आफ्नै नामको सिमकार्ड प्रयोग गर्न टेलिकमको आग्रह
काठमाडौँ । नेपाल टेलिकमले सेवाग्राहीलाई आफ्नै नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्न आग्रह गरेको छ । सूचना जारी गर्दै कम्पनीले डिजिटल युगमा सिमकार्ड व्यक्तिको पहिचान बन्ने भएकाले आफ्नै नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्न भनेको हो ।
हाल प्रयोग गरिरहेको सिमकार्ड आफ्नै नाममा दर्ता नभएको खण्डमा सेवा लिन समस्या आउन सक्ने र व्यक्तिगत डेटा सुरक्षामा समेत जोखिम पैदा हुन सक्ने टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार सरकारी सेवा तथा बैंकिङ सुविधा प्राप्त गर्न सिमकार्ड आफ्नै नाममा दर्ता हुनु अनिवार्य छ । अहिले राष्ट्रिय परिचयपत्र बनाउन, बैंक खाता खोल्न वा चलाउन, सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिन, नागरिक एपमा दर्ता हुन तथा सरकारी सेवाका लागि आवश्यक एकपटक प्रयोग हुने पासवर्ड (ओटीपी) प्रयोग गर्न आफ्नै नाममा दर्ता भएको सिमकार्ड अनिवार्य गरिएको छ ।
त्यस्तै अनलाइन फारम भर्न, पासपोर्ट बनाउन वा नागरिकताको सम्पर्क नम्बरका लागिसमेत आफ्नै नामको सिमकार्ड चाहिन्छ । सिमकार्ड कुन नाममा दर्ता भएको छ भनेर थाहा पाउन टेलिकम प्रयोगकर्ताले *922# डायल गर्नुपर्छ ।
सिमकार्ड अर्काको नाममा दर्ता भएमा आवश्यक कागजातसहित नजिकको नेपाल टेलिकम कार्यालयमा गई आफ्नो नाममा ट्रान्सफर गर्न वा नयाँ सिम लिन सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।







तपाईको प्रतिक्रिया