संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिन्छ : रक्षामन्त्री राई

सोमबार जेठ २७, २०८२/ Monday 06-09-25
Paschim Today

काठमाडौं । रक्षामन्त्री मानवीर राईले संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिने बताएका छन् । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री राईले संविधानका कतिपय जटिलता संशोधन गर्दै जानुपर्ने बताए ।

"समस्या समाधान गर्दै जाऔँ । संविधानका कतिपय जटिलता संशोधन गर्दै जानुपर्ने विषय पनि होला । ती कुरा पनि भोलि नगरी नहुने कुनै परिस्थितिमा छ भने हाम्रो नेपालको संविधान त अपरिवर्तनीय त भनिएको छैन । हामीले भनेका छैनौँ । संविधान अकाट्य भनेर भनेका छैनौँ । समय र परिस्थितिअनुसार संशोधन गर्न सकिनेछ," उनले भने ।

मन्त्री राईले गैरआवासीय नेपाली र ब्रिटिस गोरखामा भर्ती भएकाहरूको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए ।

मन्त्री राईले नेपालले केही सिमाना गुमाउनुपरेको भए पनि नेपाल स्वतन्त्र देश रहेको बताए । उनले नेपालको इतिहास र वीरतालाई गौरव मानेर अघि बढ्नुपर्ने बताए ।