईले चाहेको व्यवस्था त्यस्तो पक्कै होईन् । जहाँ तपाईसंग मान्छेहरु डराउन । तिनले आफ्ना कुरा सुनाउनै पाएनन्, जो तपाईलाई सुनाउन चाहन्थे । तिनका कुरा मात्र सुन्नुभयो, जो तपाईलाई मन पर्ने कुरा मात्र सुनाउथे ।
कुरा सबैका सुन्नुस । तर अरुले भनेका कुरा सुनेर कसैप्रति दृष्टिकोण बनाउनुअघि एक पटक त्यही व्यक्तिसंग सोध्नुहोस, वास्तविता के हो ? उसले भनेको हो कि होईन ?
जस्तो, तपाईले ४० वटा लेख आउदैछ रे भन्नुभयो, मैले नबोलेको कुरा तपाईलाई कस्ले पु¥यायो ? किन र कुन नियतले पु¥यायो ? त्यो मान्छे तपाईको प्रिय हुनका लागि कही तपाईलाई तनाव दिने कुरा त गरिरहेको छैन् ?
तपाईसंग मेरो कुनै बैरभाव छैन् । र, हुनुपर्ने कारण पनि छैन् । तपाई जहाँ हुनुहुन्छ, त्यहाँबाट धनगढीका लागि काम गरिरहनु भएको छ । म जुन, ठाउँ र विधामा छु, त्यहीबाट धनगढीलाई चिनाउने र यहाँका सकारात्मक कुराहरुलाई उजागर गर्दै आएको छु ।
तपाईले संक्षिप्त भिडियोमा चुनावताकाको एउटा भिडियोको प्रसंगमा घुमाउरो पाराले मेरो संलग्नता रहेको भन्नुभयो । तपाईलाई राम्रैसंग थाह छ, त्यो कुन पत्रकारले खिच्यो, तपाईको टीमसंग उसको के कस्तो कुरा भयो, जो मेरो सरोकारको विषय होईन । र, तपाई वा अरु कसैका निजी जीवनका विषयमा मैले कहिल्यै त्यस्तो रिपोर्टिङ गरेको छैन् । गर्नुपनि छैन् । आवेशमा आएर तपाई जत्तिको जिम्मेवार व्यक्तिले यस्तो अप्रमाणित कुरा गरेको सुहाउदैन् ।
कसैको निजी मामिला मेरो चासोको विषय कहिल्यै रहेन् । सार्वजनिक सरोकारका विषयमा लेख्न मलाई मलाई अन्य मिडियाको सहारा कहिल्यै चाहिएन ।
तपाई धनगढी उपमहानगरपालिकाको प्रमुख हो । त्यसैले धनगढीमा भएका राम्रा काम र निर्णयको जस तपाईले पाउनुहन्छ । अपसजको भागीदार पनि तपाई नै । पदमा बसेको व्यक्तिसंग आम नागरिकको अपेक्षा पनि हुन्छन् । र, आलोचना पनि कहिलेकाही आउनसक्छन् । यो स्वाभाविक प्रकृया हो ।
कुनै सन्दर्भ र घट्नाका सम्बन्धमा लेख तथा समाचार लेख्नु पत्रकारको धर्म हो । मैले त्यही धर्म निर्वाह गरेको हूँ । मेरो लेखको आशय पनि त्यही हो ।
लेखमा उल्लेख गरिएका विषयवस्तु, सुझाव प्रति तपाई वा तपाईका समर्थकहरुको बिमती हुन सक्छ । त्यसमा आउने शिष्ट र मर्यादित सुझाव र प्रतिक्रियालाई स्वाभाविक रुपमा लिन्छु । तर त्यसैलाई आधार बनाएर हुर्मत लिने, अशिष्ट भाषा र शैलीमा प्रस्तुत हुने समर्थकहरुलाई तपाईले रोक्नु भएन भने त्यसले समाजलाई कता डो¥याउला ? तपाई हामीले परिकल्पना गरेको समाज के त्यस्तै हो त ? जहाँ फरक मत राख्नै नपाईने ?
