कोलोराडोमा शेर्पा हाउस

लाक्पाको भोक,संघर्ष र सफलताको कथा

शुक्रबार जेठ २४, २०८२/ Friday 06-06-25
Paschim Today

अमेरिकाको कोलोराडोबाट दीर्घराज उपाध्याय ।

भनिन्छ, सबैभन्दा ठूलो भोक हो । के को भोक ? यो महत्वपूर्ण कुरा हो । भातको ? वा ईतिहास रच्ने भोक ? भातको भोक भए उसको जिन्दगी भातको जोहोमै बित्छ । एक छाक भात पाए दंग पर्छ ।

सफलताको आकाश छुने भोकले मान्छे उचाई छुन्छ । उ त्यो उचाई प्राप्तीका लागि जुनसुकै हदसम्म मिहिनेत गर्न सक्छ ।

लाक्पा शेर्पा, ५० को संघर्ष र सफलताको कथाले यही भन्छ ।

सोलुखुम्बुको बिकट गाउँ स्याङ्मा  । सन १९७५ लाक्पा त्यही जन्मिए । कर्मा ग्याल्जेन शेर्पा र छेचीमा शेर्पाका तीन सन्तान । जेठा उनी ।

वारी स्याङ्मा । पारी नाम्चे । बीचमा दुधकोशी । स्याङ्मा  । एक सानो गाउँ । १५ घर । आँगन अलग । परिवार एउटै । चौरी । फापर । उवा । गहूँ । बाँच्ने आधार । तीन घण्टा टाढा चौरी खर्क । त्यही थियो, महेन्द्र ज्योति मावि । उनी स्कुल जान्थे । दैनिक छ घण्टा ओहोर दोहोर गर्थे । विदामा चौरी चराउथे ।

चौरी गोठ र सेङ्मा । उनको त्यही स्वर्ग । त्यही संसार । नजिकको बजार, नाम्चे । सुनेको । नदेखेको । स्याङ्मा  र नाम्चेका बीचमा बग्ने दुधकोशी नदी । पुल थिएन । भर काठे साँघुको । त्यही साँघु बर्खामा दुधकोशीमा बग्थ्यो । र, विच्छेद हुन्थ्यो नाम्चे मार्ग । काठे पुलमा निर्भर शेर्पाको बाटो । र, त्यही बाटोमा निर्भर जीवन र सपनाहरु ।

कखरा गाउँमै सिके । महेन्द्र ज्योती माविमा पढ्न थाले । त्यहीबाट २०५० सालमा एसएलसी सके । उनी सेङ्मा गाउँकै एसएलसी पास हुने पहिलो विद्यार्थी थिए । त्यसपछि उच्च शिक्षाका लागि काठमाण्डौं पुगे ।

आरआर क्याम्पसमा आईकममा भर्ना भए । अमेरिकाबाट पेम्बा दाईले पर्यटक ल्याउथे । उनले पेम्बालाई पछ्याए । र, होमिए टे«किङमा । छुट्यो पढाई ।

त्यहीबीचमा अमेरिकन साथी बनाए । तिनै साथीले उनलाई स्पोन्सर गरे । र, पर्यटन भिसामा १९९६ अमेरिका पुगे । ६ महिनापछि नेपाल फर्किए । १९९७ मा दोस्रो पटक विद्यार्थी भीसामा अमेरिका आए । त्यसपछि भने फर्केनन । कलेज भर्ना भए । पढाईसंगै काम गर्न थाले । भारतीय, चाईनीज, तिब्बतीयन, जापानीज सबै रेष्टुरेण्टमा काम गरे । पढाईको खर्च जुटाउन रातदिन काम गरे । ६ वर्षको पढाई सक्न १० वर्ष लगाए ।

उनी पायलट बन्न चाहन्थे । नेपालमा जहाज उडाउने धोको थियो । म्यानजमेण्ट पढिरहेकै थिए । उनी पायलट कोर्स पनि गर्न थाले । त्यहीबीचमा उनले ग्रीन कार्ड पाए । कतिपय अवसर यस्ता हुन्छन्, जसले बाटो, सपना र धोको बदलिदिन्छन् । उनको हकमा ग्रीन कार्ड त्यही भयो ।

