स्ववियु निर्वाचन बैतडी : तीन क्याम्पसमा अनेरास्ववियु र दुईमा नेविसंघ विजयी

बैतडी –बैतडीमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त पाँच ओटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले नयाँ नेतृत्वको पाएको छ । स्ववियु निर्वाचन भएका पाँच ओटा क्याम्पसमध्ये तीनमा अनेरास्ववियु र दुईमा नेविसंघ विजयी भएको छ ।
जिल्लामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ८ ओटा क्याम्पस रहेका भएपनि रौलाकेदार बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन भएको छैन् । पुर्चौंडी बहुमुखी क्याम्पसमा आज निर्वाचन हुँदैछ भने सिगास शिक्षा क्याम्पसमा विवाद भएको छ ।
स्ववियु निर्वाचन सम्पन्न भएका पाँच ओटा क्याम्पस मध्ये केही सहमति र केही चुनावमार्फत नयाँ नेतृत्व चयन गरिएको छ ।
पञ्चेश्वरस्थित नवप्रभात संयुक्त क्याम्पस कुलाउमा विद्यार्थी संगठनहरुबीच सहमतिका आधारमा अनेरास्ववियुकी सपना चन्द सर्वसम्मत सभापतिमा चयन भएकी छन् ।
सहमतीअनुसार १५ जनाको कार्यसमितिमा अनेरास्ववियुले सभापतिसहित ६ जना,नेविसंघले सचिवसहित ५ र अनेरास्ववियु क्रान्तिकारीले उपाध्यक्षसहित ४ जना लिएका क्याम्पस प्रमुख मोतीसिंह मंगोलाले जानकारी दिए ।
उक्त क्याम्पसको उपाध्यक्षमा अनेरास्ववियु क्रान्तिकारीकी मनिषा साउँद ,सचिवमा नेपाल विद्यार्थी संघकी अस्मिता जोशी, सहसचिवमा अनेरास्ववियुकी ईश्वरी भट्ट र कोषाध्यक्षमा अनेरास्ववियु क्रान्तिकारीकी लक्ष्मी चन्द निर्विरोध चयन भएका छन् ।
यस्तै सदस्यमा अनेरास्ववियुकी बल्ली जोशी,इश्वरी भट्ट र मुना साउँद चयन भएका छन् । नेविसंघकी सुनिता चन्द, दिपा घटाल र अनेरास्ववियु क्रान्तिकारीकी एलीसा चन्द र जीवन घटाल पनि सदस्यमा चयन भएका छन् ।
समानुपातिक सदस्यतर्फ अनेरास्ववियुकी रमना चन्द र दिपा साउँद, नेविसंघकी प्रियंका मंगोला र गीता सार्की चयन भएका छन् । यहाँ ३०१ जना विद्यार्थी मतदाता रहेका थिए ।
दोगडाकेदार गाउँपालिकामा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट अनेरास्ववियुका नवीन कपाडी स्ववियु सभापतिमा निर्वाचित भएका छन् । यहाँ अखिल क्रान्तिकारी एक्लै चुनावी मैदानमा उत्रेको थियो ।
कपाडी एक सय मत ल्याएर सभापतिमा निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका सुरेन्द्र कार्कीले ५५ मत ल्याएका निर्वाचन संयोजक नरेन्द्रप्रसाद पन्तले बताए ।सचिवमा अनेरास्ववियुकै नारायणप्रसाद अवस्थीले १०५ मत ल्याएर विजयी भएका छन् उनकी प्रतिस्पर्धी अखिल क्रान्तिकारीकी तुलसी जोशीले ४६ मत प्राप्त गरिन् ।
कोषाध्यक्षमा नेविसंघका लक्ष्मी भट्ट एक सय मत प्राप्त गरेर विजयी हुँदा अखिल क्रान्तिकारीका हेमन्ती जोशीले ४७ मत ल्याइन् । सदस्यहरुमा अनेरास्ववियुका यज्ञराज अवस्थी १०५,रेखा कार्की १०७,जयन्ती विष्ट १०७ र नेविसंघका मनिषा विष्ट १०४,भागरथी जोशीले १०२ मत ल्याएर विजयी भएका छन् ।
२ सय ५९ जना विद्यार्थी मतदाता रहेको यो क्याम्पसमा १६५ मत खसेकोमा ८ मत बदर भएका निर्वाचन समितिले जनाएको छ ।
