काबुल डायरी

शुक्रबार फागुन ३०, २०८१/ Friday 03-14-25
Paschim Today

-प्रेम राज अवस्थी 

२०८० सालको दशैको दिन, धनगढीमा वा-आमासँग टीका तथा आशीर्वाद थापेपछि, खानपान पश्चात् आत्मिक सन्तुष्टिको अनुभूति गर्दै आँपको वृक्ष मुनी रहेको खाटमा दिवास्वप्नमा मस्त रहेको बेला फोनमा ‘टिङ्ग्रिङ्ग’ मेसेजको घण्टी बज्यो। हेर्दा, एउटा सूचना आएको रहेछ-"तपाई संयुक्त राष्ट्र संघको अफगानिस्तान मिसनका लागि योजना अधिकृत पदका लागि चयन हुनुभएको छ।" त्यसपछि मनमा चञ्चलता छायो। अन्तर्राष्ट्रिय जागिरको चाहना केही समयदेखि गरेको भएता पनि द्वन्दग्रस्त क्षेत्रमा काम गर्न जान स्वभाबिक रूपमा दुबिधा हुने भइहाल्यो। त्यसैले, मैले इमेलको तत्कालै जबाफ नफर्काई केही समय सोच्न समय लगाए। घर-परिवार, श्रीमती जी सँग कुरा गर्दा फरक विचार र तर्क पाए पनि अन्ततः नेपालमा संयुक्त राष्ट्र संघको २० वर्ष (२०६० देखि २०८० सम्मको) देखिको मानवीय आपत्कालीन समन्वय, विपद् व्यवस्थापन र शान्ति र आर्थिक-सामाजिक विकासको काममा संलग्नतालाई बिट मार्दै अन्तर्राष्ट्रिय अनुभव बटुल्ने मनसायका साथ राष्ट्र संघको अफगानिस्तानको जागिर को प्रस्ताव स्वीकार गर्ने निर्णय र नियति सँगै अघि बढे। दुई महिनामा दसकौँ देखि गरिराखेको काम लाई हस्तान्तरण गर्दै अन्तर्राष्ट्रिय करियरको तयारीमा लागे।

२०८० सालको पुसको पहिलो हप्ता, काठमाडौँ बाट अफगानिस्तानको राजधानी काबुलका लागी यात्रा सुरु गर्न केही घण्टा मात्र बाँकी रहँदा, पत्रकार मर्टी लोगनको ‘नेपाल नाउ’ पोडकास्टमा बसाइँ-सराइ, जीवनको नयाँ अध्याय र अपेक्षाहरूबारे कुराकानी गरे। साथै, मेरो डोटी देखि चलिरहेको बसाइँ-सराइ लगायत नेपालबाट अन्य देशहरूमा हुने बसाइँ-सराइले जीवनमा पारेको प्रभावका विभिन्न आयामबारे चर्चा गरे।

पुसको कठाङ्ग्रिने चिसोमा, साँझको समय। प्रियजनहरू बाट टाढा जाँदा मन कहाँ न्यानो हुनु ? विदेशमा काम गर्न जान लागेको पहिलो पटक नभए पनि काठमाडौँ छोड्दा मनमा मिश्रित भावना थिए- नयाँ अवसर, नयाँ चुनौती र नयाँ यात्रा। द्वन्दग्रस्त क्षेत्रमा जाँदा घरपरिवार, साथीभाइको स्वाभाविक चिन्ता र प्रतिक्रियाले मनमा असहज अनुभूति हुँदा हुँदै, २०८० पुस ९ गते राती दुबई हुँदै जीवनमा पहिलो पटक काबुल यात्रामा निस्किए।

एयरपोर्टको ट्रान्जिट होस् वा हवाईजहाजमा, घर-परिवारको सम्झनाले मन भरिएको थियो। मनमा विभिन्न खाले सोचहरू आइरहे: “नेपालमा ठिकै थियो, किन र के को लागि परिवार, बाल-बच्चा छोडेर हिँड्दै छु?” दुबई एयरपोर्टमा हवाईजहाज बोर्डिङ लाइनमा उभिँदा अचानक मनमा प्रश्न आयो -"म कहाँ जाँदै छु?" लाइनमा केही बेर उभिएँ, वरपरका अनुहारहरू नियाले, आफू भन्दा बिलकुलै फरक हुलिया भएका मानिसहरूको भिडमा आफूलाई एक्लो पाए । मन भारी भयो,श्वास फेर्न गाह्रो भयो, त्यसपछि लाइनबाट बाहिरिएर एक छेउमा बसेँ। फेरि लाइनमा उभिँदा पनि त्यही अनुभव दोहोरियो, कुनै चिनेको अनुहार थिएन। तर जब केही पगडी लगाएका अनुहारहरू देखेँ (सुदूर-पश्चिम तिर धामी लगायत अन्य केही मानिसहरू पगडी लगाउने भएकोले) अलि परिचित परिवेशको हल्का झल्को आयो, अनि मन लाई शान्त पार्ने कोसिस गरे। 