पढ्दा ऋण लाग्यो । हो, उनी माईनसमा थिए । सामान्य काम र मिहिनेतले ऋण तिर्न नसक्ने । २००५ मा पढाई पुरा गरे । र, लगत्तै उनले शेर्पा ल्याण्डस्केपिङ कम्पनी खोले । उनको कम्पनीले मनग्गे काम पायो । एक वर्षमै सबै ऋण चुक्ता गरे । र, पहिलो वर्षकै आम्दानीबाट काठमाण्डौंमा एउटा घर समेत जोडे । ढुंगा र माटोको काम गरेपछि उनको आर्थिक जग बलियो हुदै गयो । ।

फूलवारीको सजावट र व्यवस्थापनको राम्रो बजार थियो । गर्मीयाममा काम भ्याईनभ्याई हुन्थ्यो । हिउँदमा भने उनको कम्पनीमा काम गर्नेहरु बेरोजगार हुन्थे । उनले हिउँदमा पनि व्यस्त हुने जुक्ति निकाले । २००९ मा गोल्डनमा जमीन लिजमा लिए । र, खोले रेष्टुरेण्ट । उनीहरुलाई साँझको समय डिनरमा ‘ईन्गेज’ गर्ने उद्देश्यले रेष्टुरेण्ट खोलिएको थियो । तर छोटो समयमै ग्राहकको मन जितपछि रेष्टुरेण्टमा उधुम भीड लाग्न थाल्यो । शुक्रवार, शनिवार र आईतवार त रेष्टुरेण्ट ‘सुपर बिजी’ हुन थाल्यो । सहायक बनाउने भनिएको पेशा मूल भयो ।

रेष्टुरेण्ट खोल्ने । तर कस्तो खोल्ने ? सोचे, अरुको झै खोले त के पहिचान ? उनले शेर्पाको मौलिक पहिचान झल्किने रेष्टुरेण्ट बनाउने सोचे । त्यसका लागि हरेक वर्ष नेपाल गए । चार वर्ष लगाएर नेपालबाट पुराना र सांस्कृतिक सामानहरु ल्याए । टेप रेकर्डर । रेडियो । करुवा । जातो । अगेना । ती सबैचिज जोडेर बनाए, शेर्पा गाउँ । नाम दिए, शेर्पा हाउस रेष्टुरेण्ट एण्ड कल्चर सेन्टर ।

कोलोराडोको गोल्डेन । आफैमा सुन्दर । पर्यटकका लागि आकर्षण । सफा । चिटिक्क परेको । उकालोसंगै मास्तिर उक्लिएको बजार । उकालोमा दोबाटो । त्यही फैलिएको शेर्पा हाउस । टाढैबाट चिनिने । अमेरिकामा पनि गुम्बा ? बाहिरबाट हेर्दा घरहरु त्यस्तै लाग्छन् । एकातिर शेर्पा गिफ्ट हाउस । अर्कोतिर गुम्बा । बीचमा रेष्टुरेण्ट । रेष्टुरेण्टले सम्झाउछ, त्यो रेडियोको युग । पुरानो टेपरेकर्डर त्यही छ । यस्तो लाग्छ, म खुम्जुङमा छु । शेर्पा हाउसभित्र छ, सोलु । खुम्बु । अनि स्याङ्मा ।

शेर्पा हाउसको आफ्नै नियम छ । बिहान ११ देखि २ः ३० सम्म लञ्च । साँझ ५ देखि राति ९ बजेसम्म डिनर । खुल्ने समय त्यत्ति नै हो । अन्य समय बन्द । शेर्पा भन्छन्, कामले थकित कर्मचारीलाई आराम दिनुपर्छ । २०० जना क्षमताको रेष्टुरेण्ट प्याक हुन्छ । दैनिक छ सय जनासम्म आउछन् ।

लञ्चपछि बन्द हुने शेर्पा हाउसमा ५ बज्दै गर्दा ग्राहकहरु कमिला झै भित्रिन थाल्छन् । साँझ छिप्पिदै जादा ग्राहकको खुट्टा टेक्ने ठाउँ हुदैन् । ग्राहक अन्यत्र जादैनन् । पालो पर्खेर शेर्पाको स्वाद लिन्छन् ।

