हातेकागज उद्योग सङ्कटमा

शुक्रबार फागुन ३०, २०८१/ Friday 03-14-25
Paschim Today

बझाङ, चैत १ गते । बझाङमा सञ्चालित हातेकागज उद्योग बन्द अवस्थामा छन् । जयपृथ्वी नगरपालिकाको कैलाशमा रहेको मालिका हातेकागज उद्योग, बुङ्गल नगरपालिका–१ को गोइचनमा रहेको जुनेली हातेकागज उद्योग, खप्तडछान्ना गाउँपालिका–५, कालुखेतीमा रहेको प्रगतिशील खप्तड हातेकागज उद्योग बन्द भएका छन् ।

यसबाहेक बुङ्गल नगरपालिका–७, गडरायमा रहेको गोर्खाली हातेकागज उद्योग, वडा नं। ३ दारुगाउँमा रहेको दारुगाउँ हातेकागज उद्योग, मष्टा गाउँपालिकामा रहेको हिमालयन हातेकागज उद्योग तथा तल्कोट गाउँपालिकाको दाँतोलामा रहेको बडीगाउँ हातेकागज उद्योग हाल बन्द छन् ।

उद्योग बन्द भएपछि भौतिक संरचना र उपकरण पनि बेवारिसे बनेका छन् । कतिपय उपकरण चोरी भएका छन् । खप्तडछान्ना गाउँपालिका–५, कालुखेतीमा रहेको प्रगतिशील खप्तड हातेकागज उद्योग १२ वर्षदेखि बन्द छ । २०६६ सालमा सञ्चालनमा आएको उद्योग बजार अभावका कारण बन्द हुन पुगेको सञ्चालक गोविन्द सिंहले बताए । कच्चा पदार्थको मूल्यवृद्धिपछि उत्पादन लागत बढ्दा बजारमा प्रतिस्पर्धा गर्न नसकेर उद्योग बन्द हुन पुगेको उनको भनाइ छ । 

उद्योग सञ्चालन हुँदा कागज उत्पादनका लागि लोक्ता सङ्कलन, कागज ढुवानी, दाउरा बिक्री, मेसिन सञ्चालनलगायत कार्यमा ३० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । उद्योग बन्द भएपछि रोजगारी गुमेको छ । बुङ्गल नगरपालिका–१ मा रहेको जुनेली हातेकागज उद्योग ११ वर्षदेखि बन्द छ । बजारमा प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बन्द गर्नु परेको सञ्चालक अक्कल बोहोराको भनाइ छ । कच्चा पदार्थको अभाव, सङ्कलन तथा ढुवानीको महँगीले लागत वृद्धि भएपछि उचित बजार पाउन नसक्दा उद्योग बन्द गर्नु परेको उनले बताए ।

लापरबाहीले धराशायी

दिगो वन व्यवस्थापनसम्बन्धी प्रमाणपत्र प्रदान गर्ने अन्तर्राष्ट्रिय संस्था फरेस्ट स्टेवार्डसिप काउन्सिलबाट प्रमाणित एसियाकै पहिलो सामुदायिक उद्योगसमेत बन्द भएको छ । जयपृथ्वी नगरपालिकाको कैलाशमा रहेको मालिका हातेकागज उद्योग विगत आठ वर्षदेखि बन्द अवस्थामा छ । उद्योगमा रहेका उपकरण चोरी भएका छन् भने भवन जीर्ण बनेको छ । लोक्ता पकाउने ड्रम, कागज उत्पादनमा प्रयोग गरिने कास्टिक सोडा, नुरीलगायतका रसायन चोरी भएका छन् ।

उद्योग २०५६ सालमा स्थानीय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘एन्साब’ को पहलमा स्थापना गरिएको थियो । विनायक पिमिडाँडा सामुदायिक वनका २५० उपभोक्ताको सेयर लगानी रहेको यो उद्योग बन्द हुँदा झन्डै एक करोड रुपियाँ बराबरको स्थानीय समुदाय र विभिन्न दातृ संस्थाको लगानी खेर गएको छ ।

उद्योग स्थापनाकालदेखि काम गर्दै आएका गोविन्द कामीका अनुसार व्यवस्थापनको लापर्बाही, उत्पादनको हिसाबकिताबको अस्पष्टता, सीमित व्यक्तिको मनोमानीका कारण उद्योग धराशायी भएको हो । एफएससीले २०६४ सालमा यस उद्योगलाई एसियाकै पहिलो सामुदायिक उद्योगका रूपमा प्रमाणित गरेपछि चर्चामा आएको थियो । उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा तीन सयभन्दा बढीले रोजगारी पाएका थिए ।