उद्धार माग्दामाग्दै अस्ताए भिरबाट लडेका भण्डारी, १७ घण्टापछि निकालियो शव

मंगलबार फागुन २७, २०८१/ Tuesday 03-11-25
Paschim Today

कर्णाली नदीमा माछा मारेर घर फर्कने क्रममा हाँडेभिरबाट लडेर गम्भीर घाइते भएका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– २, फयालगाउँका ४० वर्षीय पुसे भण्डारीको उद्धार माग्दामाग्दै ज्यान गएको छ । आइतबार अपराह्न ४ः३० तिर लडेका उनले घरमा फोन गरेर घटनाबारे जानकारी गराएलगत्तै गाउँलेहरू घटनास्थल पुगे पनि उद्धार हुन नसकेपछि साँझ ७:३० तिर ज्यान गएको हो । उद्धारका लागि नदीछेउमा पुगेका पाँचजना पनि रातभर त्यहीँ फसेका थिए ।

जीवितै उद्धार हुन नसकेको मात्रै होइन, भण्डारीको शव पनि मृत्युको करिब १७ घण्टापछि मात्रै निकालिएको छ । आइतबार राति शव निकाल्न समस्या भएपछि सोमबार मध्याह्न १२:०० बजेतिर डुंगामार्फत निकालिएको हो । भण्डारीको उद्धारमा नदीछेउ पुगेर फसेका पाँचजनालाई पनि सोही डुंगाबाट उद्धार गरिएको थियो । 
स्वामीकार्तिक खापर गाउँपालिका–२ का वडाध्यक्ष विष्णुबहादुर बुढाका अनुसार एक्लै माछा मार्न गएका भण्डारी घर फर्किन हाँडेभिरमा उक्लिने क्रममा लडेका थिए ।

‘म भिरबाट लडेँ, छिटो आउनू भनेर आइतबार साँझ ४:४५ बजेतिर घरमा फोन गर्नुभएको रहेछ, लगत्तै गाउँमा खबर भएपछि उद्धारका लागि टोली गयो, योबिचमा उहाँले तीनपटक फोन रिसिभ पनि गर्नुभएको देखिन्छ,’ वडाध्यक्ष बुढाले भने, ‘तर, अप्ठ्यारो भिर र राति भइसकेको थियो । टोलीले सख्त घाइते अवस्थामा कर्णालीको छालनजिकै भेट्टायो । रुखका जरा समातेर उक्लिनुपर्ने भिरमा मान्छे बोकेर लैजान सक्ने अवस्था थिएन । कर्णालीपारि (पश्चिम) जान बोटको जोहो गर्दागर्दै साँझ ७ः३७ तिर श्वास छोड्नुभयो ।’ 

दुवै खुट्टा र एउटा हात भाँच्चिएको तथा टाउकोमा चोट लागेको अवस्थामा भण्डारीलाई स्थानीयले फेला पारेका थिए । भण्डारी आइतबार अपराह्न ४ बजेतिर माछा मार्न पुगेका थिए । भिरबाट लडेका भण्डारीको कर्णाली नदीछेउमा ज्यान गएपछि स्थानीय र आफन्तले रातभर आगो बालेर कुरेका थिए । ‘हामी नदीको पश्चिमकिनारमा बस्यौँ । उद्धारका लागि पुगेको टोली नदीको पूर्वीकिनारमा शव कुरेर बस्यो,’ वडाध्यक्ष भण्डारीले भने, ‘घाइते अवस्थामा भएको भए राति नै बोट चलाउने तयारीमा थियौँ । ज्यान गइसकेकाले उज्यालो भएपछि मात्र सबै घर जाउँला, राति नै जान खोज्दा अर्काे घटना हुन सक्छ भनेर रातभर कुरेका हौँ ।’

 जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरीका अनुुसार भिरबाट लडेर ज्यान गएको खबर प्राप्त भएपछि जुड्डी प्रहरी चौकीबाट प्रहरी परिचालन भएको थियो । तर, उद्धारका लागि पुगेर नदीकिनारमा अड्किएकाको उद्धार र शव ल्याउन राति सम्भव नहुने देखिएपछि सोमबार बोट (डुंगा)को सहायताले उद्धार गरिएको हो । पाँच स्थानीय र तीन सुरक्षाकर्मीसहित आठजनालाई आइतबार बिहान ११ देखि १२ बजेसम्म एक घण्टा लगाएर उद्धार गरिएको हो । कर्णाली नदीको बेग तीव्र रहेकाले बोटलाई पनि डोरीले तानेर पूर्वीकिनारदेखि पश्चिम किनारा ल्याइएको थियो । भण्डारीको शवको सोमबार नै कर्णाली नदीमा दाहसंस्कार गरिएको वडाध्यक्ष बुढाले बताए । उनका श्रीमती, एक छोरा र तीन छोरी छन् । 

भिरमै पुगेका पाँचजनाले पनि उद्धार गर्न सकेनन्, बरु उनीहरू नै फसे : वडाध्यक्ष
स्वामीकार्तिक खापर गाउँपालिका– २ का वडाध्यक्ष विष्णुबहादुर बुढाका अनुसार एक्लै माछा मार्न गएका भण्डारी घर फर्किन हाँडेभिरमा उक्लिने क्रममा लडेका थिए । ‘म भिरबाट लडेँ छिटो आउनु भनेर आइतबार साँझ ४:४५ बजेतिर घरमा फोन गर्नुभएको रहेछ, लगत्तै गाउँमा खबर भएपछि उद्धारका लागि टोली गयो, योबिचमा उहाँले तीनपटक फोन रिसिभ पनि गर्नुभएको देखिन्छ,’ वडाध्यक्ष बुढाले भने, ‘तर, अप्ठ्यारो भिर र राति भइसकेकको थियो । टोलीले सख्त घाइते अवस्थामा कर्णालीको छालनजिकै भेटायो । रुखका जरा समातेर उक्लिनुपर्ने भिरमा मान्छे बोकेर लैजान सक्ने अवस्था थिएन । कर्णालीपारि (पश्चिम) जान बोटको जोहो गर्दागर्दै साँझ ७:३७ तिर श्वास छोड्नुभयो ।’