परदेशीको पर्खाइमा गाउँबस्ती

आइतबार फागुन २५, २०८१/ Sunday 03-09-25
Paschim Today

बाजुरा, २५ फागुन । बाजुराका अधिकांश गाउँबस्ती यतिबेला परदेशीको पर्खाइमा छन् । हिउँद लागेसँगै यहाँका अधिकांश युवकयुवती भारत पसेपछि ती गाउँबस्ती खाली हुँदै गएकाले उनीहरू फर्किने आसमा बसेका हुन् । यहाँका स्थानीय कात्तिकरमङ्सिरको हिउँदे खेती लगाउने र त्यसपछि कामको खोजीमा भारत जाने गर्दछन् ।

कामको खोजीमा हिउँदको महिना भारत गएका परदेशीको यतिखेर आफन्त तथा गाउँलेले प्रतीक्षा गरिरहेका छन् । धन कमाउन परदेसिएका घर नफर्किएपछि गाउँबस्ती खाली हुँदै गएको बुढीगङ्गा नगरपालिका स्थानीय ज्येष्ठ नागरिक कविता नेपालीले बताए ।

उनले भने, “दसैँको बेला सबै युवा घरमा आउँदा गाउँ निकै भरिभराउ भएका हुन् । दसैँ सकिएसँगै फेरि ती सबै कामको खोजीमा  धमाधम भारत गएपछि अहिले गाउँबस्ती खाली भएका हुन् ।” बाजुराका अधिकांश स्थानीय हिउँद र बर्खाको केही महिना घरमा बसे पनि त्यसपछि उनीहरू अन्य सबै महिना भारतमै बस्ने गर्दछन् । 

यहाँका स्थानीयको कात्तिक मङ्सिरमा हिउँदे तथा असारमा बर्खा खेती लगाउन गाउँमा आउने र त्यसपछि फेरि कामको खोजीमा भारतमा जाने प्रचलन छ । नेपालको २०७८ सालको जनगणना अनुसार बाजुरामा २८ हजार ६४ घरधुरी छन् । अहिले यहाँका झन्डै ५० प्रतिशत घर खाली छन् । गाउँघरमा यसो हेर्दा यहाँका अधिकांश घरमा ठुला ताल झुन्डिएका छन् ।