आमाको किरियामा बसेका तीन छोरी

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–६, तातापानी माइतीघर भएका रोहिता कठायत, दुरा थापा र मानमती कार्की आमाको किरियामा बसेका छन् । आमा राधादेवी खड्काको १ चैतमा मृत्यु भएपछि उनीहरू किरिया बसेका हुन् ।
उनीहरूका ७९ वर्षीय बुवा खड्कसिंहको अपाङ्गता भएका व्यक्ति हुन् । दाजुभाइ पनि छैनन् । आमाको मृत्युले विक्षिप्त भएका उनीहरू आमाको शव बोकेर घाटसम्म पुग्न नसके पनि अहिले काज किरियाका सबै परम्परा निभाइरहेका छन् ।
चार दिदीबहिनीमा कान्छी रहेकी रोहिताका अनुुसार मृत्युअघि नै राधादेवीले छोरीलाई किरिया गरिदिनु भनेकी थिइन् । ‘चारै जना दिदीबहिनी किरिया बस्न तयार थियौँ,’ उनले भनिन्, ‘जेठी दिदी बिर्मा बडुवाल महिनावारी भएपछि किरियामा बस्न पाउनुभएन । हामी तीन दिदीबहिनी किरियामा बसेका छौँ । बाजे भाइतर्फका एक जना दाइ पनि किरिया बस्नुभएको छ ।’
बिर्मा, मानमती, दुरा र रोहिताको बिहे भइसकेको छ । आमा बिरामी भएपछि चारै दिदीबहिनी फागुनमै माइती घर तातापानी पुगेका थिए । त्यहाँ दश दान सक्काएर उनीहरू घरतर्फ लागेका थिए । घर पुगेको एक दिनमै आमाको मृत्युको खबर पाएपछि उनीहरू माइतीघर पुगेर किरियामा बसेका हुन् ।
खड्कसिंहका दाइको एक वर्षअघि मात्रै मृत्यु भएको थियो । उनको मृत्युको वर्ष दिन नपुगेकाले उनीतर्फका छोराले किरिया बस्न पाएनन् । ‘मृत्युपछि हामी आफैँ पनि किरियाका लागि तयार भइसकेका थियौँ,’ रोहिताले भनिन्, ‘छोरीले किरिया बस्नुहुन्न भन्ने कुरा कतैबाट पनि आएन । ब्राह्मणले पनि छोरी पनि छोरा जत्तिकै हुन् किरिया बस्दा हुन्छ भन्नुभयो ।’ -शिलापत्रबाट
तपाईको प्रतिक्रिया