पर्यटनले विकास केन्द्रित काम गर्छ : मन्त्री चौधरी

मंगलबार जेठ २१, २०८२/ Tuesday 06-03-25
Paschim Today

धनगढी। सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीले पर्यटन क्षेत्रमार्फत् विकास केन्द्रित काम गर्ने बताएकाछन। 

स्वतन्त्र प्रदेश सभा सदस्य डा। ताराप्रसाद जोशीको पहलमा मंगलबार धनगढीमा भएको प्रकृतिप्रेमीका आँखामा सुदूरपश्चिम कार्यक्रममा बोल्दै मन्त्री चौधरीले चाँडै विज्ञलाई पर्यटन फोकल पर्सन बनाउने समेत बताए।  

उनले खप्तड, वडीमालिका, रामारोशन जस्ता पर्यटकीय क्षेत्रको विकास लागि नयाँ तरिकाले काम हुने क्रममा रहेको बताउँदै कैलालीको भजनी तथा टीकापुर क्षेत्रको मोहना र कर्णाली नदीमा भेटिने डल्फिनलाई ध्यान दिएर डल्फिन पार्क बनाउन सम्भाव्यता अध्ययन गरिने बताए।

उनले पर्यटन क्षेत्रमा प्रदेश सरकारले ध्यान दिन पर्ने बताउदै अहिलेको कुरा गर्ने हो भने मन्त्रालयसँग रहने ५५ करोडले पर्यटन र उद्योगको प्रर्वद्धन गर्न कठिनाई भएको बताए। उनले पर्यटनमा बजेट बढाउन मुख्यमन्त्री र अर्थमन्त्रीसँग आग्रह गरिरहेको पनि बताए।

हामीले भारत र चीनका पर्यटक ल्याउन सकेनौ भन्दै चिन्ता जाहेर गरेका मन्त्री चौधरीले भारतबाट आउने पर्यटकलाई ट्राफिक प्रहरीले दुःख दिने गरेको चर्चा गरे। 

दुईदेखि पाँच किलोमिटरपिच्छे अनावश्यक चेकजाँच गरेर ट्राफिक प्रहरीले भारतीय पर्यटकलाई दुःख दिएको बताउँदै मन्त्री चौधरीले त्यस्तो ट्राफिक प्रहरी आतंक रोक्न प्रदेश प्रहरी प्रमुख र ट्राफिक हेर्नेलाई आग्रह गरेको बताए।    

सो अवसरमा बोल्दै सो मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले सुदूरपश्चिम प्रदेशमा माउन्टेन फ्लाइट, केवुलकार र इको पर्यटनमा पनि ध्यान दिन जरुरी रहेको बताए। 

कार्यक्रममा अधिकांश सहभागीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट पर्यटनलाई हटाएर अर्को मन्त्रालय बनाउनु पर्नेमा जोड दिएका थिए। प्रदेश सभा सदस्य डा. जोशी, एमालेका प्रमुख सचेतक चक्र मल्ल, पर्यटन व्यवसायी मायाप्रकाश भट्ट लगायतले अहिलेको अवस्थामै मन्त्रालय रहँदा पर्यटन क्षेत्रको विकास नहुने बताएका थिए। अलग मन्त्रालय बनाउन सकिएन भने उपसचिवको जिम्मामा पर्यटन क्षेत्र राखिनु पर्नेमा पनि केही सहभागीले जोड दिएका थिए।

सो कार्यक्रममा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिमलाई देव भूमी, प्राकृतिक सुन्दरता, संस्कृति लगायतको क्षेत्रका रुपमा परिचित बनाउने गरेर काम गर्न जरुरी भएको बताए। नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता खगराज भट्टले राजीतिज्ञ र कर्मचारी योजनाका साथ जिम्मेवार र इमान्दार भए मात्र सुदूरपश्चिमको मात्र होइन मुलुकै पर्यटन विकास हुने बताए ।

सो अवसरमा प्रदेशका पूर्वमन्त्री सन्तोष शर्मा थापा, अक्कल रावल, नरेश शाही, टीका थापा लगायतले सुदूरपश्चिमको पर्यटन क्षेत्रको विकासका लागि सबै जुट्नु पर्ने , सके राम्रो गर्ने नसके विगार्न नहुने धारणा राखेका थिए । 

सो अवसरमा पर्यटन क्षेत्रको विकासमा गहिरो रुचि राख्ने क्याप्टेन वेद उप्रतीले कर्णाली र मोहनामा डल्फिन सेन्टर खप्तडमा स्कि खेल्ने ठाउँ बनाएर, शुक्लाफाँटामा फरक तरिकाले बाह्रसिगे देखाएर रोजगारी सृजना गर्न सकिने सुझाव दिएका थिए। व्यवसायी ओम विष्टले समुद्रमा पाइने डल्फिन हाम्रो नदीमा भेटिन सौभाग्य भए पनि बाह्रै महिना उनीहरुलाई राख्न सक्ने वातावरण कसरी बनाउने सोच्न जरुरी भएको बताए।

पर्यटनकर्मी गणेश मगरले पर्यटकीय क्षेत्रको प्रचारप्रसार नहुँनु, बाटो ,बस्ने ठाउँ, शौचालय, नक्सा अभाव, विदेशीलाई महंगो हवाई टिकट, फोटो, भिडियो खिच्नका लागि ड्रोन उडाउने अनुमति लिने झंझट पनि सुदूरपश्चिम क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि बाधक भएको बताए ।

सो अवसरमा धेरैले खप्तड क्षेत्रको पर्यटन विकास मात्र गर्न सकियोे भने मात्र वरपरका पर्यटकीय क्षेत्रको स्वभाविकरुपमा विकास हुने बताए। वनस्पति अध्ययन केन्द्र, कैलालीका प्रमुख गंगादत्त भट्टले सुदूरपश्चिम जडीबुटी र वनस्पतिका क्षेत्रमा भर्जिन रहेको चर्चा गर्दे यसको उपयोग गर्नुपर्ने धारणा राखेका थिए। 

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य कर्ण कुँवर, पर्यटन व्यवसायी प्रकाश भट्ट, लक्ष्मीनारायण चौधरी, दिनेशराज भण्डारी, पदमविक्रम सिंह, प्रमोद पाठक, रविन पन्त, तपेन्द्र रावल शिक्षासेवी सीताराम जोशी लगायतको सहभागिता रहेको थियो।