सडक विस्तारका क्रममा उठिवास भएका, जसको जीवनयापनका सबैबाटाहरु बन्द भएका छन्, उनीहरुका लागि बाँच्ने वातावरण बनाईदिनुहोस । मेयरका हैसियतले तपाई नै उनीहरुको संरक्षक हो ।
धनगढीको मूल सडकका व्यवसायीहरु धराशायी भएका छन् । कैलाली उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष समेत रहीसकेको नाताले, व्यवसायीका कुरा सुन्नु तपाईको दायित्व हो, जसको हकहीत र रक्षाका लागि तपाईले आफ्नो कार्यकालमा काम पनि गर्नुभयो । त्यो विगत त विर्सिनुभएन भन्ने व्यवसायीहरुको गुनासो छ । अझै ढिलो भएको छैन्, उनीहरुसंग संवाद गरिदिनुहोस । उनीहरुका कुरा सुनिदिनुहोस ।
यो पनि सत्य हो, व्यवसायीका सबै समस्या तपाईले समाधान गर्नसक्नुहुन्न, कतिपय समस्या पहिलेदेखि नै थिए, बजार विस्तारका क्रममा केही समस्या थपिए, तर उनीहरुको पीडामा तपाई मल्हम लगाउन सक्नुहुन्छ । तपाईसंग व्यवसायीको यस्तो अपेक्षा छ ।
नागरिकको गुनासो छ, पालिकाले करमाथि कर लगायो । जस्तो धनगढी उपमहानगरपालिकामा कर तिर्न जादा त्यहाँ सवारी साधन पार्किङ गर्दा कर असुल्ने गरिएको छ । र, ईलेक्ट्रिक गाडी चार्ज गर्दा चार्जिङ शुल्कसंगै पार्किङ शुल्क पनि लिने गरिएको छ । यस्ता दोहोरो शुल्क बन्द गरियोस ।
शिक्षकहरुको सरुवामा गुनासो छ । कसैले राम्रो ठाउँ पाए । योग्यता नपुगेकाहरुले पनि जिम्मेवारी पाए । त्यही विद्यालयमा योग्यता भएकाहरु भूमिका विहीन भए । अन्याय भयो भने वाफत चार महिनाको तलव नपाएको एक जना शिक्षक गुनासो गर्दै थिए । विरामी र अशक्त शिक्षकलाई धनगढीबाट जुगेडा सरुवा गरिएको गुनासो छ । कतिपय विरोध गर्ने शिक्षक पुरस्कृत भए । भनसुन र पहूँच भएकाहरु दुर्गमबाट सुगम तानिए । चुपचाप काम गर्ने अन्यायमा परिरहे । शिक्षकका यस्ता गुनासाहरुलाई सुनिदिनुहोला ।
तपाईले गरेका थुप्रै राम्रा कार्यहरु यस्ता साना साना कुराहरुले ओझेलमा परिरहेका छन् । परालमा लगाईएको कर हटाईयोस । कतिपय कर अस्वभाविक छन्, अचाक्ली छन्, त्यसमा सुधार गरियोस । परिमार्जन गरियोस । कतिपय वस्तुमा अन्तर वडाभित्रै कर लिने गरिएको नगरवासीको गुनासो छ
तपाई सबैको मेयर हो । सबैलाई समान व्यवहार गरिदिनुहोस । तपाईका लागि कोही टाढा कोही नजिक हुनुहुदैन् । सवैलाई न्याय होस । तपाईको व्यवहार र नीतिका कारण कोही अन्यायमा नपरुन् ।
तपाई मेयर भईसक्नु हो । एउटा ईतिहास रचिसक्नुभयो, तपाई मेयर पदमा हुदासम्मका लागि लोकप्रिय हुनेभन्दा नगरका बासिन्दाका मनमा सधैभरी दिगो छाप छोड्नुपर्छ भन्ने हो । त्यसका धनगढीको विकास र समृद्धिमा सबैलाई जोड्नुहोस । सबैलाई साथमा लैजानुहोस । कतिपय सवालमा तपाईसंग मतभिन्नता हुन सक्छ । जव धनगढीको विकासको कुरा आउछ, त्यतिबेला मतभिन्तताभन्दा माथि उठेर संगै हिडेका छौ । फेरि पनि हिड्नेछौ ।
