बाजुरामा कुपोषणले २ महिने शिशुको मृत्यु

शनिबार बैशाख २७, २०८२/ Saturday 05-10-25
Paschim Today

धनगढी,२७ बैशाख । जिल्ला अस्पताल बाजुरामा दुई महिनाकी शिशुको कुपोषणले मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका २ मल्लोहुनी बस्ने भावना बिष्टकी २ महिनाकी छोरीको कुपोषणका कारणले मृत्यु भएको जिल्ला अस्पताल बाजुराका डा. प्रकाश बुढाले वताएका छन् ।

मृतक बालिका कुपोषणसँगै अन्य रोगको संक्रमणमा थिइन् । गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएकी उनलाई बचाउन नसकिएको डा। बुढाले बताएका छन् । उता स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोट गाउँमा बर्सेनि कुपोषणले बालबालिकाको मृत्यु हुने गरेको छ । मुक्तिकोटमा अहिले पनि १४ जनाभन्दा बढी बालबालिका कडा कुपोषणको चपेटामा रहेका छन् । रेकर्डमा नआएका धेरै बालवालिका कुपोषणका कारणले मृत्यु हुने गरेको छ ।

दुर्गम गाउँमा भौगोलिक बिकटता र चेतनाको कमीले स्थानीयको स्वास्थ्य संस्थासम्म पहुँच छैन । त्यसमाथि दुर्गम क्षेत्रमा भएका स्वास्थ्य संस्था पनि सेवा र साधन स्रोतका दृष्टिले कमै मात्र प्रभावकारी हुन्छन् । बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाह भन्छन, ‘धेरै पक्षहरु होलान तर गरिबी नै यसको मुख्य कारण हो । गरिबीले नै कुपोषण त भयावह हुने नै भयो ।’

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले केही वर्ष गरेको कुपोषणको ‘स्र्माट सर्भे’मा बाजुरामा कुपोषणको दर उच्च रहेको देखाएको छ । बाजुराका ९ स्थानीय तहका ६९ वडामध्ये २७ वडाका घरघरमा पुगेर ५ वर्षमुनिका बालबालिकामा सर्भे गरिएको थियो । सर्भेक्षणमा पुड्कोपन ४८.८ प्रतिशत, ख्याउटेपन ८.६ प्रतिशत र कम तौल ३०.६ प्रतिशत देखिएको थियो । तथ्याङ्कका अनुसार बाजुरामा ४८ प्रतिशत कुपोषण रहेको देखाएको छ ।

यो दरले बाजुराका बालवालिकामा कुपोषणको दर निकै उच्च रहेको देखाएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्द बताए । बाजुरामा आमा र बच्चाको मृत्यु उच्च रहेपनि जिल्ला स्थित स्वास्थ्य संस्थामा यो विवरण उपलब्ध हुँदैन ।