भाटभटेनीका सुरक्षा गार्डलाई सम्मान गरिने

मंगलबार चैत १८, २०८१/ Tuesday 04-01-25
Paschim Today

काठमाडौँ । शुक्रबार भएको राजावादी आन्दोलनका क्रममा भएको लुटपाटको क्रममा साहसिक काम गर्ने सुरक्षा गार्ड कृष्णप्रसाद पराजुली लगायत सुरक्षा गार्ड र कर्मचारीलाई भाटभेटनी सुपरमार्केटले सम्मान गर्ने भएको छ । 

सुपरमार्केटमा तोडफोड तथा लुटपाट गरिरहेको समयमा कर्तव्य निर्वाह गर्दै अग्रपंंक्तिमा खटिएका कर्मचारी तथा व्यापारलाई निरन्तरता दिन रातभर मर्मत सम्भारमा लाग्न खटिएका कर्मचारीलाई सुपरमार्केटले सम्मान गर्ने भएको हो । यसका लागि बुधबार बिहान सम्मान कार्यक्रम राखिएको छ । 

लुटपाटको क्रममा पराजुलीले लुटपाटमा संलग्नमाथि गरेको कारबाही अहिले सामाजिक सञ्जालमा भाइरल छ । दर्जनौँ संख्यामा रहेका व्यक्तिहरूलाई उनले लिस्टीले कुट्दै भगाएको भिडियो देख्न सकिन्छ । 

उक्त घटनाका क्रममा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ । त्यसमध्ये ६४ लाख ८८ हजार बराबरको सामान लुटिएको बताइएको छ । उक्त घटनापछि पनि शनिबार बिहानदेखि नै सुपरमार्केट सञ्चालनमा आएको थियो । यसका लागि सरसफाइ लगायत कर्मचारीले रातभर काम गरेका थिए ।