तपाईलाई लिएर कर्मचारीमा डर छ । आम मान्छेमा डर छ । त्यो डर तपाई पदमा रहेसम्म मात्र हो । म चाहन्छु, तपाईलाई लिएर कर्मचारी र आमनागरिकमा श्रद्धा होस, सम्मान होस । जुन श्रद्धा र सम्मान तपाई पदबाट हटेपनि रही रहीरहोस ।
धनगढी उपमहानगरपालिकामा यस्तो थीति बसालिदिनुहोस, ताकि तपाई पदमा नरहेपनि त्यो थीति कायम रहोस । सिष्टमलाई बलियो र संस्थागत गरिदिनुहोस ।
जहाँ मान्छे विचार शुन्य हुन्छ । जहाँ मान्छेले आफूलाई दुख्दा ऐया भन्न पाउदैन् । जहाँ फरक मतको रक्षा र सम्मान हुदैन् । त्यो शहर मृत हुन्छ । तपाईले परिकल्पना गरेको धनगढी पक्कै पनि त्यस्तो होईन् ।
लेखपछि आएका सैयौ सकारात्मक प्रतिक्रियाले म उत्साही भएको छैन् । यो लेख कुनै व्यक्तिप्रति लक्षित थिएन् । धनगढी उपमहानगरपालिकाका मेयरसंग जोडिएका विषयमा राखिएका केही जिज्ञासा, केही गुनासा र केही आग्रह थिए ।
जहाँ जन्मिए । जहाँ हुर्किए । आगो पैचो लिएर हुर्किएको यो समाजमा डरलाग्ने गरी कसरी हुर्कियो, अशिष्टता ? जहाँ मान्छे भावना विहीन भए । संवेदनाविहीन भए ।
उनीहरुप्रति पनि कुनै गुनासो छैन्,जसले सबै चिज विर्सेर तल्लोस्तरमा अशिष्ट टिप्पणी गरे । मैले आफैले २०२२ मा पोष्ट गरेको ईन्टरनेशनल भिजिटर लिडरसीप प्रोग्राम (आईभिएलपी)को फोटो तानेर हतारमा शेयर गरे । त्यही फोटोको मुन्तिर लेखिएको क्याप्सन नबुझ्ने त सायद कोही थिएनन् । संसारका प्रतिष्ठित कार्यक्रममा सहभागी हुनु कसैको एजेण्ट हुनु होईन्,कसले बुझाओस ।
कुनै पार्टी वा नेताले मलाई अवसर दिएको छैन् । त्यस्तो अवसर लिनु पनि छैन् । मैले जे पाए, यही धनगढीबाट पाएको हूँ । यही समाजमा बस्नुछ । जिना यहा मरना यहाँ । संसारको जुनसुकै देशमा गएपनि धनगढीयनका रुपमा सगर्व चिनाउछु ।
धनगढीको नागरिकका तर्फबाट मेयर साप तपाईसंग मेरा केही आग्रह छन् ।
अनावश्यक कर हटाईदिनुहोस । कतिपय करको दर परिमार्जन गर्दा नागरिकलाई सहज हुनेछ ।
तपाई सबैको साझा व्यक्ति हो । हरेक नागरिकलाई समान व्यवहार गरिदिनुहोस। सबैका लागि न्याय बराबरी होस । तपाईको नीति र व्यवहारबाट कोही अन्यायमा नपरुन । कोही प्रताडित नहुन् ।
सडक विस्तारका क्रममा उठिवास भएका निमूखा बर्गको जीवनयापन सहज बनाउन पहल गरिदिनुहोस ।
तपाईको प्रिय भईरहन ‘सबै ठिक छ’ भनिरहन सकिन्, जे देखे, त्यही भने । अव यति लेखे वाफत यो शहरमा बाँच्न पनि नपाईने भए । शहर तपाईको । मर्जी तपाईको ।
मेयर साप, तपाई पहिले झै स्वस्थ हुनुुस । अझै धेरै बाँच्नुस । र, धनगढीका नागरिकलाई पनि बाँच्ने वातावरण बनाईदिनुहोस । यही कामना र आग्रह छ ।
तपाईको प्रतिक्रिया