सूर्यज्योति लाइफको नयाँ डिजिटल सेवा, बीमा कर्जा अनलाइनबाटै लिन सकिने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल माध्यमबाट बीमालेखबापतको कर्जा लिन सकिने सुविधा सुरु गरेको छ। अब बीमितहरुले जुनसुकै स्थानबाट, जुनसुकै समयमा मोबाइल एप वा वेबमार्फत सहजै कर्जाका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले ललितपुरमा आयोजित कार्यक्रममार्फत ‘डिजिटल लोन सेवा’ र ‘सूर्यज्योति केयर्स कार्ड’ सार्वजनिक गरे। उनले कम्पनीले प्रविधिमा निरन्तर सुधार गर्दै ग्राहकलाई सहज र सरल सेवा दिने लक्ष्यमा अग्रसर रहेको बताए।
यस नयाँ प्रविधिमार्फत बीमितहरुले आफ्नो बीमालेख अन्तर्गत ३ वर्ष बीमाशुल्क भुक्तानी पश्चात जम्मा भएको नगद मूल्यको अधिकतम ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन्। हाललाई भने एकपटकमा अधिकतम ५० हजार रुपैयाँसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ।
खत्रीका अनुसार अब शाखा कार्यालय पुग्नु नपरी मोबाइल एपबाटै एक क्लिकमा रियल टाइममा 'पेमेन्ट वालेट' मा रकम प्राप्त गर्न सकिने सुविधा छ।
सूर्यज्योति केयर्स कार्डको सुरुवात
यसै अवसरमा कम्पनीले अर्को नविनतम सेवा ‘सूर्यज्योति केयर्स कार्ड’ को सुरुवात पनि गरेको छ। उक्त डिजिटल कार्ड सूर्यज्योति मोबाइल एपमार्फत प्रदान गरिनेछ। बीमित तथा अभिकर्ताले कम्पनीले तोकेको मापदण्ड पुरा गरी रजिस्ट्रेसन गरेपछि कार्ड प्राप्त गर्न सक्नेछन्।
उक्त कार्डको माध्यमबाट अस्पताल, स्वास्थ्य परीक्षण केन्द्र, होटल, शिक्षण संस्था, डिपार्टमेन्ट स्टोरजस्ता सेवा प्रदायक संस्थाहरुबाट विशेष छुट तथा सुविधा प्राप्त गर्न सकिनेछ।
कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुबेदीले सूर्यज्योति लाइफले सुरु गरेको प्रविधिमैत्री सेवा अत्यन्तै प्रशंसनीय रहेको बताए। अध्यक्ष शरद ओझाले भने बीमा सेवालाई डिजिटल बनाउँदै बीमितहरुलाई 'फिङ्गरटिप' सेवा प्रदान गर्नु बीमा क्षेत्रकै लागि उदाहरणीय रहेको धारणा व्यक्त गरे।
सूर्यज्योति लाइफ हाल देशभर १७४ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको चुक्ता पूँजी ५०१ करोड रुपैयाँ, कुल लगानी ४,३६० करोड, जीवन बीमा कोष ३,८०३ करोड, जारी बीमालेख संख्या ३२ लाखभन्दा बढी र प्रशिक्षित अभिकर्ता संख्या १ लाख २ हजार रहेको कम्पनीले जानकारी दिएको छ।
कम्पनीले ३५ घातक रोग विरुद्ध ५० लाख रुपैयाँसम्म उपचार खर्चको सुविधा दिने पहिलो जीवन बीमा कम्पनीको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ।
तपाईको प्रतिक्रिया