शिक्षकका ९ बुँदे मागप्रति प्रतिबद्ध छौं : शिक्षामन्त्री पन्त

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग गरेका ९ बुँदे सहमति कार्यान्वनमा आफू प्रतिवद्ध रहेको बताएका छन्।
शिक्षक महासंघका प्रतिनिधिहरुले ९ बुँदे सहमतिभन्दा अगाडि भएका सहमतिहरुलाई पनि छलफलको एजेन्डा बनाएको उल्लेख गर्दै उनले आफ्नो प्रतिबद्धता भनेको ९ बुँदे मागप्रति भएको बताए।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। समितिमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि आइतबार छलफल भएको हो। आइतबार बसेको समितिको बैठकले विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा छलफल गरेको हो।
‘मैले गरेको ९ बुँदे सहमति कार्यान्वयन गर्न प्रतिवद्ध छु। सरकारको मन्त्रीको हैसियतले मेरो प्रतिवद्धता हो’ मन्त्री पन्तले भने, ‘यसमा सत्ता गठबन्धन दलहरुको सबैको प्रतिवद्धता छ र स्वयं प्रधानमन्त्रीज्यूको पनि छ।’
शिक्षक महासंघका प्रतिनिधिहरुले ९ बुँदे सहमतिभन्दा अगाडि भएका सहमतिहरुलाई पनि छलफलको एजेण्डा बनाएर जोड दिइरहेको उल्लेख गर्दै उनले स्वाभाविक रुपमा त्यसमा पनि छलफल हुने जनाए।
९ बुँदे प्रतिवद्धतालाई सरकारले आफ्नो साधन स्रोतले भ्याएसम्म कार्यान्वयन गरेर जाने मन्त्री पन्तले उल्लेख गरे । अस्पष्ट रहेका कतिपय बुँदाहरुमा शिक्षक महासंघका प्रतिनिधिहरुसँग बसेर छलफल गरी एउटा निष्कर्षमा पुग्ने उनको भनाइ छ।
आर्थिक बोझ पार्ने मागहरु भने यसैपटक बहन गर्न नसक्ने अवस्था रहेको पनि उनले सुनाए। ‘प्रतिबद्धता गरेर भोलि व्यवहारमा कार्यान्वयन हुन नसक्ने अवस्था बनाउनुको अर्थ छैन’ मन्त्री पन्तले भने।
तपाईको प्रतिक्रिया