कठ्याङ्ग्रिने जाडो र धुलाम्य हावामा काबुल विमानस्थलमा उत्रिएको पहिलो दिन खुब सुमराई लागि घरकी (घर को सम्झना आइरह्यो)। आफैँसँग प्रश्न गरेँ- "किन यति टाढा आए?" तर, यहाँका मानिसहरूको आतिथ्य र सरलताले मन छोयो। लामो यात्रापछि काबुली आतिथ्य र नेपाली साथीभाइहरूको न्यानो आत्मीयताले मन केही हलुका भयो। संसारको जुन कुनामा गए पनि एक नेपालीले अर्को नेपाली लाई गर्ने सदभाब काबुलमा पनि पाएँ। अफगानिस्तानमा विभिन्न संघ संस्था लगायत सुरक्षा कम्पनीमा काम गर्ने नेपाली समुदायको उपस्थित राम्रै छ। अझ यसमा पनि धनगढीका चिरपरिचित  तीर्थ राज जोशी (राष्ट्र सङ्घीय निकायमा वित्त विशेषज्ञका रूपमा कार्यरत) भएकाले सुनमा सुगन्ध थपिएको छ। मर्निङ्ग वा सन्ध्याकालीन वाकमा सँगै हिँड्दै पहाडी-डोटेलीमै कुरा गर्दा सुदूर-पश्चिममै छु भन्ने आभास हुन्छ। 

विगत एक वर्षदेखि हरेक चार हप्तामा काबुल- काठमाडौँ आवत जावत गरिरहेको छु। तर पनि काठमाडौँ बाट काबुल आउने बेलामा विभिन्न भावना आइरहन्छन्। यसै क्रममा २०२८१ साउन महिनामा, काठमाडौँ बाट काबुल आउने दिन, "बाबा, कहिले आउनु हुन्छ?" सानो छोरीको प्रश्न सुन्ने बित्तिकै मन भक्कानियो। आँखा भरिए पनि नक्कली मुस्कान सहित एक महिना मा फर्किहाल्छु नि भने। मनमा त आफैलाई भनिरहेको थिए, घरपरिवारलाई छोडेर फेरि गइरहेको छु। अझ, आमासँग फोनमा कुराकानी गर्दा झन् भावुक भएँ। एक दुई दिन यस्ता भावनामा हराए पनि फेरि आफ्नो नियत काममा फर्किहाल्छु, , र यस्तो चक्र चल्न थालेको डेढ वर्ष जति भयो।

काठमाडौँबाट काबुल भौगोलिक रूपमा टाढा नभए पनि, भावनात्मक रूपमा भने टाढा लाग्छ । विदेशमा रहँदा मातृभूमिको सम्झनाले मन भरिने र स्वदेशमा विदेशको रहरको चक्कर चलिरहन्छ। विदेशमा रहँदा, विशेष गरी सुदूर पश्चिम, डोटीमा बिताएको समय र गाउँको सम्झना आइरहन्छ। बेला बेलामा डोटी देखि काबुलको यात्राले मातृभूमिको माया झन् बढाएको अनुभूति हुन्छ। यो अनुभूति नयाँ भने होइन, आजभन्दा १० वर्षअघि, दक्षिण अफ्रिकाको एउटा देशमा छोटो समय बस्दा यस्तै भावनाहरूका साथ समय बितेको थियो। तर, एउटा भनाइ छ नि, “जति बढी यात्रा गर्‍यो त्यही अनुपातमा ज्ञान र दृष्टिकोण हुन्छ।” संसार बुझ्ने क्रममा फरक समाज, संस्कृति, र भूगोलमा काम गर्दा विश्व दृष्टिकोण विस्तार गर्न र फरक परिवेशमा आफूलाई समायोजन गर्न मद्दत मिलिरहेको छ। 

