नयाँ सहरको संरचना प्रयोगविहीन
2025-03-19-12-37-56.jpeg)
बैतडी, चैत ६ गते । जग्गा विवादका कारण बैतडीमा पाटन नयाँ सहर आयोजनाको कामले गति लिन सकेको छैन । यहाँ ३८ करोड रुपियाँ खर्च गरेर निर्माण गरिएका संरचनासमेत प्रयोगविहीन बन्न पुगेका छन् । एक लाख मानिस बसाउने उद्देश्यले सरकारले २०६८ सालदेखि नयाँ सहर आयोजना अघि बढाएको थियो । आयोजना सुरु भएको १३ वर्ष बितिसक्दा पनि मुख्य काम जग्गा एकीकरण (ल्यान्डपुलिङ) कै टुङ्गो लाग्न सकेको छैन ।
‘ल्यान्डपुलिङ’ का लागि पाटन नगरपालिका–६ का स्थानीयसँग पटक पटक छलफल गरे पनि सहमति जुट्न नसकेको पाटन नगरपालिकाका नगरप्रमुख गौरीसिंह रावलले बताए । उनले भने, “यसअघि पाटन विमानस्थल तलको जग्गाका लागि छलफल चलेको थियो । त्यहाँ सहमति नजुटेपछि अर्को स्थान नागडीबाटाको जग्गाका लागि पनि छलफल भएको छ । त्यता पनि सबै मानिस सहमत देखिएका छैनन् । कुनै परिवारसित एक गह्रा मात्रै खेत छ । ‘ल्यान्डपुलिङ’ गर्दा कसैको त पूरै जग्गा मासिने भएकाले सहमति जुट्न सकेको छैन ।”
पाटन नयाँ सहर आयोजनाले व्यवस्थित बसोबासका लागि बाटो, उद्यान जस्ता संरचना तयार गरेर स्थानीयलाई नै घडेरीका रूपमा जग्गा हस्तान्तरण गरिने नयाँ सहर आयोजना पाटन कार्यालयका निमित्त प्रमुख इन्जिनियर सौरभ कलौनीले बताए । स्थानीयले जग्गा एकीकरण गर्न सहमति नदिएकै कारण नयाँ सहर आयोजनाले गति लिन नसकेको उनले बताए ।
पहाडको बसाइँसराइ रोक्ने उद्देश्यले अघि बढेको नयाँ सहरमा शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना हुने बताइएको छ । सरकारले पाँचथरदेखि बैतडीको झुलाघाटसम्मको मध्यपहाडी लोकमार्गमा १० वटा नयाँ सहरको योजना अघि सारे पनि बैतडीको पाटनमा भने सन्तोषजनक काम नभएको स्थानीय वसन्त विष्टले बताए ।
करोडौँका संरचना प्रयोगविहीन
नयाँ सहर आयोजनाले आर्थिक वर्ष २०७१र७२ देखि निर्माण सुरु गरेको बसपार्क १० वर्ष बितिसक्दा सञ्चालनमा आउन सकेको छैन । त्यसै गरी दुई करोड रुपियाँ खर्च गरेर निर्माण गरिएको हिरापुर मनोरञ्जन पार्क पनि सञ्चालनमा आउन सकेको छैन । बसपार्क सञ्चालनमा नआउँदा सडकमै गाडी पार्किङ हुने गरेको पाटन बस काउन्टरका दिनेश विष्टले बताए। १३० मिटर लम्बाइ र ४५ मिटर चौडाइको पाटन बसपार्कका संरचना प्रयोगमा आएको छैन । नयाँ सहर आयोजनामा जग्गा विवादबाहेकका ठाउँमा पनि सन्तोषजनक काम नभएको पाटन नगरपालिकाका नगरप्रमुख गौरीसिंह रावलले स्वीकार गरे ।
विमानस्थल प्रयोगविहीन
बैतडीको पाटन विमानस्थल सुचारु गर्न १७ करोड रुपियाँ खर्च गरेर धावनमार्ग र टर्मिनल भवन चिटिक्क बनाइएपछि पनि हवाई उडान नहुँदा संरचना प्रयोगविहीन बनेका छन् ।
विमानस्थल कालोपत्रेपछि २०७७ असोज १७ गते तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले पाटन विमानस्थल उद्घाटन गरेका थिए। उद्घाटनपछि हप्ताको एक दिन विमान उडे पनि २०७८ चैत १० यता पाटन विमानस्थल सुनसान छ । हवाई उडान बन्द भएपछि पाटन विमानस्थल अहिले एक जना कार्यालय सहयोगीका भरमा रहेको छ ।
तपाईको प्रतिक्रिया