‘पत्रकारिता क्षेत्रका लागि राज्यले व्यवस्थित योजना ल्याउनुपर्छ’: मन्त्री पौडेल

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारिता जगत अत्यन्तै जोखिममा रहेको बताएका छन् ।
नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा वृहत् स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको विकासका निम्ति, पारदर्शी समाज निर्माण गर्नका निम्ति, सुशासन कायम गर्नका निम्ति पत्रकार र यो पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहे पनि अझै पत्रकारिता जगत जोखिमै रहेको बताएका हुन् ।
उनले भने, ‘पत्रकारिता जगत अत्यन्तै जोखिममा छ । एकदमै महत्त्वपूर्ण भूमिका पत्रकारहरूले निर्वाह गर्नुभएको छ । वास्तवमा लोकतन्त्रको विकासका निम्ति, पारदर्शी समाज निर्माण गर्नका निम्ति, सुशासन कायम गर्नका निम्ति पत्रकार र यो पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका हुन्छ । देशका निम्ति, समाजका निम्ति बोलिरहने पत्रकारहरूको आफ्नो निम्ति के भइरहेको छ भन्ने कुरा राज्यले धेरै ख्याल गरिरहेको छ जस्तो देखिँदैन । ’
साथै उनले पत्रकारिता क्षेत्रका लागि एउटा व्यवस्थित योजनाका साथ राज्य अगाडि जानुपर्ने बताए । उनले पारदर्शी समाज निर्माण गर्न, सुशासन कायम गर्नका निम्ति पत्रकार जगतको उपस्थिति अनिवार्य रहेकाले यो जगतमा काम गर्नेहरूलाई उत्साहित बनाउन जरुरी रहेको बताए ।
उनले भने, ‘खासगरी पत्रकारिता क्षेत्रका लागि हामीले एउटा व्यवस्थित योजनाका साथ अगाडि जानुपर्छ । समाजका निम्ति पारदर्शी समाज निर्माण गर्न, सुशासन कायम गर्नका निम्ति पत्रकार जगतको उपस्थिति अनिवार्य छ । यो जगतमा काम गर्नेहरूलाई उत्साहित बनाउन जरुरी छ । जीवन निर्वाहको व्यवस्थित अवसर पत्रकारिताभित्र हुनुपर्छ भन्ने विषयलाई आत्मसाथ गरेर त्यही अनुसारको योजनाहरू बनाइनुपर्छ । पत्रकार महासंघको सदस्य संख्या कति हो ? त्यसको यकिन विवरण हामीलाई दिएर त्यो सदस्य संख्याको आधारमा हामीहरुले पत्रकारहरूलाई निःशुल्क उपचार गराउन मन्त्रालय तत्पर छ ।’
तपाईको प्रतिक्रिया