राजावादी आन्दोलन : तीनकुनेका व्यापारिक भवनमा आगजनी

शुक्रबार चैत १४, २०८१/ Friday 03-28-25
Paschim Today

काठमाडौं । राजावादी प्रदर्शनकारीले काठमाडौंको तीनकुनेस्थित व्यापारिक भवनहरू तोडफोड र आगजनी गरेका छन् । उनीहरूले व्यापारिक भवनको सीसाको झ्याल ढुंगामुढा गरेर तोडफोड गरेका हुन् ।

तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त बनेको छ । अहिले त्यहाँ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको छ । त्यहाँ समर्थकहरूले तीन व्यक्तिका घर पनि तोडफोड गरेका हुन् । व्यक्तिका घरबाट प्रहरीले अश्रुग्यास प्रहार गरेको भन्दै उनीहरूले ढुंगा र इँटा हानेका हुन् । प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरिरहेको छ।

आन्दोलनकारीले गरेको ढुंगा प्रहारबाट व्यक्तिको घरको सिसा पूर्णरुपमा क्षति भएको छ । तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि अवस्था तनावग्रस्त भएको हो । प्रदर्शनका लागि तोकिएको घेरा तोड्न प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा समेत प्रहार गरेका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले व्यवसायीलाई दुर्गा प्रसाईंलाई आन्दोलनमा जनपरिचालनको जिम्मा दिएको छ । उक्त आन्दोलनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको समेत साथ रहेको छ ।