स्ववियु निर्वाचन अपडेट : ९९ कलेजमा नेविसंघको जित

बुधबार चैत ५, २०८१/ Wednesday 03-19-25
Paschim Today

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरगत स्ववियु निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणाम अनुसार देशभर नेपाल विद्यार्थी संघ (नेविसंघ) ले लिड गरिरहेको छ ।

जसअनुसार हालसम्म ९९ कलेजको स्ववियु अध्यक्षमा नेविसंघ जित निकालेको छ । कतिपय कलेजहरूमा नेविसंघको पुरै प्यानल नै निर्वाचित भएको छ ।

दोस्रो नम्बरमा रहेको अनेरास्ववियुले हालसम्म ८६ कलेजमा स्ववियु अध्यक्ष जितेको छ । त्यस्तै तेस्रो नम्बरमा रहेको अखिल क्रान्तिकारीले ७३ कलेजको स्ववियु अध्यक्ष जितेको बताइएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न कलेजमा भएको निर्वाचनको मत परिणाम समेत आउने क्रम जारी छ । हालसम्म नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस ताहाचलमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । कमर्स क्याम्पसमा विशाल रोकाहा र महेन्द्ररत्नमा ईश्वर थापा अध्यक्षमा निर्वाचित भएका अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए ।

यस्तै, थापाथली इन्जिनियरिङ र महाराजगन्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार विजयी भएका छन् । थापाथलीमा प्रल्हाद खड्का र महाराजगञ्जमा विन्दु पोखरेल अध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै अखिल ९क्रान्तिकारी० ले जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पस भक्तपुरमा जित निकालेको छ । जनप्रशासनमा अनिकेत तिवारी र सानोठिमीमा नरेन्द्र ठगुन्ना अध्यक्ष निर्वाचित भएका हुन् ।

पुलचोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । चैत ५ गते देशभरका ३८ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो । त्यस्तै करिब ३०० को हाराहारीमा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन भएको थियो ।