के खुवाउछन्, उनी ? के पाक्छ, भान्छामा ? कसले पकाउछ, त्यस्तो मिठो खानेकुरा ? भान्छामा छन्, १६ पटक सगरमाथा आरोहण गर्ने दाजुभाईहरु । दानुरु शेर्पा । पानरु शेर्पा । र, अन्य थुपै्र शेर्पाहरु ।

सेफ मात्र होईन, वेटर पनि आरोहीहरु छन् । यस्तो लाग्छ, सगरमाथा यही छ ।

भान्छामा पाक्छ, चाईनीज,इण्डियन, थाई, जापानीज । र, अन्य थुप्रै परिकारहरु । शेर्पा खाना त हुने नै भो । चाउमिन, नान, थुक्पा, मःम पनि पाक्छ । भारतीय भान्छामा पाईने दाल पनि । उनका अधिकांश ग्राहक अमेरिकन हुन् । पाँच प्रतिशत जति नेपाली र भारतीय ।

शेर्पा हाउसमा २८ जना काम गर्छन् । दाजुभाईसंग मिलेर २०१३ मा चितवनमा खोलेको शेर्पा ब्रुअरीले १५० जनालाई रोजगारी दिएको छ । ब्रुअरीले शेर्पा बियर उत्पादन गर्छ ।

व्यवसायको धर्म हो, मुनाफा । तर उनको धर्म हो, सेवा । उनले व्यवसायसंगै गैर मुनाफामुखी संस्था चलाएका छन् । मुनाफाको कति हिस्सा बाड्ने ? उनी हिसाव गर्दैनन् । जहाँ समस्या,त्यहाँ सहयोग । यो उनको नियम हो ।

भूकम्पले उनी पढेको स्कुल महेन्द्र ज्योती ढल्यो । उनले पुनर्निर्माणमा ५० लाख सहयोग गरे । २० लाख खर्चेर छात्रवास बनाए । आफू हिडेको लुक्ला–स्याङ्मा जोड्ने बाटो निर्माणमा ४० लाख सहयोग गरे । १० लाख सहयोग गरे । र, घाटमा सार्वजनिक सौचालय बनाए । उनकै सहयोगमा थाक्सिन्दु गाउँपालिकाको यावा गाउँमा स्वास्थ्य चौकी निर्माण भयो । उनले २० लाख दिए ।

उनी मनकारी छन् । सामाजिक कार्यमा कति खर्च गर्ने उनको वार्षिक क्यालेण्डर छैन । जहाँ समस्या, त्यहाँ लाक्पा । सेवाभावले ओतप्रोत लाक्पाले कहिल्यै हिसाव गरेनन् । कहाँ कति खर्च भयो ? उनले खुम्बुको पासाङ ल्हामु गाउँपालिकाको ब्यांकर गाउँमा सामुदायीक भवन निर्माणमा १५ लाख सहयोग गरे । सोही गाउँको घाटमा बालबालिकाहरुको एभरेष्ट चिल्ड्रेन होमको छात्रवास भवन निर्माणमा १४ लाख दिए । 

उनले लुक्लामा धम्म सागर विपश्यना ध्यान भवन निर्माणमा १० लाख सहयोग गरे । चार लाख खर्चेर ताते गाउँमा फूदोर्जे शेर्पाको घर बनाई दिए । स्याङ्मा गाउँका मी ग्याल्जेन शेर्पाको मृगौला प्रत्यारोपणका लागि पाँच हजार डलर पठाए । उनी विपन्न परिवारका तीन जना बालबालिकालाई पढाईरहेका छन् । 

उनको एउटा कम्पनी छ, हाईक फर हेल्प । २०११ देखि यो संस्था मार्फत प्रत्येक वर्ष ५० जना अमेरिकन विद्यार्थी सोलुखुम्बु लैजाने गरेका छन् । उनीहरुलाई हाईकिङमा लगे वाफत प्राप्त हुने शतप्रतिशत रकम सोलुकै सामाजिक कार्यमा लगाउदै आएका छन् ।

आफू जन्मेको गाँउ । आफू हिडेको बाटो । आफूले संगत गरेका दौंतरी । नाम र पहिचान दिने समुदाय । ती सबैका लागि उनले मन खोलेर सहयोग गरेका छन् । हालै कोलोराडोमा शेर्पा समुदायको सामुदायीक भवन निर्माणका लागि ६३ हजार डलर सहयोग गरे । कसले कति सहयोग ग¥यो ? उनले प्रतिस्पर्धा गर्दैनन् । न चर्चा रुचाउछन् । न प्रचार गर्छन् । बस्, सहयोग गर्छन् ।