शिवनाथ गाउँपालिकामा रहेको ग्राम प्रकाश बहुमुखी क्याम्पसमा भने नेविसंघको पुरै प्यानलले जित हात पारेको छ ।
नेविसंघबाट सभापति उम्मेदवार बनेका कविता साउँद नेतृत्वको पूरै प्यानल विजयी भएको ग्राम प्रकाश बहुमुखी क्याम्पसका प्रमुख महामलसिंह साउँदले बताए ।
सभापतिमा विजयी कविताले ३७ मत प्राप्त गर्दा अनेरास्ववियूबाट सभापतिका उम्म्ेदवार बनेका सरिता साउँदले २८ मत प्राप्त गरिन् ।
यस्तै नेविसंघबाटै सचिवमा विजयी अस्मिता महरले ३५ मत प्राप्त गरिन् भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका विरेन्द्र साउँदले ३० मत प्राप्त गरे ।
कोषाध्यक्षमा पनि नेविसंघकै रतना साउँद ३५ मत ल्याएर विजयी भइन् भने उनका प्रतिस्पर्धी अनेरास्ववियुककी कल्पना पार्कीले ३० मत ल्याइन् ।
यस्तै सदस्यहरुमा पनि नेविसंघकै बाटिका साउँदले ३५,हिमा कलौनीले ३६, रुमला साउँदले ३८ मत प्राप्त परेर विजय हासिल गरेका छन् । यसैबीच समानुपातिकतर्फ नेविसंघ ३३ मत ल्याउँदा अनेरास्ववियु २२ मत प्राप्त गर्यो । यस क्याम्पसमा अन्य विद्यार्थी संगठनले उम्मेदवारी दर्ता नै गराएका थिएनन् ।
९५ जना मतदाता विद्यार्थी रहेको यस क्याम्पसमा ६६ मत खसेकोमा १ मत बदर भएको थियो ।
डिलाशैनी गाउँपालिका वडा नं ६ गोकुलेश्वरमा रहेको सेटिगाउँ बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका कृष्णसिंह रावल विजयी भएका छन् ।
सभापतिमा विजयी रावलले १ सय ३ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका रमेश मालले ८९ मत ल्याए ।
यहाँ नेविसंघ र अखिल क्रान्तिकारीले चुनावी तालमेल गरेका थिए भने अनेरास्ववियु एक्लै चुनावी मैदानमा उत्रेको थियो ।
त्यस्तै सचिवमा अखिल क्रान्तिकारीका कुमार लावड १ सय ८ मत ल्याएर विजयी भ एभने उनका प्रतिस्पर्धी अनेरास्ववियुकी पूजा खत्रीले ८९ प्राप्त गरिन् ।
कोषाध्यक्षमा क्रान्तिकारीकै भुवन भण्डारी १ सय १ मत ल्याएर विजयी हुँदा अनेरास्ववियुकी भावना जोशीले ८८ मत मात्रै पाइन् ।
सदस्यहरुमा नेविसंघ र अखिल क्रान्तिकारीका साझा उम्मेदवार आरती बिष्ट ९८, उषा साउद एक सय , सन्तोषी खडायत १ सय ८ र हिरा गोयला १ सय ३ मत ल्याएर विजयी भएका छन् ।
उक्त क्याम्पसमा सदस्य पदमा अनेरास्ववियुकी सन्तोषी बिष्ट ९१ मत ल्याएर विजयी भएकी छन् ।
यस्तै दशरथचन्द नगरपालिकामा रहेको शिक्षा क्याम्पस शाहीलेकको स्ववियु सभापतिमा अनेरास्ववियुका अक्बर चन्द निर्विरोध निर्वाचित भएका छन् । यो क्याम्पसमा अनेरास्ववियु बाहेक अन्य विद्यार्थी संगठनका कसैको पनि उम्मेदवारी नपरेपछि अनेरास्ववियुको पुरै प्यानल निर्विरोध निर्वाचित भएको क्याम्पस प्रमुख कैलाशकुमार कनौजियाले जानकारी दिए ।
यस्तै उपसभापतिमा जनक नाथ,सचिवमा धिरज जोशी र कोषाध्यक्ष ममता टेलर तथा सहसचिवमा सन्तोष बोगटी निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यहरुमा हेमन्ती चन्द, मेघा बराल, चादनी वड र पुनम पन्त पनि निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।यस क्याम्पसमा १५५ मतदाता विद्यार्थी रहेका थिए ।
तपाईको प्रतिक्रिया