काबुलमा नियमित कामबाहेक फुर्सदको समयमा, व्यायाम र योग गर्ने, किताब पढ्ने गरिन्छ। कुनै सामाजिक-पारिवारिक काममा समय दिनु नपर्ने भएकोले यहाँ आफूलाई समय दिन र स्वास्थ्य जीवनयापनका लागी समय र प्रेरणा मिलेको छ। सुरक्षा अवस्थाका कारण यहाँका गाउँहरूमा भ्रमण गर्न सजिलो छैन। यद्यपि, साथीहरूबाट यहाँको संस्कृति बुझ्न पाइरहेको हुन्छु। कहिलेकाहीँ हाट-बजारमा स्थानीय उत्पादनहरू र सामग्रीहरू अवलोकन गर्दै अफगानिस्तानको विविधता र जीवनशैली बुझ्ने गरेको छु। 

काबुलमा हिउँ पर्दा र परेपछि हिउँले ढाकेका डाँडाहरूको दृश्य रमणीय र अनुपम देखिन्छ। हिउँ फुसफुस झरिरहँदा प्रकृतिले सेतो फूलको वर्षा गरिरहेको आभास हुन्छ। रूखका पातविहीन हाँगाहरूमा हिउँ जमेर सेता फुलहरू झैँ झल्किन्छन् र सेताम्मे बाटाहरूमा मानिसहरूले हिउँको डल्ला खेलिरहेको रमाइलो दृश्यले लोभ्याउँछ। विदेशी साथीहरूले हामी नेपालीलाई हिमाली देशका बासिन्दा भनेर चिन्दछन, उनीहरूलाई हामी सधैँ हिउँमै खेलेर हुर्केको जस्तो लाग्छ। तर, यथार्थमा नेपालमा हिउँको अनुभव गर्न कहाँ सजिलो छ र? मध्य-पहाड र तराईका नेपालीलाई स्वदेशभन्दा विदेशमै हिउँको अनुभव गर्न सजिलो छ भन्ने कुरा विदेश मित्रहरूलाई वर्णन गर्न नेपालका विविध भूगोलको वर्णन गर्नु पर्छ।

अफगानिस्तानको नाम सुन्दा प्रायः नेपालीहरू विभिन्न खाले प्रश्नहरू गर्छन्। कतिले सामाजिक सञ्जालमा भाइरल भएका काबुलका ७० को दशक (आज भन्दा ५० वर्ष अघि) महिलाहरू मिनी स्कर्टमा बाटो र गल्लीहरूमा हिँडेको फोटोहरूबारे सोध्छन्। कोही काबुली नदी, बामियान बुद्ध र महाभारतको कान्धारी राजाको बारेमा सोध्छन् । केही चाहिँ वि.सं. २०५६ सालमा (२५ वर्ष अघि) इन्डियन एयरलाइन्सको विमान (आइसि ८१४) काठमाडौँबाट अपहरण गरेर आतंकबादीहरूले अफगानिस्तानको कान्दाहार सहर पुर्‍याएका घटना कोट्याउँछन्। सकारात्मकभन्दा नकारात्मक चित्रण नै बढी पाइन्छ।

तर, खासमा अफगानिस्तान सम्भावनाले भरिएको देश हो। यहाँ नेपालजस्तै प्राकृतिक स्रोत साधनहरू प्रचुर मात्रामा छन्। अफगानीहरू मिलनसार छन् र उनीहरूको आतिथ्य जबरजस्त हुन्छ। 

यहाँ स्थानीय पास्तो र दारी भाषासहित हिन्दी पनि बोल्ने भएकाले, उनीहरू दक्षिण एसियालीहरूसँग रमाइलो ख्याल-ठटा हिन्दीमै गर्छन्। एउटा यस्तै प्रसङ्गमा, १० औँ पटक काबुलबाट दुबई हुँदै काठमाडौँ आउने क्रममा सँगैको सिटमा बसेको अफगानीले "इकोनोमी क्लास गरिबहरूको क्लास हो" भन्दै सुनाएको कुरा ले अहिले पनि हाँसो लाग्छ। 

तालिबानको शासनपछि लागु गरिएका कानुनले महिलाहरूको अधिकार र स्वतन्त्रतालाई सीमित गरिदिएको छ। अहिले अफगानिस्तान महिलाहरूका लागि सबैभन्दा कठिन ठाउँ भएको छ। धेरैले सन् ७० को दशकको महिलाहरूको फोटोको प्रसङ्गसँग दाँज्छन् र काबुल आजभन्दा ५० वर्षअघि त्यस्तो थियो, कसरी यस्तो भयो भनी प्रश्न गर्छन्। धेरैजसो अफगानीहरूलाई विगतको गौरवले पछाइरहेको हुन्छ। कुनै समय काबुल फेसनको केन्द्र र हिप्पीहरूको स्टप-ओभर थियो। काठमाडौँ पुग्नुअघि उनीहरू यहाँ रोकिन्थे। त्यो बेला महिलाहरू स्वतन्त्र रूपमा हिँडडुल गर्थे भन्ने कुरा अपत्यारिलो लाग्छ।

