अछामको जयगढमा भीषण आगलागी, २५ भन्दा बढि पसल जलेर नष्ट, आगलागी नियन्त्रणमा

मंगलबार चैत २५, २०८१/ Tuesday 04-08-25
Paschim Today

अछाम, २६ चैत्र ।
अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजार लागेको आगो तीन घण्टापछि राति १० बजे नियन्त्रणमा आएको छ । यद्दपि आगो नियन्त्रणमा आउदासम्म २५ भन्दा बढि पसल जलेर नष्ट भएका छन् । आगलागीबाट करोडौ रुपैयाको क्षति भएको छ ।

साँझ करीव सात बजे पुष्पराज शर्माको पसलबाट फैलिएको आगोले २५ भन्दा बढि पसल जलेर नष्ट भएका हुन् ।
आईएमई सेन्टर सञ्चालन गर्दै आएका शर्मा पसल बन्द गरेर गएपछि आगलागी भएको थियो । शर्माको पसलबाट फैलिएको आगोले पुरै बजार आगलागीको चपेटामा परेको हो । ग्याँस सिलिण्डर लिक भएर लागेको आगोको लप्काले पुरै बजार निलेको   हो ।

बान्नीगढी जयगढ गाउँपालिका र मंगलसैन नगरपालिकाको दमकलको सहायताले सशस्त्र प्रहरी, प्रहरी र स्थानीय बासिन्दाले आगलागी नियन्त्रणमा लिने प्रयास गरेपनि सफल भएका थिएनन्। सशस्त्र प्रहरीले आगो फैलिन नदिन डोजरले आगलागी भएको घरसंगै जोडिएको एउटा घर भत्काएपछि थप पसलहरु आगलागीबाट जोगिएका हुन् ।

प्रहरीले राति सात बजे फैलिएको आगो तीन घण्टापछि नियन्त्रणमा आएको जनाएको छ । आगलागीबाट करोडौैका क्षति भएपनि विस्तृत विवरण आउन बाँकी छ ।

आगलागीबाट बजारका अधिकांश पसलहरु जलेर नष्ट भएपनि मानवीय क्षति भने हुन पाएन ।

स्थानीय हिम विश्वकर्माले मान्छेहरु सुत्नुभन्दा अघि आगलागी भएका कारण मानवीय क्षति हुन नपाएको बताए । यद्दपि उनले चारैतिर आगो एकसाथ फैलिएका कारण आगलागी नियन्त्रणमा कठिनाई भएको बताए ।

आगो लागेर टिनका पसलसंगै पक्की घरहरु समेत जलेर नष्ट भएका छन् । सुनचाँदी पसल, किराना पसल, होटल तथा कपडा पसलहरु नष्ट भएका छन् ।