सुदूरपश्चिममा तत्काल राजनीतिक नियुक्ति परिपूर्ति गर्ने संयन्त्रको निर्णय

कैलाली । सत्ता गठबन्धनको सुदूरपश्चिम प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई अझै प्रभावकारी बनाउने गरी छलफल अगाडी बढाएको छ । मुख्यमन्त्री कमल बहादुर शाहको सरकारी निवासमा बसेको संयन्त्रको दोस्रो बैठकमा प्रदेश सरकारको कामलाई अझै प्रभावकारी बनाउने, राजनीतिक नियुक्तिलाई तत्काल परिपूर्ति गर्ने, जनताको अपेक्षा र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार गर्ने लगायतका विषयमा छलफल भएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका प्रवक्ता सुरत रावतले जानकारी दिए ।
‘सरकारलाई अझै प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको थियो । आपसी समझदारीको आधारमा चाँडै राजनीतिक नियुक्ति परिपूर्ति गर्ने निर्णय गरिएको छ ’ प्रवक्ता रावतले भने ।
सुदूरपश्चिमका प्रादेशिक अस्पतालहरूको अध्यक्ष पद रिक्त हुँदै छ । खेलकुद परिषद् युवा परिषद्, विभिन्न पर्यटन विकास बोर्ड र प्रज्ञा प्रतिष्ठान पनि चाँडै रिक्त हुँदै छन् । राजनीतिक नियुक्तिका बेला गठबन्धनमा खटपट नहोस् भन्नका लागि बुधवारको छलफलले त्यसको खाका बनाउने जिम्मा मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह र पूर्व मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई दिएको छ ।
‘राजनीतिक नियुक्तिका विषमा दुई दलका नेताहरूले खाका ल्याउनु हुन्छ ,त्यसमा छलफल गरेर चाँडै नियुक्ति गर्ने छलफल भएको छ ’ बैठकमा सहभागी एक नेताले भने ।
बैठकमा कांग्रेसको तर्फबाट प्रदेश सभापति वीरबहादुर बलायर, मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेश उपसभापति लोकराज अवस्थी र प्रदेश प्रवक्ता सुरत रावल थिए । त्यस्तै बैठकमा एमालेको तर्फबाट केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, पूर्व मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी उपस्थित थिए । बुधवारको बैठकको अध्यक्षता कांग्रेस सभापति बलायरले गरेका थिए । यस अघिको पहिलो संयन्त्रको बैठकको अध्यक्षता एमालेका इन्चार्ज भट्टले गरेका थिए ।
बैठकमा पूर्व मुख्यमन्त्री रावलले आगामी बजेट अझै प्रभावकारी हुनुपर्ने बताएका थिए । ‘अब टुक्रे योजना होइन दिगो रूपले हेरेर गौरवका योजनामा सरकारले चासो दिनु पर्छ ’ उनले भने, ‘आगामी बजेट प्राथमिकताको आधारमा हुनुपर्छ र हुन्छ ।’
बैठकमा मुख्यमन्त्री शाहले आफूले सुधारका केही प्रयास गरेको भन्दै आगामी आर्थिक वर्षको बजेट अझै प्रभावकारी हुने बताए । ‘ देखिने काम हुनेछन् । सुशासनको जग अझै बलियो हुने छ ’ उनले भने ‘यो गठबन्धन पुरै कार्यकाल टिक्छ । हामी समन्वय र सहकार्य गरेर अगाडी बढ्छौँ । ’
एमाले केन्द्रीय सचिव भट्टले आपसी समन्वयमा आधारमा काम गर्न सुझाव दिएका थिए । राजनीतिक संयन्त्रलाई अझै प्रभावकारी बनाउनु पर्ने भन्दै उनले सत्ता गठबन्धनको संयन्त्र पालिका स्तरसम्म पनि पुराउन आवश्यक रहेको बताएका थिए ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेका कांग्रेस प्रदेश सभापति बलायरले सरकार सञ्चालन गर्दा केही समस्या आए संयन्त्रको बैठकबाट टुङ्गो लगाउनु पर्ने बताएका थिए । संसद् विकास कोष खारेज गर्नुपर्नेमा प्रदेश सभापति बलायरको जोड थियो । निर्वाचन प्रणाली फरक फरक रहेको भन्दै दुवै प्रणालीबाट आएका प्रदेश सांसदलाई समान ढङ्गको भूमिका दिनुपर्ने उनको भनाइ थियो । प्रदेश सभापति बलायरले प्रदेश निर्वाचन क्षेत्रको जिम्मा दिएर भए पनि समानुपातिक र समावेशी विकास अगाडी बढाउनु पर्ने बताएका थिए ।
सुदूरपश्चिम प्रदेशका दुई ठुला दलका नेतासहितका पार्टीका नेता बसेर प्रदेश सरकारलाई अझै प्रभावकारी बनाउने छलफल गरेका छन् । यसले केही टेवा पुग्ने अपेक्षा गरिएको छ । संयन्त्रको बैठक बुधकार दोस्रो पटक बसेको हो । यसअघि पुस ८ गते मुख्यमन्त्रीकै सरकारी निवासमा बसेको थियो ।
तपाईको प्रतिक्रिया