  काबुल मा महिलाहरुले संचालन गरेको हस्तकला र उत्पादन।

त्यो बेला रणनीतिक रूपमा अफगानिस्तान मध्य एसिया र दक्षिण एसियालाई जोड्ने कडी थियो। वि.सं. २०२६ को दशकसम्म काबुल युरोप जाने बिन्दु थियो। काबुल अन्तर्राष्ट्रिय विमानस्थल अहिलेको दोहा वा दुबईभन्दा चलेको थियो रे, नेपाली भ्रमण टोली काबुल भएर युरोप जाने गर्दथ्यो। एक ताका राजा महेन्द्र सोभियत संघको भ्रमण जाँदा अफगानिस्तान राजाको आतिथ्यमा काबुल बसेका थिए र अफगानिस्तानका राजा जाहिर शाहले नेपाल राजकीय भ्रमण गरेका थिए। अफगानिस्तान युद्धको चपेटामा पर्नुअघि, काबुल र काठमाडौँबिचको सम्बन्ध राम्रो थियो। वि.सं. २०१७ मा नेपाल र अफगानिस्तानबिच दौत्य सम्बन्ध स्थापित भए पनि आर्थिक तथा सामाजिक सम्बन्धमा सन्तोषजनक रूपमा विकास हुन सकेन। पछिल्लो समय, २०७८ सालमा अफगानिस्तानका जनताका लागि नेपाल सरकारले निजी क्षेत्रको सहयोगमा औषधि, लत्ताकपडा, र घरायसी सामान काबुल पठाएको थियो।

सरसर्ती हेर्दा नेपाल र अफगानिस्तानबिच धेरै भिन्नता भए पनि गहिरिएर हेर्दा केही समानताहरू पाइन्छन्। भूगोलको हिसाबले अफगानिस्तान नेपालभन्दा झन्डै साढे चार गुणा ठुलो र डेढ गुणा बढी जनसङ्ख्या भए पनि दुवै भू-परिवेष्टित मुलुक हुन्। दुवै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्र हुन्। खानपान, जीवनशैली, प्राकृतिक स्रोतसाधन, र ऐतिहासिक पृष्ठभूमिमा केही समानता भेटाउन सकिन्छ। अफगानिस्तानको भोजन मुख्यतया चामल, रोटी, मासु, तरकारी, र दुग्धजन्य उत्पादनहरूमा आधारित छ। यहाँका फलफूलहरू स्याउ, खुर्पानी, अङ्गुर, अनार, र बदाम उच्च गुणस्तरीय र स्वादिष्ट मानिन्छन्। अफगानी मंटु (नेपाली म:म: जस्तै) दही, पुदिना, र धनियाँले सजाइएको हुन्छ र अफगानी कबाब (भेडाको मासुको) प्रख्यात मानिन्छ।

भौगोलिक दृष्टिले शुष्क जलवायुयुक्त र वर्षा कम हुने काबुल उपत्यका नेपालको जोमसोम र मुस्ताङ क्षेत्रसँग मेल खान्छ। अफगानिस्तान प्राकृतिक स्रोतसाधनले सम्पन्न मुलुक हो, विशेष गरी उच्च मूल्यका कृषि उत्पादनहरू जस्तै केसर, फलफूल, पाइन् नट (सल्ली सिम्ता) र बदाम यहाँका प्रमुख निर्यात वस्तु हुन्। नेपालमा पनि जुम्ला लगायतका केही क्षेत्रमा केसर उत्पादन थालिएको छ, यी कृषि उत्पादनहरूले दुवै देशबिच कृषि क्षेत्रको समानता दर्साउँछ। इतिहासतर्फ हेर्दा, नेपाल र अफगानिस्तान दुवै प्राचीन सभ्यताको केन्द्र थिए। नेपाल गौतम बुद्धको जन्मभूमि हो भने अफगानिस्तानमा कुनै समय बौद्ध धर्मको प्रभाव थियो। यसका प्रमाण स्वरूप प्रसिद्ध बामियान बुद्ध मूर्ति र महाभारतको गान्धारी राज्य र यसको राजधानी कान्दाहार हुन्। कुनै समय अफगानिस्तान नेपालसँग सिल्क रोड व्यापारिक मार्गले जोडिएको थियो र दुई मुलुकबिचको ऐतिहासिक व्यापारिक सम्बन्ध थियो ।

