नियतवश कुनै अनुचित काम गरेको छैन : माधव नेपाल

पतञ्जली योगपीठलाई नेपालमा जग्गा दिन गरिएको निर्णयमा अनियमितताको आरोप लागिरहेका बेला पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले कुनै अनुचित काम नियतवश नगरेको दाबी गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत १७ चैतमा बयान दिँदै उनले यदि कुनै गल्ती नियतपूर्वक भएको हो भने सजाय भोग्न तयार रहेको बताएका हुन् ।
नेपालले भनेका छन्, ‘मैले कसैलाई नियमविपरीत निर्देशन दिएको छैन । कुनै पनि निर्णय निजी स्वार्थ वा गलत उद्देश्यबाट गरिएको होइन । मेरो नियतमा प्रश्न नगर्न अनुरोध गर्छु ।’
उनले आफ्नो निर्णय राष्ट्र र जनताको हितलाई ध्यानमा राखेर कानुनी प्रक्रियाअनुसार भएको जिकिर गरेका छन् । हदबन्दीभन्दा बढी जग्गा दिन छुट दिने निर्णयबारे स्पष्ट स्मरण नभएको भन्दै उनले तत्कालीन कर्मचारी र सम्बन्धित निकायले प्रक्रियागत कामहरू हेर्ने जिम्मा रहेको बताएका छन् ।
नेपालले भनेका छन्, ‘कुनै अनुचित काम मबाट नियतपूर्वक भएको हो भने सम्पूर्ण सजाय भोग्न म तयार छु । त्यस्ता काम रोक्न मेरो पूर्ण साथ रहनेछ ।’
तपाईको प्रतिक्रिया