सांसदको छातीमा दुईथरी लोगो

कैलाली । आइतबार सुदूरपश्चिमको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिए । त्यो बेला उनको छातीमा नेपालको नक्सा अंकित लोगो टल्किरहेको थियो । शपथ ग्रहण समारोहमा उनीसँगै रहेका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापासँग भने सुदूरपश्चिम प्रदेशको नक्सासहितको अर्को लोगो थियो ।
बाजुरा बुढीगंगा नगरपालिकाका वडा कार्यालय उद्घाटन समारोहमा कांग्रेस सांसद पदमबहादुर शाहीले पनि नेपालको नक्सा देखिएको लोगो लगाएका थिए । सोही कार्यक्रममा सहभागी अर्का प्रदेशसभा सदस्य नरेशबहादुर शाहीसँग भने अर्को लोगो थियो ।
सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले अहिले दुवै प्रकारको लोगो लगाइरहेको पाइन्छ । एउटै प्रदेशमा किन फरक फरक लोगो तयार भयो त ?
सभामुख भीम भण्डारी पूरै नेपालको नक्सा देखिएको लोगो नयाँ रहेको र प्रदेशको नक्सा देखिएको पुरानो भएको बताउँछन् ।
२०८० जेठ २ गते बसेको प्रदेशसभाले पदमबहादुर शाहीको संयोजकत्वमा लोगो संशोधन समिति तयार गरेको थियो । समितिमा एमालेका धर्मराज पाठक, माओवादी केन्द्रका अक्कलबहादुर रावल, नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी, नेकपा एकीकृत समाजवादीका प्रकाशबहादुर रावल राप्रपाबाट खेमा विष्ट र स्वतन्त्र सांसद तारा जोशी पनि सदस्यमा थिए ।
झन्डै ८ महिनाको कसरतपछि समितिले प्रदेशसभामा प्रस्तावित लोगोसहितको प्रतिवेदन बुझायो । उक्त प्रतिवेदन पास भएर बनेको लोगो अहिलेसम्म सबै सांसदहरूले पाएका छैनन् । प्रदेशसभा सदस्यहरूले पास भइसकेको लोगो नपाएपनि यहाँका सरकारी कार्यालयमा नेपालको नक्सा रहेको नयाँ लोगो छापिएको छ ।
सरकारी कामहरूमा नयाँ लोगो तयार गरिएपनि सांसदहरूले भने पुरानै लोगो लगाइरहेका छन् । संयोजक शाहीले स्वरूप देखाउन ल्याएका दुई लोगोमात्रै उनी र मन्त्री चौधरीले लगाएका छन् ।
‘यो पास भइसकेको लोगो हो । यो पूरै तयार भएको छैन मैले २ वटा देखाउन ल्याएको थिएँ । अहिले मैले र माननीय मन्त्रीज्यूले त्यही लगाइरहेका छौँ’,लगाएको नयाँ लोगो देखाउँदै उनले भने ।
सभामुख भण्डारीले नै त्यसलाई तत्कालको लागि रोकेको संयोजक शाहीले बताए । सभामुख भण्डारीले तयार गरिएको नयाँ लोगोमा पनि केही समस्या देखिएको भन्दै त्यसलाई थप संशोधन गर्न आवश्यक रहेको उनले बताए ।
‘अहिले केही माननीयज्यूहरूले लगाउनु भएकै लोगो नयाँ र पास भएको हो तर, त्यसमा पनि केही त्रुटि रहेको भन्ने कुरा आएपछि हामीले थप छलफल गर्न लागेका छौँ ’ सभामुख भण्डारीले भने, ‘केही समयभित्रै सुदूरपश्चिमको लोगो सबै माननीय ज्यूहरूले पाउनु हुनु छ ।’
२०८० सालको अन्तिममा प्रदेश सभाले पारित गरेको लोगो प्रदेशसभाले चौथो पटक तयार गरेको हो ।
त्यसअघि २०७९ पुस १५ गतेमात्रै साढे ५ लाख खर्च गरेर सांसदहरूलाई सुन र चाँदी जडित लोगो प्रदान गरिएको थियो । तर, त्यो लोगोको स्वरूप ठिक नभएको र केही थप गर्नुपर्ने भन्दै पुनः अर्को लोगो बनाइएको हो ।
वर्तमान तथा पूर्वसांसदरूसँग राय लिएर , राष्ट्रिय पत्रिकामा सूचना प्रकाशन गरेर आएका चार वटा लोगो मध्ये सबैभन्दा उत्कृष्ट रहेको भन्दै काठमाडौंका विश्वास पराजुलीले पेस गरेको लोगो छनोट गरिएको थियो ।
२४ एमएम ब्याच भएको र पञ्चधातु जडान गरिएको हुने गरी तयार गरिएको लागो पनि उत्कृष्ट नभएको गुनासो आएपछि लोगो संशोधनको तयारी गरेको २ वर्षपछि सम्म पनि सांसदहरूले पुरानै लागो लगाइरहेका छन् ।
२०७७ जेठ ७ गते सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि सुदूरपश्चिम प्रदेशमा पनि लोगो फेरिएको थियो ।
त्यसलगत्तै असार १७ गते ललितपुरको घरेलु तथा साना उद्योग कार्यालयलाई इष्टिमेट मागेर सुन र चाँदी जोडिएको नयाँ लोगो तयार गर्न भनिएको थियो ।
प्रदेशसभा सदस्यहरूले चुच्चे नक्सासहितको सुनचाँदी जडित लोगो फिर्ता नगरेपछि प्रदेशसभाले तेस्रो पटक सुनचाँदी जडित लोगो बनाएको थियो ।
पञ्चधातु जडित लोगो बनाएर आगामी वैशाखसम्म नयाँ लोगो तयार गरेर सांसदहरूलाई वितरण गर्ने योजना छ । तर, लोगोको प्रतिवेदन पारित भएको १७ महिनासम्म पनि निर्णय गरिएको लोगो प्रदेश सभा सदस्यहरूले पाएका छैनन् ।
सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले यस विषयमा छलफल भइरहेको भन्दै चाँडै पारित भएको लोगो तयार गरिने बताए ।
‘विभिन्न विषयमा अल्झिएर पारित भइसकेको लोगो तयार नभएको कुरा ठिक हो ’, उनले भने, ‘सभामुखज्यूले पनि यस विषयमा चासो राख्नु भएको छ अब अर्को आर्थिक वर्षमा नयाँ बन्छ होला ।’
तपाईको प्रतिक्रिया