राज्यकोषमा आर्थिक भार पर्न दिदैनौँ : गृहमन्त्री

सोमबार चैत ३, २०८१/ Monday 03-17-25
Paschim Today

काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशका पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनको लागि विधेयकको मस्यौदा लेखन शुरु भएको बताएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरुले उठाउनुभएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले सर्वोच्च अदालत र संसदीय समितिले समेत विधायिकी कानून बनाएर मात्र सुविधा दिन निर्देशन गरेको कारण कानून निर्माणमा जुटेको बताए ।

उनले यस कदमको चौतर्फि आलोचना भइरहेको उल्लेख गर्दै कानूनै नबनाइकन सरकारले निर्णय गरेर दिनेकुरा उचित हो कि सदनबाट कानून बनाएर दिनेकुरा जाति हो ? भन्दै प्रश्न समेत गरे ।

उनले पूर्वविशिष्टहरुलाई सुविधा दिँदा मुलुकको राज्यकोषमा अनावश्यक भार नपर्नेगरी कानून बनाउन लागिएको स्पष्ट पारे ।

उनले भने– ‘नेपाल सरकार मन्त्रिपरिषद्बाट गत माघ ९ गते पूर्वविशिष्ट पदाधिकारीको सुविधा सम्बन्धमा बनेको विधेयक तर्जुमाका लागि तयार भएको अवधारणा भएको अवधारणा पत्रमा स्वीकृति प्राप्त गरी विधेयक तर्जुमा सम्बन्धमा प्रारम्भिक कार्य शुरु भएको छ । सर्वोच्च अदालतले कानून बनाउ, विधायिकी अधिकारबाटै कानून बनाउ अध्यादेशले होइन र नेपाल सरकारको निर्णयले सुविधा नदेउ भन्यो । महालेखा परिक्षकले त्यही भन्यो, संसदीय समितिले त्यही भन्यो । पटक पटक मस्यौदा बनेपनि कानूनको रुप लिन सकेन । म के आग्रह गर्न चाहान्छु भने कानूनै नबनाइकन सरकारले निर्णय गरेर दिने कुरा जाती हो कि सदनबाट कानून बनाएर दिने कुरा जाति हो ? पूर्वविशिष्टहरुलाई सुविधा प्रदान गर्दा राज्यकोषमा अनावश्यक भार पर्नेगरी गरिने छैन ।’

मुलुकको आर्थिक स्थितिबारे सरकार जानकार रहेको उल्लेख गर्दै मन्त्री लेखकले मुलुकको आर्थिक अवस्थामा प्रतिकुलता उत्पन्न हुने काम नगरिने बताए ।