स्याङ्मा गाउँलाई विश्व सम्पदा सूचिमा पार्ने एउटा नयाँ कामको थालनी समेत लाक्पाको अगुवाईमा भएको छ  । सिङ्गो गाउँलाई नै धार्मिक पार्क बनाउने उद्देश्यले गाउँको सिरानदेखि फेदसम्म प्रत्येक घरको अगाडि पानीबाट घुम्ने माने बनाएको बनाईएको छ । जसको लागत एक करोड २० लाख रुपैया भन्दा बढि रहेको छ ।

मुटुमा अगाध संस्कृति प्रेम । हातमा सीप । दिमागमा सृजनशीलता । अनि मनमा परोपकार । र छ, उनीसंग सफलताको अनौठो भोक । उनी छन्, यस्तै ।

उनको ध्यान, विपश्यना र धर्ममा रुचि उत्तिकै छ । हरेक वर्ष एक पटक १० दिन विपश्यनाका लागि छुट्याउछन् ।

उनी जिद्दी लाग्छन्, बच्चा जस्तै । उनी साधक लाग्छन्, भगीरथ झै । जुन काम शुरु गर्यो, त्यस्लाई फत्ते गर्नै पर्छ । शेर्पाहरुको नयाँ वर्षको दिन । उनले रेष्टुरेण्टमा एक सुन्दर युवती देखे । उनलाई एक नजरमै मन परिन् । उनले भने, म तिमीसंग बिहा गर्न चाहन्छु । उनले युवतीको ईच्छा सोधेनन । क्रेजी लाक्पा । युवतीले नाईनास्ती गरिनन् । तिनै फूरबा दिकी शेर्पासंग घरजम गरे । फूरबाबाट उनकी एक छोरी छन् ।

उनी फुर्सद निकाल्दैनन् । फुर्सद भयो कि, कलामा डुब्छन् । थांका बनाउछन् । बुद्ध मूर्ति बनाउछन् । ॐ मणि पद्मे हुँ मा डुब्छन् । वाटर जेड चलाउछन् । ढुंगालाई काटेर बिभिन्न आकार दिन्छन् । बिभिन्न रुप दिन्छन् । पानीको प्रवाहमा घुमिरहने माने । आकाश ढाक्ने ध्वजा । भित्तामा कुदिएका मन्त्र । जता हे¥यो, त्यतै देखिने बुद्ध । यस्तो लाग्छ, सबै बुद्धको, हामी बुद्धका ।

कति रात उनी भोकै सुतेका छन् । एउटा आलु खाएर पुरै दिन बिताएका छन् । तर उनी गलेनन् । थाकेनन । बिचलित भएनन् । उनीभित्रको भोकले उनलाई हार्न दिएन । मिहिनेत गरिरहे । र, त्यही मिहिनेतले बनाए, उनले पृथक पहिचान ।

उनको एउटा कम्पनी छ, हाईक फर हेल्प । २०११ देखि यो संस्था मार्फत प्रत्येक वर्ष ५० जना अमेरिकन विद्यार्थी सोलुखुम्बु लैजाने गरेका छन् । उनीहरुलाई हाईकिङमा लगे वाफत प्राप्त हुने शतप्रतिशत रकम सोलुकै सामाजिक कार्यमा लगाउदै आएका छन् ।

उनी हरेक वर्ष गाँउ पुग्छन् । खाली हात कहिल्यै गएनन । उनी नपुगे, गाउँमा उनको कोसेली पुग्छ । भन्छन्, खाली हात जानु कसोरी ? जति जोडेपनि । जति कमाए पनि । मरे पछि साथमा केही लैजाने होईन । किन साच्नु ? किन सोच्नु ? कुरा सुन्दा उनी फकिर जस्ता लाग्छन् । व्यवसाय त सबैले गरिरहेकै छन् । उनी बाडिरहेका छन्, स्नेह, सम्पत्ती र भातृत्व । भन्छन्, कमाएर कसलाई पुगेको  छ ?

सफल हुन भोक जरुरी छ, उनले अन्तिममा गुरु मन्त्र सुनाए, भातको भोकमा अल्झिने कहि पुग्दैनन् ।