सांस्कृतिक रूपमा पनि नेपाल र अफगानिस्तानबिच केही समानता पाइन्छ। दुवै देशमा पाहुनालाई सम्मान गर्ने परम्परा छ। नेपालमा "अतिथि देवो भव:" भन्ने मान्यता छ भने अफगानिस्तानमा पनि पाहुनालाई विशेष सत्कार गरिन्छ। पारिवारिक संरचनामा अभिभावक, विशेष गरी बुबा वा घरका जेठा सदस्यहरूको भूमिका महत्त्वपूर्ण मानिन्छ।

सङ्गीत र नृत्यको क्षेत्रमा पनि केही समानता पाइन्छ। अफगानिस्तानमा परम्परागत सङ्गीतमा सारङ्गी लगायतका वाद्य-यन्त्रहरू प्रचलित छन्, जुन नेपाली लोक-सङ्गीतसँग केही मेल खान्छ। त्यस्तै, पर्व-उत्सवहरूमा गरिने लोकनृत्यहरूमा पनि केही समान विशेषताहरू पाउन सकिन्छ। यी उल्लेख गरिएका कुराहरूले नेपाल र अफगानिस्तानबिचको ऐतिहासिक, सांस्कृतिक, र सामाजिक सम्बन्धलाई झल्काउँछन्। नेपाल र अफगानिस्तान दुवै जातीय विविधता भएका समाजहरू हुन्। अफगानिस्तानमा पश्तुन, ताजिक, हजार, उजबेक समुदायहरू छन् भने नेपाल विभिन्न जातजातिहरू मिलेर बनेको बहु-सांस्कृतिक समाज हो। अफगानिस्तानको दारी (फारसी) भाषाका केही शब्दहरू जस्तै किताब, साबुन, दुकान, अदालत, डाक्टर, खबर, हाकिम नेपालीसँग मिल्दाजुल्दा छन्।

काबुलमा हिमाली जलवायु र मौसमको अनुभूति गर्ने अवसर मात्र नभई जीवनलाई नयाँ दृष्टिकोणले हेर्ने मौका मिल्नु साँच्चै अविस्मरणीय अवसरको रूपमा लिएको छु। काबुली आत्मीयताले बसाइलाई अविस्मरणीय बनाएको छ। मन मस्तिष्कमा यहाँका सम्झनाहरू रहिरहने छन्। ऐतिहासिक र सामाजिक रूपमा अफगानिस्तान र नेपालबिच केही समानता भए पनि सांस्कृतिक र जीवनशैलीका केही भिन्नताहरू प्रत्यक्ष अनुभव गर्न पाइएको छ। यहाँ विभिन्न देशका साथीहरूसँग बसेर काम गर्दा विविध संस्कृति, भाषा, र विश्व दृष्टिकोण बुझ्ने सुनौलो अवसरको उपयोग गरिरहेको छु। यात्राले नयाँ कुरा सिक्ने मात्र नभई बुझ्ने क्षमतालाई पनि फराकिलो बनाउने अद्भुत माध्यम हो भन्ने कुरालाई यस बसाइले थप पुष्टि गरेको छ। नेपाल र अफगानिस्तानबिचको ऐतिहासिक तथा सांस्कृतिक रूपमा रहेको जनसम्पर्कमा एउटा अर्को इट्टा थप्न सानो भूमिका खेलेको अनुभूति हुन्छ। काबुल बसाइले मलाई सिकाएको महत्त्वपूर्ण पाठ भनेको अन्यौलता र प्रतिकूल परिस्थितिहरूका बाबजुद जीवन र समाजलाई निरन्तर अगाडि बढाउनु पर्छ भन्ने हो। विगत पाँच दशकदेखि द्वन्द्व र अस्थिरताले चपेटामा परे पनि अफगानीहरू नथाकीकन सङ्घर्ष गरिरहेका छन्, भविष्यप्रति आशावादी छन्। यहाँका साथीहरूसँग दैनिक जसो कुराकानीपछि भन्ने गरेको अभिव्यक्ति— नेपाल-अफगानिस्तान जिन्दाबाद! जिन्दाबाद! मनमा गुन्जिरहन्छ।