कैलारीको बनकट्टामा बृहत निःशुल्क स्वास्थ्य शिविर, ४४६ जनाले लिए विशेषज्ञ सेवा

कैलाली । कैलारी गाउँपालिका–६ बनकट्टास्थित जानकी माध्यमिक विद्यालयको परिसरमा आयोजित बृहत निःशुल्क स्वास्थ्य शिविरमा ४४६ जनाले विशेषज्ञ सेवा लिएका छन्।
शनिबार स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल धनगढी र कैलारी गाउँपालिकाको आयोजनामा तथा नवजीवन सेवा संघको साझेदारीमा सम्पन्न शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नसारोग, नाक–कान–घाँटी, मिर्गौला तथा पिसाब प्रणाली, ल्याप्रोस्कोपिक सर्जरी लगायतका विशेषज्ञ चिकित्सकहरूको उपस्थितिमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो।
शिविरमा वृद्धवृद्धा, महिलादेखि बालबालिकासम्मले सेवा लिएका थिए। ८० वर्षीया लौराको साहारामा आएकी गल्लीया चौधरी भन्छिन्, “आर्थिक अवस्था कमजोर, स्वास्थ्यले साथ दिदैनथ्यो। यस्तो शिविर गाउँमै आयोजना हुँदा उपचार पाउने अवसर मिल्यो, धेरै खुशी लागेको छ।”
शिविरमा ७० वर्षीय विपत राम चौधरीले हाडजोर्नीसम्बन्धी समस्याको विशेषज्ञबाट उपचार पाए। “अस्पताल जान सक्दिनथें, गाउँमै सेवा पाउँदा धेरै राहत मिल्यो,” उनले भने।
अस्पतालका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारीका अनुसार स्वस्तिक अस्पतालले गाउँमै विशेषज्ञ सेवा पुर्याउने उद्देश्यले शिविर आयोजना गर्दै आएको हो। “हामीले उच्च प्रविधिसहितका विशेषज्ञहरू पठाएर ग्रामीण क्षेत्रमा गुणस्तरीय सेवा दिन थालेका छौं,” उनले उद्घाटन कार्यक्रममा भने।
स्वास्थ्य शिविरमा डा. सनील पाण्डे (जनरल फिजिसियन), डा. इन्द्र बहादुर शाह (हाडजोर्नी तथा नसारोग), डा. प्रशान्त भट्ट (नाक–कान–घाँटी), डा. राजीव चौधरी (ल्याप्रोस्कोपिक सर्जन), डा. जोनस तिवारी (मिर्गौला तथा पिसाब प्रणाली), डा. स्वप्ना र डा. सञ्जय विक्रम चौधरी (मेडिकल अधिकृत) लगायतका चिकित्सकहरूको सहभागिता थियो।
स्वास्थ्य शाखा प्रमुख नरेश कुमार रानाले यो शिविर दुई चरणमा आयोजना हुने जानकारी दिए। पहिलो चरण जेठ ११ गते वडा नम्बर ६ मा सम्पन्न भएको हो भने दोस्रो चरणको शिविर जेठ १७ गते वडा नम्बर १ स्थित दिपेन्द्र माध्यमिक विद्यालय परिसरमा सञ्चालन गरिनेछ।
तपाईको प्रतिक्रिया