सुनको मुल्यमा नयाँ रेकर्ड

शुक्रबार फागुन ३०, २०८१/ Friday 03-14-25
Paschim Today

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँले बढेर एक लाख ७४ हजार पाँच सय रुपैयाँ कायम भएको छ । 

स्थानीय बजारमा बिहीबार सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ५०रुपैयाँ कायम भएको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले आन्तरिक कारण भन्दा बाह्य कारणले सुनको मूल्य बढेको बताए  । 

‘अमेरिकी डलरको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमलगायतका कारणले मूल्य बढेको हो । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिअनुसार समायोजन गर्दा स्थानीय बजारमा हालसम्मकै उच्च मूल्य कायम भएको हो’, उनले  भने ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस दुई हजार ९८२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।